+
+

पाल्पामा पहिलो पटक समलिंगी विवाह दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १६:३५

५ भदौ, पाल्पा । पाल्पामा पहिलो समलिंगी विवाह दर्ता भएको छ । रामपुर नगरपालिका वडा नं. ९ को कार्यालयमा पहिलो समलिंगी विवाहको दर्ता भएको हो ।

२०७८ साल असोज २९ गते विवाह भए पनि कानुनी व्यवस्था नभएका कारण पाल्पाका ३१ वर्षीय चिनाकुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीले विवाह दर्ता गर्न पाएका थिएनन् ।

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न आदेश दिएपछि देशका अरु ठाउँमा पनि समलिंगी विवाह दर्ता हुन थालेपछि उनीहरुले पनि दर्ता गरेका हुन् ।

पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योति सँगै बसोबास गर्दै आएका थिए ।

विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर –९ का वडा सचिव मोहम्मद युनुस खानले जानकारी दिए । पहिलो पटक दर्ता भएको हुँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको खानले बताए ।

विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । २०७८ सालमा पाल्पाको सिद्धबाबा मन्दिरमा गएर परम्परागत शैलीबाट विवाह गरेका उनीहरुले तीन वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुसी लागेको बताएका छन् ।

२०८० असार १२ गतेको सर्वोच्च अदालतको आदेशपछि  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो । सोही आधारमा उनीहरुको विवाह दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?