+
+

कोशीमा सत्तारुढको चाहनामा प्रदेशसभा अनिश्चित

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ ४ गते १३:५२

४ भदौ, विराटनगर । ८ असारदेखि कोशीमा प्रदेशसभा बैठक बस्न सकेको छैन । सत्तारुढ र विपक्षी दलका सांसदहरुले सभामुखले प्रदेशसभा बैठक नबोलाएको भन्दै आलोचना गरिरहेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस सरकारमा सहभागी नहुँदासम्म प्रदेशसभा बैठक नबोलाउन सभामुख अम्बरबहादुर विष्टलाई आग्रह गरेका छन् । मुख्यमन्त्रीको आग्रह अनुसार उनले प्रदेशसभा बैठक नबोलाएको सांसदहरुको गुनासो छ ।

नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् तर माओवादीले समर्थन फिर्ता लिइसकेको छैन ।

सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले पनि मन्त्रीको नाम टुंगो नलगाएका कारण सरकार विस्तार अनिश्चित छ । सरकार विस्तारका नाममा संसद नै रोकिएको भन्दै कांग्रेस र एमालेकै सांसदले बैठक बोलाउन माग गरेका छन् ।

केही दिनअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसले आग्रह गरेका कारण संसद बैठक केही दिन रोकिएको बताएका थिए ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई सरकार विस्तारपछि प्रदेशसभा बैठक बोलाउन आग्रह गरेको स्वीकार गरे । ‘सरकार विस्तारका लागि माथि छलफल चल्दैछ, केही दिनपछि बैठक बोलाउँदा हुन्छ भनेका छौं’, उनले भने, ‘सरकारले आफ्नो काम गरिरहेकै छ ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद दुई तिहाई बहुमतको छायामा परेको टिप्पणी गरे । ‘दुई तिहाइ बहुमतको छायाँमा संसद पर्‍यो, सभामुखले बैठक बोलाउन सक्नुभएन’, आङ्बोले भने, ‘जनताको आवाज उठाउने थलो बन्धक बन्यो ।’

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि सभामुखले बैठक बोलाउनुपर्ने बताएका छन् ।

‘दुई महिना भइसक्यो बैठक बसेको छैन, सभामुखले इनिसिएसन लिन पर्दैन ?’,  एमाले प्रमुख सचेतक भण्डारीले प्रश्न गरे,  ‘मुख्यमन्त्रीका कतिपय बाध्यता होलान्, उहाँले (सभामुख) पनि इनिसिएसन लिनुपर्‍यो नि अब त लामो समय भयो ।’

प्रदेश सभाको बैठक नबस्दा प्रदेश सभामा दर्ता भएका विधेयकहरू अलपत्र परेको उनले बताए ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसलाई देखाएर बैठक रोक्न नहुने बताए । उनले भने, ‘संसद नियमावली अनुसार चल्छ । यो बर्खाको विपदमा सबै भन्दा बढ़ी क्षति कोशीले व्यहोरेको छ । जनताको आवाज उठाउने थलो संसद कुनै पनि बहानामा छल्न पाइदैन ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?