+
+

त्रिविमा लामो समयदेखि असुरक्षा छ, त्यही भएर जनतासँग अपिल गरेँ : शिक्षामन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते ९:१६

५ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग गरिएको उनको भनाइ छ ।

आज बिहान मन्त्री भट्टराईले फेसबुकमा स्टाटस लेख्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग गरेकी थिइन् ।

अनलाइनखबरसँग कुरा गर्दै मन्त्री भट्टराईले अहिले मात्र भइ लामो समयदेखि त्रिविमा असुरक्षा रहेको बताइन् । यो राज्यको लागि चुनौतीको विषय भएको भन्दै उनले भनिन्, ‘विश्वविद्यालयमा असुरक्षा हुनु, प्राध्यापकले कुटाइ खानु, मरणासन्न बनाउनु । अहिलेको यो त्यसैको प्रतिफल हो । त्यही भएर विश्वविद्यालयलाई भयमुक्त गर्नुपर्छ भनेर सार्वजनिक रुपमा अपिल गरेको हुँ । यो सामाजिक बहसको विषय होस् भनेर मैले स्टाटस राखिदिएको हुँ ।’

त्रिविमा विवादको कारण

त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद छ । विभागले कार्यविधि अनुसार बरिष्ठताको आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डीन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टिका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो ।

३२ साउनमा तत्कालीन विभाग प्रमुख प्रा.डा.युवराज लुईंटेलको पदावधि सकिनु अघि विभागले पासाङ शेर्पा, टिका गौतम र मनहरी ढकालको नाम सिफारिस गरेको थियो । तर, डीन प्रा.डा.कुसुम शाक्यले विधि मिच्दै कांग्रेस निकट गौतमलाई सिफारिस गरेको आरोप लाग्दै आएको छ । डीन शाक्य अहिले निमित्त डीनको रुपमा छिन् ।

मन्त्री विद्या भट्टराईको फेसबुक स्टाटस

स्रोतका अनुसार डीनलाई रेक्टर कार्यालयले दोस्रो नम्बरमा रहेका सहप्राध्यापकको नाम पहिलो नम्बरमा पठाएपछि स्पष्टीकरण सोधेको छ । तर, डीन कार्यालयबाट जवाफ आएको छैन ।

तर, डीन  कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न दबाब तथा धम्की आइरहेको भन्दै पदाधिकारीले गत शुक्रबार शिक्षा मन्त्रालयमा आवश्यक सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र पठाएका थिए । उक्त पत्र गृह मन्त्रालयमा फरवार्ड गर्ने भनिए पनि शिक्षा मन्त्रालयमै थन्किएको थियो ।

सुरक्षाको समन्वय भइरहे पनि त्यतिले मात्र पुगेन : मन्त्री भट्टराई

आफूले असुरक्षाको विषयमा संसदमा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्री लगायतसँग लगातार समन्व पनि गरेको मन्त्री भट्टराईले बताइन् । त्यतिले मात्र नपुग्ने देखेपछि सार्वजनिक बहस होस् भनेर जनतासँग अपिल गरेको उनले बताइन् ।

‘विश्वविद्यालयलाई स्वतन्त्र ढंगले चल्न नदिनु बेठिक हो भनेर मैले सार्वजनिक बहसको विषय बनोस् भनेर राखिदिएकी हुँ,’ मन्त्री भट्टराईले अनलाइनखबरसँग भनिन्, ‘थ्रेटहरु लगातार आइरहेको छ । हामीले गर्ने कुरा पनि गरिरहेका छौं । तर ती व्यक्तिहरुबाट थ्रेट आउने कुरा रोकिएन । त्यो नरोकिएपछि सार्वजनिक अपिल गरेकी हुँ । सरकारसँग गरिएको अपिल होइन यो, सार्वजनिक अपिल हो, आम जनतासँगको अपिल हो ।’

उनले अनलाइनखबरलाई दिएको प्रतिक्रिया जस्ताको तस्तै

सार्वजनिक अपिल गर्नुपर्ने ठाउँमा आइपुगेँ म र गरेँ । समन्वय नभएर होइन, यो लामो समयको समस्या हो, आजको कुरा होइन । पटकपटक संसदमा पनि उठेको कुरा हो, मैले आफैं उठाएको विषय पनि हो । कुनै व्यक्तिगत सम्बन्धको कुराले होइन । मान्छेहरुले चाहिँ त्यसलाई अरु अनेक हिसाबले, आफूसँगै पढेको साथी यावा भन्दैछन् ।

यो राज्यका लागि चुनौतिको विषय हो, विश्वविद्यालयमा असुरक्षा हुनु, प्राध्यापकले कुटाइ खानु, मरणासन्न बनाउनु । अहिलेको यो त्यसैको प्रतिफल हो ।

त्यहीभएर विश्वविद्यालयलाई भयमुक्त गर्नुपर्छ भनेर सार्वजनिक रुपमा अपिल गरेकी हुँ । यो सामाजिक बहसको विषय होस् भनेर मैले स्टाटस राखिदिएकी हुँ ।

मलाई अनेक खालका आरोप लगाएर ट्वीटरमा लेखिएको छ । त्यो पनि हेर्नुहोला । मैले कुनै अपरिपक्व हिसाबले गरेको कुरा पनि होइन ।

विश्वविद्यालयमा अहिले जे भइरहेको छ, पार्टीभित्र एउटा समझदारी बनाएर नजाने हो भने हामीले अपेक्षा विश्वविद्यालयसँग गर्ने तर अर्कै हुने समस्या भइरहन्छ । विश्वविद्यालयलाई स्वतन्त्र ढंगले चल्न नदिनु बेठिक हो भनेर सार्वजनिक बहसको विषय बनोस् भनेर मैले राखिदिएकी हुँ ।

मेरो असक्षमता केही पनि होइन । मेरो समन्वय लगातार पाँच दिनदेखि भइरहेको छ, प्रधानमन्त्री, गृहमन्त्री सबैसँग । तर पनि यतिले पुगेन भन्ने लागेर मैले एकदम परिपक्व हिसाबले लेखेको कुरा हो यो ।

थ्रेटहरु लगातार आइरहेको छ । हामीले गर्ने कुरा पनि गरिरहेका छौं । तर ती व्यक्तिहरुबाट थ्रेट आउने कुरा रोकिएन । त्यो नरोकिएपछि सार्वजनिक अपिल गरेको हुँ । यो सरकारसँग गरिएको अपिल होइन यो, सार्वजनिक अपिल हो, आम जनतासँगको अपिल हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?