+
+

सागसब्जीका बेर्ना बेचेरै लाखौं कमाइ

रासस रासस
२०८१ भदौ ५ गते ११:१६

५ भदौ, कैलाली । टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन सागसब्जीका बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् । आफ्नो स्वामित्वमा रहेको थोरै जग्गामै सागसब्जीका बेर्ना उमारेर उनले कमाइ गर्दै आएकी छन् ।

‘जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त जमिन छैन । भाडामा जमिन लिएर काम गर्न लगानी छैन’, उनी भन्छिन्, ‘थोरै जमिनमा सागसब्जीबेर्ना उत्पादन गरेर बिक्री गर्दा घरको खर्च टरेको छ ।’

उनले वर्षभरि प्रायः यामअनुसार सागसब्जीका बेर्ना उत्पादन गर्छिन् । एक कठ्ठा जग्गामा उमारेको बेर्ना बेचेरै उनले वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म कमाइ गर्दै आएको बताउँछिन् । सागसब्जीका बेर्ना उत्पादन गर्ने किसानलाई कृषि हाटबजारले राम्रो साथ दिएको छ ।

थोरै जमिन भएकालाई पनि हाटबजारमा पाइने सागसब्जीका बेर्नाले सहज बनाएको छ । टीकापुरकै सुदेशु चौधरीले कृषि हाटबजार लक्ष्यित गरेर सागसब्जीका बेर्ना तयार पार्ने गरेको सुनाउँछन्। ‘हामीले बिक्री गर्ने बेर्ना व्यावसायिक कृषिखेती गर्ने किसानभन्दा घरको आँगन वरपर बचेको जमिनको सदुपयोग गर्नेले किन्ने हो’, उनी भन्छन्, ‘बेर्ना बेचेर आएको पैसाले घर खर्च, बेर्ना उत्पादनका लागि लाग्ने लागतसहित थोरै भए पनि बचत हुने गरेको छ ।’ वार्षिक ४ देखि ५ लाखसम्मको सागसब्जीका बेर्ना बिक्री गर्दै आएको उनी बताउँछन् ।

सोही ठाउँकै वीणा चौधरी पनि एक दशकभन्दा लामो समयदेखि तरकारीको बेर्ना उत्पादन गर्दै आएकी छन् । अरुले व्यवसाय गरेको हेरेर सागसब्जीबेर्ना उत्पादन सुरु गरेकी उनले ६ महिनाको सागसब्जीका बेर्ना उत्पादन तालिम नै लिनुभएको छ । तालिम लिएपछि व्यावसायिक रूपमा उनको परिवार नै त्यसैमा निर्भर छ ।

आफ्नो फार्ममा कैलालीका विभिन्न पालिकाबाट बेर्ना किन्न आउने गरेको वीणा बताउँछिन् । सागसब्जी बेर्ना बिक्रीका लागि कृषि हाटबजार किसानका लागि वरदान बनेको उनको भनाइ छ । ‘उत्पादन भएको बेर्नाको बजारीकरणमा समस्या त छैन, तर पनि हाटबजारले बजारीकरणमा थप सहयोग पुर्‍याएको छ’, उनी भन्छिन् । उनले बेर्ना बेचेरै वार्षिक ६ लाख रुपैयाँसम्म कमाउँदै आएकी छन् ।

सृजना चौधरीको ८ जनाको परिवार तरकारीको बेर्ना उत्पादन गर्ने र बिक्री गर्नमै व्यस्त छ । हप्ताको दुई दिन सृजनाको परिवारका चारजना कृषि हाटबजारमा बेर्न बिक्री गर्न पुग्छन् । कृषि हाटबजारमा पनि फरकफरक ठाउँमा बसेर उनीहरुले बेर्ना बेच्छन् ।

पाँच कठ्ठामा सागसब्जीबेर्ना उत्पादन गर्दै आएका उनका परिवारको आर्थिक स्रोतको मुख्य आधार नै तरकारीको बेर्ना हो । बेर्ना बिक्री गरेर आएको पैसाले उनको घरको हरेक खर्च व्यवस्थापन हुन्छ । ‘जमिन भएको भए तरकारीखेती पनि गरिन्थ्यो । भएको जमिन बेर्ना उत्पादनका लागि कम भएको छ’, सिर्जना भन्छिन, ‘कृषि हाटबजारले हामीले उत्पादन गरेको बेर्नाले माग धान्न सकेको छैन । आवश्यकतानुसार बेमौसमी सागसब्जीबेर्ना पुर्याउन सकिएको छैन ।’

टीकापुरमा केही महिलाले महिला कृषि सहकारी संस्था दर्ता गरेरै तरकारीको बेर्ना उत्पादन सुरु गरेका छन् । । किस्निनिया महिला कृषि सहकारी दर्ता गरेर तरकारीको बेर्नासहित महिलालाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको सहकारी संस्थाकी अध्यक्ष करिष्मा कठरिया बताउँछिन् ।

‘हामी अहिले एक सय एकजना महिला सहकारीमा आवद्ध भएर काम गरिरहेका छौँ । खासगरी महिलालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी स्थापना गरेका थियौँ’, उनले भनिन्, ‘त्यसैअनुसार तरकारीको बेर्ना उत्पादन सुरु गरेका छौँ भने अन्य कृषिसँग सम्बन्धित व्यावसायिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।’

टीकापुरमा हप्ताको पाँच दिन कृषि हाटबजार सञ्चालन हुँदै आएको छ । हरेक मंगलबार र शुक्रबार सागसब्जीका बेर्नासहित उत्पादन भएको कृषिउपज बिक्रीका लागि कृषि हाटबजार पुग्ने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?