+
+

भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयकमाथि बुधबारदेखि संसदीय समितिमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते १८:०९
राज्य व्यवस्था समितिको बैठकको फाइल तस्वीर ।

४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकमाथि बुधबारदेखि दफावार छलफल सुरु गर्दैछ ।

त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । त्यसअघि समितिले विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदहरूसँग साउन २४ गते र २७ गते छलफल गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र राष्ट्रिय सर्तकता केन्द्रका अधिकारीहरूसँग साउन ३१ गते छलफल गरेको थियो ।

बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखक र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई बोलाइएको छ । गृहमन्त्री राज्य व्यवस्था समितिका पदेन सदस्य हुन् भने कानुन मन्त्रीलाई समितिले कानुनी रायका लागि आमन्त्रण गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिमा मुख्यतः चार वटा विषय उठेका छन् ।

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद र निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कि नदिने भन्ने विषयमा संशोधनकर्ता सांसदहरूको मत बाझिएका छन् ।

भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भनेर समितिको छलफलमा उठेको छ ।

प्रस्तावित विधेयकमा भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षको हदम्याद राख्ने उल्लेख छ । निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने प्रस्ताव पनि गरिएको छ ।

तर, भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बनमा पर्ने कि नपर्ने र नीतिगत भ्रष्टाचारको विषयलाई कहाँ सम्बोधन गर्ने भन्ने विषयमा विधेयक मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?