+
+

सक्रिय भयो मनसुन, बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते ६:५३
कञ्चनपुरको डुबान । तस्वीर : अनलाइनखबर फाइल ।

५ भदौ, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।

मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । आज बिहान यो समाचार तयार पार्दासम्मको अवस्था हेर्दा सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ ।

वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?