+
+

गट्ठाघर घटनामा प्रहरी प्रतिवेदन : ट्रक चालकले दुर्घटना थाहै पाएन

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ ४ गते २०:४०

४ भदौ, काठमाडौं । गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।

ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।

त्यसपछि ट्रक नै रोकेको उनले बयानमा खुलाएका छन् । दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यले बताइन् । ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।

दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन् । बिहीबार दिउँसो १ः४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति बनाएर घटनाको छानबिन गरेको थियो ।

तर छानबिन समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार व्यक्तिलाई ट्रक केही मिटर परसम्म घिसारेको देखिन्छ ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिंदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक प्रहरी दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । जसकारण यो दुर्घटनामा ट्राफिकको कुनै गल्ती नरहेको एसपी केसीको समितिले औंल्याएको छ ।

गृहमन्त्री रमेश लेखकको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रहरी जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको अर्को समितिले पनि छानबिन सुरु गरेको छ । समितिमा भक्तपुरका डीएसपी राजन कार्की र एक जना मेकानिकल इन्जिनियरसहित ५ जना सदस्य छन् ।

आइतबारबाट काम सुरु गरेको उक्त समितिले आगामी आइतबार प्रतिवेदन बुझाउने गरी म्याद दिइएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मेकानिकल इन्जिनियरले ट्रकको अवस्था पनि ठीक रहेको राय दिएका छन् ।

ट्रकको अवस्था पनि ठीक रहेको, स्पीडमा पनि नरहेको, चालकले मादक पदार्थ सेवन पनि नगरेको पाइएकाले लापरबाहीपूर्ण तरिकाले चलाएर भन्दा पनि भवितव्यमा दुर्घटना भएको समितिले औंल्याएको छ ।

ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो ।

प्रदर्शनका क्रममा एसपी विष्ट, प्रहरी सहायक हबलदार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते भएका थिए ।

प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका थिए । तर एसपी केसी नेतृत्वको समितिले ट्राफिकको कमजोरी भने नरहेको उल्लेख गरेको छ ।

समितिको प्रतिवेदनपछि कसुर आकर्षित हुन्छ : एसपी विष्ट

दुर्घटनापछि छानबिन गर्न बनेको एसपी केसीको समितिले प्रतिवेदन बुझाए पनि सहायक सीडीओ निरौला नेतृत्वको समितिले प्रतिवेदन बुझाउन बाँकी नै छ । सम्भवत आउँदो आइतबार प्रतिवेदन बुझाउने गरी समितिले काम गरिरहेको छ ।

यी दुबै समितिका प्रतिवेदन दिएको राय–सुझावपछि मात्रै कुन कसुरमा कारबाही प्रक्रिया अघि बढ्ने भन्नेबारे टुंगो लाग्ने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले बताए ।

‘ट्रक चालकलाई अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं । समितिले बुझाएपछि त्यसको आधारमा सवारी ज्यानमा पनि कुन दफा आकर्षित हुने भन्ने टुंगो लाग्छ’ एसपी बिष्टले अनलाइनखबसँग भने ।

यातायात व्यवस्था तथा सवारी ऐन २०४९ को दफा १६१ मा ज्यान मरेमा हुने सजाय बारेमा उल्लेख छ । दफा १६१ को उपदफा (१) मा ज्यान मार्ने उदेश्यले सवारी चलाएर कसैको ज्यान गएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

उपदफा (२) मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

उपदफा (३) मा ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा सवारी दुर्घटना भइ कसैको मृत्यु भएमा चालकलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

चालकको लाइसेन्स रहेकाले समितिको प्रतिवेदनपछि माथि उल्लेखित तीन वटा दफा मध्य जुन आकर्षित हुन्छ सोही अनुसार मुद्दाको प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ ।

दुर्घटनापछि मृतकबारे गलत जानकारी दिएको आरोपमा प्रहरीले शम्भु नेपालीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनापछि आफन्तले दिएको जानकारीका आधारमा महिलाको मृत्यु भएको बताएको थियो । तर सीसीटीभी फुटेज हेर्दा पुरुषको मृत्यु भएको देखिएपछि घटनास्थलमा फेला परेका लाइसेन्सका आधारमा मृतक उत्तम कोइराला रहेको पुष्टि भएको थियो ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?