+
+

देउवालाई देखाएर शंकर पोखरेलले गरे बलियो पार्टीको वकालत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते २०:१५

४ भदौ, काठमाडौं। कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवशमा एमाले महासचिव शंकर पोखरेलले कांग्रेस नेता शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री भएको प्रसंग उप्काए ।

देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि एक कार्यकाल अर्थात पाँच वर्ष अवधि काम गर्न नपाएको भन्दै पोखरेलले बलिया पार्टी नहुँदा यस्तो भएको बताए ।

‘हेर्दा पाँचपटक प्रधानमन्त्री हुनुभयो । समयका हिसाबले कति हुनुभयो ? एउटा अवधि पाँच वर्षको हुन्छ । के धेरै (प्रधानमन्त्री) हुुनुभयो भन्या ?’ उनले भने । नेपालको राजनीतिक प्रणालीमा एउटै प्रधानमन्त्रीले कार्यकाल पूरा गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवा पाचौं पटक २८ असार २०७८ मा बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच भएको सहमति अनुसार दुई वर्षपछि देउवा छैटौं पटक प्रधानमन्त्री बन्नेछन् ।

कुनै नेता वा राजनीतिक दललाई आफ्ना नीति र कार्यक्रम लागू गर्न कम्तीमा पाँच वर्षको कार्यकाल चाहिने भन्दै उनले चीन र भारतको उदाहरण दिए ।

चीनमा राष्ट्रपति सी जिनपिङ र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएको भन्दै एमाले महासचिव पोखरेलले नेपालमा यस अवधिमा एक दर्जन प्रधानमन्त्री भएको बताए ।

‘मोदीको कार्यकालमा, सी जिनपिङको कार्यकालमा हामीले एक दर्जन प्रधानमन्त्री बनाइसक्यौं, देश किन बनेन भन्ने कुरा, त्यही होइन ?, एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष काम गर्न पाउँदैन यो हाम्रो परिपाटीभित्र, हाम्रो व्यवस्थभित्र देश बनेन भन्ने कुराको चिन्ता अरु विषयमा बोकेर हुन्छ ?’, उनले प्रश्न गरे ।

मुलुकको विकासको लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र स्थिरता आवश्यक रहेको पोखरेलले सुनाए ।

नेपालमा स्थायीत्वका लागि राजनीतिक दलहरु बलियो हुनुपर्ने उनले बताए । ‘स्थायीत्वको आधार खोज्नुपर्छ, राज्यलाई बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ र विकास र समृद्धिका लागि राजनीतिक स्थायीत्व अपरिहार्य छ भन्ने कुरा बुझ्नुपर्छ ।’

राजनीतिक स्थिरताका लागि दुई दलको समीकरण बनेको भन्दै पोखरेलले कांग्रेस– एमाले समीकरणको वचाउ गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिवाद गरे ।

उनले राजनीतिमा निष्ठा र नैतिकताको संकट रहेको टिप्पणी गरे । ‘बहसको कुरा नल्याउने, अचानक मध्यरातमा हस्ताक्षर हुनुले नियतमाथि शंका खडा स्वभाविक हुन्छ’, नेपालले भने, ‘भावनाले र चाहनाले मात्रै हुँदैन । व्यवहारमा रुपान्तरण गर्न सक्नुपर्छ । व्यवहारमा रुपान्तरण गर्नका लागि पहिलो कुरा निष्ठा नै हो ।’

कांग्रेसका नेताहरुले निर्वाचन प्रणालीको सुधारको वकालत गर्दै आएका छन् । दुई दलको सहमतिमा संविधान संशोधनको मुद्दा पनि परेको छ । मंगलबार बोल्ने क्रममा एमाले महासचिव पोखरेलले निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताए ।

वर्तमान निर्वाचन प्रणालीमा प्रत्यक्षबाट जितेकाले क वर्ग र र समानुपातिकबाट आएकाले ख वर्गमा रहेको महसुस गर्ने अवस्था रहेको सुनाए । उनले भने, ‘समानुपातिक समावेशितालाई यस्तो ढाँचामा बदलेर लैजानुपर्दछ । जुन ढाँचाबाट आएका सांसद क र ख नहुन् । एउटै वर्गका हुन् ।’

आएनन् प्रचण्ड

गिरीको स्मृति कार्यक्रममा स्कुल अफ डेमोक्रेसीले अतिथिका रुपमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, एमाले महासचिव पोखरेल, लोकतान्त्रि समाजवादीका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेता डा.शेखर कोइराला लगायतलाई आमन्त्रण गरेको थियो ।

कार्यक्रममा प्रचण्ड, ठाकुर र कोइराला अनुपस्थित रहे । आफू जान नसक्ने भएपछि प्रचण्डले पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई पठाए । बस्नेतले प्रचण्ड अस्वस्थ भएकाले उपस्थित हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?