+
+
जनार्दन शर्मासँग वार्ता :

‘प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने इतिहासमा हो, वर्तमानमा सम्भव छैन’

यो पार्टीमा मेरो आफ्नो योगदान छ, म जस्ता हजारौंको छ । त्यसकारण यो पार्टी मेरो हो र, म जस्ता हजारौंको हो । यो पार्टीमा कसैले टिक्न नदिएर नटिक्नुपर्ने केही जरूरी छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ४ गते २१:०५

४ भदौ, काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न तीन विकल्प दिएपछि राम्रै तरंग आयो । तर बैठक समापन गर्दा प्रचण्डले नेतृत्व हस्तान्तरणबारे बोलेनन्, बरु ‘अब जनार्दनले पार्टी फुटाउँदैनन्’ भन्ने निष्कर्ष सुनाए ।

शर्मा भने आफूले कहिल्यै पार्टी फुटाउन नलागेकाले यो निष्कर्ष नै गलत भएको बताउँछन् । ‘पोखरामा गएर पार्टी फुट्दैछ भनेर म त बोलेको होइन । दलको बैठकमा गएर १६ जनाले मेरो विरुद्ध सही गर्दैछन् भनेर म त बोलेको होइन ! बोलेको त उहाँ थियो’ शर्माले भने, ‘उहाँ क्लियर हुनुभयो होला, राम्रो कुरा त्यही हो ।’

तर आफूले उठाएको विषयमा पार्टीमा छलफल हुने उनले बताए । साथै नेतृत्वमाथि प्रश्न गरेका कारण पार्टी छाड्नुपर्ने विगत अब दोहोरिन सम्भव नभएको उनले बताए ।

शर्माले भने, ‘यो पार्टीमा मेरो आफ्नो योगदान छ, म जस्ता हजारौंको छ । यो पार्टीमा कसैले टिक्न नदिएर नटिक्नुपर्ने केही जरुरी छैन ।’

प्रस्तुत छ, माओवादी केन्द्रका उपमहासचिव शर्मासँग सइन्द्र राई र विनोद घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

स्थायी समिति बैठकमा तपाईंले प्रस्ताव राखेपछि अध्यक्ष प्रचण्डले एउटा निष्कर्ष सुनाउनुभयो– अब जनार्दन शर्माले पार्टी फुटाउँदैन । कुरा यही हो ?

शब्द नै मिलेन । अब फुटाउँदैन भन्ने नै गल्ती भइसक्यो । कहिल्यै नफुटाउनेलाई ‘अब’ भन्ने कसरी आउँछ ? जनार्दन भनेको त पार्टी फुट्न नदिने व्यक्ति हो ।

तपाईंले वैचारिक काम गर्नुस् । सत्ता प्राप्त हुँदा नेतृत्व पनि गर्नुस् । विधान भन्दा माथि तपाईं बस्दिनुस्, विधान हामी लागू गर्छौं । विधान लागू गर्दा प्रणाली हुन्छ, कमिटी बन्छ ।

हिजो किरणजीले पार्टी फुटाउँदा अन्तिमसम्म एकताको प्रयत्न गर्ने मान्छे हुँ म । विप्लवजीलाई यहीं बहस गरौं भनेको थिएँ, मान्नुभएन ।

फुटिसकेपछि एउटा टिम नै बनाएर बादलजी (रामबहादुर थापा), गुरुङजी (देव गुरुङ), पम्फाजी र हितमानजीहरुलाई फिर्ता ल्याउने मान्छे मै हुँ ।

देवेन्द्र पौडेल कहाँ पुग्नुभएको थियो, फिर्ता ल्याउने मै हुँ । रेखा र कृष्णध्वज कहाँँ पुगेका थिए, फिर्ता ल्याउने मै हुँ ।

एमाले र माओवादीलाई मिलाउने भूमिका खेल्ने मै हुँ । त्यो कति सफल भयो, अर्को कुरा भयो । मिलाएको त हो नि ! किन सफल भएन ? मेरा कारणले भएन कि नेताहरुको कारणले भन्ने दुनियाँले बुझेकै छ ।

यसरी निरन्तर पार्टीलाई बलियो बनाउन लागेको मान्छेबारे एक डेढ वर्षदेखि पार्टी फुटाउँदैछ, फलाना पार्टीमा जाँदैछ भन्ने प्रचार गरियो । त्यो प्रचार पूरै गलत हो, पार्टी निर्माण विरुद्ध र एउटा व्यक्तिमाथि भ्रम सिर्जना गरियो भनेर मैलै प्रश्न उठाएको हुँ । हेडक्वार्टरबाटै गलत प्रचार गरिनुहुँदैन भनेर प्रश्न उठाएको हुँ ।

प्रचण्डको बोली र सर्कुलरको भाषामा त जनार्दनले अब पार्टी फुटाउँदैन भन्ने नै छ नि !

मैले प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक रूपमा सबैले हेरिसके । त्यसमा पार्टी फुटाउने भन्ने कुनै च्याप्टर र बुँदामा छ ? पार्टी बनाउने कुरा मात्र छ त्यहाँ ।

त्यहाँ तीन वटा कुरा छ । हिजो हामीले के–के गर्न सक्थ्यौं, तर गरेनौं भनेर केही बुँदामा लेखेको छु । त्यसको कारण के थियो ? लेखेको छु ।

अब कसरी जाने ? के गर्न जरुरी छ ? आजको आवश्यकता के हो ? जनताले खोजेको कुरा के हो ? मैले यही त भनेको छु ।

तर आशंका बनाउने प्रक्रिया सुरु भएको थियो पहिलादेखि । त्यतातिर धेरै जान चाहदिनँ । मैले कुरा राखेपछि अध्यक्षले क्लियर भएँ भन्नुभएको छ ।

म त क्लियर छँदैथिएँ, अब अध्यक्ष पनि क्लियर हुनुभयो होला ।

किनकि पोखरामा गएर पार्टी फुट्दैछ भनेर म त बोलेको होइन । दलको बैठकमा गएर १६ जनाले मेरो विरुद्ध सही गर्दैछन् भनेर म त बोलेको होइन !

बोलेको त उहाँ (प्रचण्ड) थियो । उहाँ क्लियर हुनुभयो होला, राम्रो कुरा त्यही हो । म त त्यसमा (विभाजन गर्ने कुरामा) छँदा पनि थिएनँ, हुँदा पनि होइन । मैले त पार्टी बनाउने बहस सुरु गरेको छु ।

तपाईंको प्रस्ताव र प्रचण्डले सुनाएको निष्कर्ष मिलेन ?

पार्टी फुट्छ कि फुट्दैन भन्नेमा जे उहाँहरुलाई लागेको थियो, त्यो होइन भन्नेमा पुग्नुभयो । त्यो कुरा सक्कियो ।

मैले उठाएको केही प्रश्नहरुबारे उहाँले अध्ययन गरेर, बुझेर जवाफ दिन्छु भन्नुभएको छ, त्यो भोलि दिनुहोला । अध्यक्षले जवाफ दिएपछि त्यो विषयमा पनि छलफल होला । अहिले त्यतातिर थप जान चाहन्न ।

अरु कार्यक्रम, योजना र संगठनबारे केन्द्रीय समितिमा छलफल गरौं, मलाई टेन्सन छैन भनेर अध्यक्षले भन्नुभएको छ । स्थायी समितिका सदस्यहरुले कुराहरु (प्रस्ताव) बेठिक छैनन्, यिनलाई पनि कमिटीगत रुपमा समेट्नुपर्छ भन्नुभएको छ । भएको यही हो ।

अब केन्द्रीय समितिमा छलफल कति होला ? कति समय लाग्ला ? र, कसरी अगाडि बढ्छ भन्ने कुनै टुंगो लागेको छैन ।मेरो प्रस्ताव गलत रहेछ भने त्यहाँ (केन्द्रीय समितिमा) सच्चिएला, सही रहेछ भने त्यो लागू होला ।

संगठनको सन्दर्भमा पनि मैले अध्यक्ष प्रचण्डलाई पार्टीबाट हटाउने र एकलौटी गर्ने भनेको छैन । मैले उहाँको भूमिकालाई स्थापित गर्ने भनेको छु, विचार निर्माणको दृष्टिकोणले अध्ययन र अनुसन्धानमा उहाँले समय दिनुपर्‍यो ।

एउटा क्रान्तिको नेतृत्व गरेर आउनुभयो । जनयुद्धको महान् प्रक्रियामा अध्यक्ष प्रचण्डले नै नेतृत्व गर्नुभएकाले हामी यहाँ आइपुग्यौं । तर शान्तिप्रक्रियामा आएपछि तलतिर झर्दैछौं । हिजो उहाँले गरेको भूमिकालाई अझ माथि उठाउन अब वैचारिक काम गर्नुपर्‍यो, डे–टु–डे काम गरेर हुँदैन ।

वैचारिक काम गरेर (अस्ति पनि एउटा कार्यक्रममा भनेको थिएँ) प्रचण्ड दुई सय वर्ष पर बाँच्नु पर्‍यो । मानिस विचारले बाँच्ने हो । विचार जब नयाँ दिन सकिन्छ दुनियाँलाई, तब बाँच्ने हो । भौतिक शरीरले बाँच्ने त हुँदैन ।

त्यसकारण उहाँ त्यतातिर लाग्ने हो भनेर मैले उहाँको भूमिकालाई थप सुदृढ र व्यवस्थित गर्ने प्रस्ताव राखेको छु ।

संगठनको डे–टु–डे गर्नुपर्ने जे कुरा छ, यो तपाईंले छोड्दिनुहोस् । अर्को मान्छेलाई दिनुहोस् भनेको छु ।

विचार भएपछि चल्ने हो, संगठन । विचार सही भयो भने संगठन सही ढंगले चल्छ । विचार नै स्पष्ट छैन भने कसरी चल्छ संगठन ? त्यसो हुँदा संगठनको काम जसले पनि गर्न सक्छ, विचारको काम तपाईं गर्नुस् भनेको छु ।

मेरो कुरा मलाई सही लागेसम्म उठाइराख्छु, छलफल गरिराख्छु । मेरो कुरा गलत छ भन्ने सावित भयो भने मैले छोड्ने भएँ, कि योभन्दा झन् उत्तम विकल्प हुनुपर्‍यो ।

प्रचण्डलाई पदबाट हटाउने नभएर फरक भूमिका दिने भन्नुभएको हो ?

उहाँको भूमिका त स्वतः रहन्छ । यो आन्दोलनमा उहाँको भूमिका रहनुपर्छ भनेकै छु ।

सत्ताको पनि तपाईंले नेतृत्व गरे हुन्छ भनेको छु । आपत्ति छैन । तर संगठनको चाहिं हुँदैन भनेको छु । संगठनको नेतृत्व अर्को नयाँले गर्नुपर्‍यो, प्रष्ट कुरा यति हो ।

तपाईंको प्रस्तावमाथि छलफल हुन्छ र नेतृत्व हस्तान्तरण हुन्छ भन्नेमा विश्वास छ ?

छलफल हुन्छ । छलफलबाटै हस्तान्तरण हुने समय आउला, विधि र प्रक्रिया अपनाउँला, महाधिवेशन होला, सम्मेलन होला ।

मैले (नेतृत्वबारे) तीन वटा कुरा भनेको छु । निर्वाचन गरेर जाऔं, ठीक छ । निर्वाचनमा उहाँ आफैं निर्वाचित भएर पनि आउन पाउने हुनुभयो, केही समस्या भएन ।

हस्तान्तरण गर्ने हो भने पार्टीमा दिन मिल्ने व्यक्ति (उपाध्यक्ष, महासचिव अथवा कसलाई चाहनुहुन्छ) लाई संक्रमणकालभर तपाईंले चलाउनुस्, त्यसपछि महाधिवेशन गरेर जानुस् भन्दिए भइहाल्यो ।

त्यसो होइन, टिम नै हट्नुपर्छ भने हामी सबै फरक भूमिकामा जाऔं । उहाँलाई मात्र भनेको छैन, मैले आफैंलाई पनि भनेको छु । पदाधिकारी टिम नै फरक भूमिकामा बसौं, नयाँ टिम ल्याएर हाँक्न दिऊँ । हामीले गाइड, स्कुलिङ र सहयोग गरौं ।

तर तपाईंको प्रस्तावपछि अरु पार्टीसँग एकताको प्रक्रिया प्राथमिकताका साथ बढे जस्तो देखिन्छ नि ?

म पनि एकताकै पक्षधर हुँ । विप्लवजीसँग एकता गर्ने कुरा बाहिर चर्चा भयो, पार्टीमा अहिलेसम्म एजेण्डा बनाएर छलफल भएन । टुंग्याएर जाऔं भन्ने मेरो कुरा हो, आपत्ति छैन ।

माधव कमरेडसँग एकता गर्ने कुरामा उहाँहरु (एकीकृत समाजवादी) तयार हुँदा कुनै अड्चन छैन । माधव कमरेड आउँदा हामीलाई के घाटा छ र ? झनै राम्रो हुन्छ ।

महिन्द्र (राय यादव) जी आउँदा पनि घाटा छैन । (मोहन वैद्य) किरणजीसँग किन एकता नगर्ने ? बाबुरामजीसँग पनि एकता किन नगर्ने त ? उहाँहरुसँग पनि गरौं । अरु वामपन्थी को छन् ? सबैसित एकता गरौं भनेकै छु ।

यो पाटोमा सकारात्मक नै छु । किनभने हिजोदेखि मैले त्यही भूमिका खेलेको छु । तर एकताले यो विषयलाई (प्रस्ताव) यताउता गर्छ कि भन्दा गर्दैन । एकता गरे पनि पार्टी त बनाउनै पर्छ, छलफल त गर्नैछ । एकता गरे पनि पार्टीलाई कार्यदिशा चाहिन्छ, कार्यक्रम चाहिन्छ, योजना, संगठन र नेतृत्व चाहिन्छ ।

एकताको ठूलो विषय चल्दा नेतृत्वबारे राखेको प्रस्ताव ओझेलमा पर्ला नि ?

एकता पनि पार्टी पुनर्निर्माणकै लागि हो । एकताको उद्देश्य अर्को छैन होला । अर्को उद्देश्य छैन भने पार्टी निर्माणकै छलफल हुन्छ, त्यहाँ पनि ।

पार्टी एकतामा त प्रचण्ड, माधव अथवा बाबुरामबीच अध्यक्ष र प्रधानमन्त्री भागबन्डा होला । तपाईंको प्रस्ताव अनुसार चल्ला र ?

त्यसबेला नेतृत्व कसरी निर्माण गर्ने भन्ने त प्रक्रियामा जान्छ नि ! एकता पछि महाधिवेशन हुन्छ । निर्वाचनमा जान्छ, प्रक्रियाले निर्धारण गरिहाल्छ ।

हाम्रोमा अहिले प्रक्रियामा नजाँदा पो समस्या हो त । प्रक्रियामा जाँदा त हल भइहाल्छ नि !

कम्युनिष्ट पार्टीमा एउटा नेतृत्वले हस्तान्तरण गर्ने (यो भनेजस्तो सजिलो छैन) र अर्काे कुरा विधिमा गएर हल गर्ने हो । विधिमा जाने भनेको दुई/दुई वर्ष, तीन/तीन वर्ष, चार/चार वर्षको अवधि होला । अवधि पुगेपछि नयाँ–नयाँ नेतृत्व आउँदै जाला । नयाँ युवा पुस्ता आउँदै जाला ।

फेरि मैले नेतृत्वबारे गरेको प्रस्ताव मेरो लागि गरेको होइन । मैले जनयुद्धको श्रेय तपाईंलाई नै हो भनेको छु । किनकि प्रचण्डले नेतृत्व नगरेको भए सायद हुने थिएन । जनयुद्धको प्रक्रियामा भएको उपलब्धि धेरै ठूलो कुरा हो । यो सम्पूर्ण श्रेय तपाईंलाई भनेर प्रष्ट भनेको छु ।

दोष शान्ति प्रक्रियामा आएपछि हो । शान्ति प्रक्रियामा आएपछि खस्किदै गएका छौं, यसमा मुख्य भूमिका तपाईंको हो, शेयर हामी पनि लिन्छौं भनेको छु ।

यसमा छलछाम छैन, प्रष्ट छ ।

प्रचण्डको नेतृत्वमा संगठन चल्न सक्दैन भन्ने निष्कर्ष निकालेको तपाईंले महाधिवेशनबाट जितेर आउने विकल्प पनि दिनुभएको छ । यो भनेको आफ्नै निष्कर्षमा विरोधाभास भएन ?

विधिमा जान कसैलाई रोक्न सकिन्छ त ? मैले विधिको माग गरिरहेको छु । एकातिर विधिको माग गर्ने र अर्कातिर फलानाले चुनाव लड्न नपाउने भनेर आदेश गर्ने हुँदैन । विधि मान्दा विधिभित्रबाट हल हुने कुरा हो ।

प्रचण्ड विधिमा चल्नुभएन, चल्ने भए महाधिवेशनबाट आउनुपर्‍यो ?

मैलै प्रष्टै लेखेको छु, तपाईंले वैचारिक काम गर्नुस् । सत्ता प्राप्त हुँदा नेतृत्व पनि गर्नुस् । विधान भन्दा माथि तपाईं बस्दिनुस्, बिधान हामी लागु गर्छौ । विधान लागू गर्दा प्रणाली हुन्छ, कमिटी बन्छ ।

तर हप्ताहप्ता, तीनतीन महिनामा कमिटी बनाउँदा स्थायित्व भएन । पुरा कार्यकाल कुनै कमिटीले काम गर्न पाएन ।
को कतिबेला के जिम्मेवारीमा रहने भन्ने थाहा पनि भएन । संगठन त भद्रगोल भयो । यसलाई विधिमा राखौं, प्रणालीमा हालौं ।

तर स्थायी समितिमा प्रचण्डको विकल्प छैन तर्क धेरैले गरे भन्ने सुनियो नि ?

मैले राखेको जस्तो मत अरुले पनि मत राख्न पाउँछन् त । मत मेरो मात्र हुन्छ र ? अरुको पनि हुन्छ ।

त्यो मत आउने भइहाल्यो । केही मत अहिले विकल्प छैन, अहिले गर्नु हुन्न भन्ने आयो । केहीले अलिपर गएर गर्नुपर्छ भने, कसैले निर्वाचनबाट जानुपर्छ भने । मैले तीन वटा विकल्प राखेँ । मेरै मत निर्णायक वा अर्काको मत निर्णायक भन्ने हुन्न ।

तपाईंको विकल्पलाई निर्णयमा पुर्‍याउन त अरुको साथ चाहिन्छ । ३६ वर्षदेखि पार्टीको नेतृत्व गरेको, तीन पटकको प्रधानमन्त्री प्रचण्डको आफ्नै व्यक्तित्व छ । उहाँको अगाडि तपाईंले अगाडि सारेको विकल्पमा पार्टीका साथीहरुको साथ पाउँछु भन्नेमा चाहिं कतिको विश्वस्त हुनुहुन्छ ?

उहाँको व्यक्तित्व स्वतः स्थापित छ । अहिले देशको मुख्य नेताहरुमा पनि विशेष नेता हो । त्यसमा हाम्रो तलमाथि छैन ।

उहाँले हिजो ऐतिहासिक रुपमा खेलेको भूमिकालाई कत्ति पनि न्यूनिकरण गर्न चाहँदैनौं, गर्न पनि हुन्न । इतिहासको तथ्य त्यही हो । आज पनि उहाँको भूमिका घटाउन खोजेका छैनौं ।

तर आज मलाई पार्टीलाई अलिकति फरक ढंगले जैजान यसरी जानुपर्छ भन्ने लाग्यो, कुरा उठाएँ । मैले उठाएका एजेण्डामा कुन व्यक्तिको सहयोग र असहयोग होइन । यो विचारको पक्षमा लाग्ने कोको हुन्छन्, नलाग्नेहरु को–को हुन्छन् ।

त्यहाँ त आआफ्नो विचार राख्दा विचारले नै सहकार्य हुने हो । योजनाले सहकार्य हुने हो, नीतिले सहकार्य हुने हो ।

मान्छेको अनुहारले सहकार्य हुन्न । जोसँग विचार मिल्छ, सहकार्य हुन्छ, पार्टीभित्र यो त स्वभाविक हो ।

सोच मिल्नेहरु कत्तिको देख्नुहुन्छ ? किनकी जसले प्रचण्डमाथि प्रश्न उठाउँछ, उ माओवादीमा टिक्न कठिन बनेको देखिन्छ ?

त्यो इतिहासका कुरा हो, वर्तमानमा त्यो सम्भव छैन । टिक्ने–नटिक्ने, टिक्न–दिने नदिने कुरा होइन । अब नटिकेर जाने छोड्ने अर्कै कुरा हो ।

यो पार्टीमा मेरो आफ्नो योगदान छ, म जस्ता हजारौंको छ । त्यसकारण यो पार्टी मेरो हो र, म जस्ता हजारौंको हो । यो पार्टीमा कसैले टिक्न नदिएर नटिक्नु पर्ने केही जरुरी छैन । कसैले टिक्न नदिंदैमा हुने कुरा होइन ।

प्रचण्डपथ भन्दा अगाडि छाडौं, त्यसपछि पनि बाबुराम, मोहन वैद्य, विप्लव उहाँहरुको पनि योगदान त थियो नि, हैन ?

थियो, तर उहाँहरु हिंड्नुभयो । मैले तपाईंहरु नछोड्नुस्, यही स्ट्रगल गरौं, छलफल गरौं भनेको हुँ । मैले त कति सम्झाएको हो उहाँहरुलाई । तर हुँदैन भनेर हिंडिदिनुभयो ।

किन हिंडेको त ? त्यसकारण टिक्न दिने–नदिने भनेको एउटा व्यक्तिको प्रोपर्टी जस्तो होइन यो । यो त सामूहिक त्याग, बलिदान, श्रम, विचारमा बनेको पार्टी हो ।

म जस्ता हजारौं छन् । त्यसमध्ये एउटा न हुँ म । भन्दा टिक्न नदिने भनेर कसैले सोचेर पनि हुँदैन, चाहेर पनि हुँदैन ।

यो आन्दोलनको कुरा हो, मेरो कुरा मलाई सही लागेसम्म उठाइराख्छु, छलफल गरिराख्छु । मेरो कुरा गलत छ भन्ने सावित भयो भने मैले छोड्ने भएँ, कि योभन्दा झन् उत्तम विकल्प हुनुपर्‍यो । नभए त मैले उठाइरहने भएँ । पार्टीमा उठाउन पाइन्छ । अभिव्यक्तिको स्वतन्त्रता, कामकारबाहीमा एकरुपता भन्ने त नीति हो ।

तर कठिन कारबाही हुँदा पनि पार्टीमै बस्छु भनेको मान्छे पनि (बाबुराम भट्टराई) समयान्तरमा अलग हुनुभयो । माओवाद मात्र होइन, कम्युनिष्ट प्रति नै उहाँको बुझाइ बदलिएको छ । तपाईंमा …

अब त्यही घटना अर्को व्यक्तिमा दोहोरिराख्न जरुरी छैन, दोहोरिंदा पनि दोहोरिंदैन । अर्को, दोहोरिने कि नदोहोरिने सम्बन्धित व्यक्तिमा पनि भर पर्ने होला ।

अब त्यतिबेला पनि कारबाही त भयो, तर दुई रातमा अर्को भइसक्यो । हामीले निर्णय गरेकै हौं, तर कारबाही गरेको दुई दिनपछि वस्तुगत परिस्थिति र आवश्यकताले फेरि सहकार्य गरेर जानुपर्‍यो त । त्यही कुरा नै दोहोरिन्छ भन्ने पनि होइन ।

अहिले निर्णय निष्कर्षमा पुगेको छैन । मैले राखेको मत गलत साबित भएछ भने मैले गलत गरेछु भन्ने होला । सही रहेछ भने सही रहेछ भन्ने स्थापित होला । त्यो बेलासम्म मसित धैर्यता हुनुपर्‍यो नि !

मैले अहिले उठाएको संगठनको विषय सही हो कि गलत हो, स्थापित हुन्छ नि भोलि ।

मैले हिजो गर्न यति सम्भव थियो, हामीले गल्ती गर्‍यौं भनेको न छु । यो त सामूहिक आत्मालोचना न हो । हिजो यो यो गर्न सकिने कुरा गरिएन । मुख्य नेतृत्वको मुख्य भूमिका हुने नै भयो, अरु भूमिका हाम्रो पनि छ भनेकै छु ।

त्यसका कारण यिनी थिए, अब हामी यसरी जानुपर्छ भनेको छु । फेरि यो सबै पूर्ण हो भनेको पनि छैन । यो त एउटा प्रारम्भिक छलफल हो, यसमा सबैका विचार आउलान्, मन्थन होला । त्यसले अझ राम्रो कार्ययोजना बन्ला, अगाडि बढ्ला । अगाडि बढ्ने चिज चाहियो, कुरा त्यति हो ।

यसमा तपाईंभन्दा नेतृत्वको विगतले गर्दा व्यक्तिगत समाधान खोज्दा खोज्दै माओवादीले पुनर्गठन गर्ने समय नपाउने हो कि भन्ने लाग्दैन ?

मैले उठाएको कुरामा नमिल्ने केही पनि छैन क्या । मैले नमिल्ने कुरा उठाएकै छैन, मिल्ने कुरा उठाएको छु । संविधान संशोधन अगाडि बढ्न त सक्दैन, प्रयास त होला । तर सम्भव छैन, बढ्दैन पनि । बढाउन सक्दैनन् भन्ने मेरो आत्मविश्वास छ ।

यदि समानुपातिकलाई कसैले खान खोज्यो भने सबभन्दा पहिला प्रतिवादमा त हामी उत्रिऔंला नि ! त्यसमा कहीं तल–माथि छैन । मैले भनेकै छु, त्यतातिर जाने खतराका लागि सचेत हुनुपर्छ ।

अर्को, जनताको कुरा के छ ? युवा पुस्ताको दिमागका के छ ? उनीहरुको मनोविज्ञान अध्ययन गरौं बुझौं । हामी टाढा भयौं, त्यसलाई राम्रोसँग बुझेर कार्यक्रम बनाउँ । सामाजिक संरचना फेरिएको छ, हिजोको जस्तो छैन ।

आज परिवारको एउटा सदस्य यहाँ छ, अर्को अरबतिर छ, अर्को अमेरिकातिर छ । संख्या, काम, पेशा, प्रवृत्तिको हिसाबले सामाजिक संरचना नयाँ भइसक्यो । त्यसको पनि अध्ययन गरौं । हिजो युद्धकालीन संगठन चलाए जस्तो आज चल्दैन । आज संगठनको रुप स्वरुप विधि तरिका फेर्नुपर्छ न भनेको हुँ मैले ।

मैले भनेको गलत पनि हुनसक्ला । गलत रहेछ भन्ने स्थापित भयो भने सबैले त्यसले भनेको गलत रहेछ भन्लान् । मलाई त आज सही लाग्यो, यो पार्टीलाई नयाँ ढंगले लैजानका लागि हिजोको समीक्षा गर्दै अब कार्यविभाजन गर्नुपर्छ ।

अध्यक्षको कार्यविभाजन हो, अरुको यो भनौं । सबैको भूमिका सुनिश्चित गरेर अझ बृहत् एकता र सुदृढ गरेर जाउँ भन्ने म कुरा हो मेरो ।

यो मैले मेरै विरुद्ध भनेको छु । म पनि त्यही पुस्ता हो । पुस्तान्तरण गरौं भनेको छु ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?