+
+

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दैछौं : मन्त्री अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १६:२६

४ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए ।

‘कृषि मन्त्रालयले पछिल्लो २/५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन’, उनले भने, ‘यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिंदैन भने कसले दिंदैन ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’

मन्त्री अधिकारीले दुग्ध विकास संस्थानले जनतासँग उधारोमा दूध किनेर पैसा नतिर्न सुहाउँछ भन्दै प्रश्न गरे । ‘६५ रुपैयाँमा किनेको दूध ९५, ९८ र १०० रुपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रुपैयाँ पनि लिने, त्यसको मख्खन पनि झिक्ने अनि किसानलाई चाहिं पैसा छैन भनेर नदिने, यस्तो मुलुक अन्त कतै पाइएला ?’ उनले सोधे ।

मन्त्रीमा पद बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको बताउँदै डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताए ।

मन्त्री अधिकारीले कर्मचारी समायोजनको समस्याले एक महिनासम्म राम्ररी काम गर्न नसकिएको र आफू अप्ठ्यारो अवस्थामा मन्त्रालयमा आइपुगेको बताए । ‘मन्त्रालयमा अप्ठ्यारा छन्, उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैंको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ,’ उनले भने ।

किसानलाई तत्काल बिमा निर्धारण गर्न फाइल अर्थ मन्त्रालय पठाए पनि त्यहाँबाट सहमति प्राप्त नभएको मन्त्री अधिकारीले जानकारी दिए । राज्यप्रति जनताको भरोसा टुटेकोले उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।

मन्त्री अधिकारीले कृषि मन्त्रालय र साँच्चैका किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर लागि परेको जिकिर गरे । ‘राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै यसलाई कांग्रेस-एमाले गठबन्धनले पनि व्यवस्थापन गर्न नसके जनतालाई उत्साह जगाउने काम कसले गर्छ ?’ उनले भने, ‘त्यसैले जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?