+
+

अस्थायी आवागमन सुरक्षित बनाउन पूर्वाधारमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १२:५४
फाइल तस्वीर

५ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा पुल निर्माणको अवस्थामा अस्थायी आवागमनका लागि बनाइएका संरचना सुरक्षित बनाउन निर्देशन दिएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिकाको निर्माणाधीन पुल छेउमा बनाइएको अस्थायी साँघुबाट दुई जना खसेको घटनाप्रति गम्भीर ध्यानाकर्षणसँगै उनले मातहत निकायलाई निर्देशन दिएका हुन् ।

घटनाबारे मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसँग जानकारी लिँदै मन्त्री दाहालले त्यस्ता स्थानको सुरक्षामा ध्यान दिन र सुरक्षित बनाउन निर्देशन दिए ।

छायाँनाथ रारा–१ स्थित गमगाड खोलामा हाल पक्की पुल निर्माणाधीन छ । सोही स्थानमा आवतजावत गर्न बनाइएको अस्थायी  साँघुबाट एक बच्चा र महिला खसेको घटनाबारे प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराएका थिए ।

त्यस घटना लगत्तै खसेकाको उद्धार गरिएको र उक्त स्थानको अस्थायी साँघुलाई सुरक्षित बनाउन नगरपालिकाका तर्फबाट समेत पहल भइरहेको केसीले जानकारी दिए ।

मन्त्री दाहालले अहिले वर्षायाम रहेको र देशका विभिन्न भागमा बाढी, डुबान तथा कटानको जोखिम रहेकाले मानवीय क्षति हुन नदिन अस्थायी संरचनालाई पनि सुरक्षित बनाउन निर्देशन दिए ।

तत्काल गर्नुपर्ने कामका लागि स्रोत साधन अभाव हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।

मंगलबार नै मन्त्री दाहालले मनोहरा खोलाका कारण डुबानमा पर्ने गरेको च्यासल क्षेत्रको निरीक्षण गरेका थिए । उक्त स्थानको समस्या समाधान गर्न प्राविधिक अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?