+
+

बेलायतको भिसा त्यागेका लालबहादुर किवी खेतीबाट सन्तुष्ट

रासस रासस
२०८१ भदौ ५ गते १७:२४

५ भदौ, म्याग्दी । किवी खेतीमा नलागेको भए बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुने थिए ।

२०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।

‘दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो’, उनले भने, ‘बेलायतको भिसा त्यागेर सुरु गरेको किवी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’

सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो २५० का दरले दश क्वीन्टल (एक हजार किलो) किवी बेचेका पुन यसपालि राम्रो फल लागेकाले उत्पादन र आम्दानी बढ्ने आशामा छन् ।

किवी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिएका छन् । बाख्रापालन पनि सहायक पेशाको रुपमा रहेको छ ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राविधिक तालिम, निशूल्क र अनुदानमा किवीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यवसायिक किवी खेती गरेका छन् ।

‘हावापानी र भूगोल अनुकुल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौं’, उनले भने, ‘किवी र सुन्तला खेती गरेकामध्ये धेरैजसो विदेशबाट फर्किएका युवाहरु छन् । ब्यवसायिक कृषिमा आवद्ध गराएर युवाहरुलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौं ।’

लछु पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्र्याएका थिए । अनुकुल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किवी खेती विस्तार गरेका छन् ।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताइन् । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ ।

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो ।

न्युजिल्याण्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ । निजी नर्सरीबाट तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

प्रति आठ वटा पोथी विरुवा बराबर एउटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म विरुवा लगाउन सकिन्छ ।

फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो । किवीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?