+
+

जाजरकोटका शिक्षक नेपालगञ्जबाट दुई सातादेखि बेपत्ता

रासस रासस
२०८१ भदौ ५ गते १७:०२

५ भदौ, कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज गएका उनका ज्वाइँ गोपी सिंहले जानकारी दिए ।

‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन’, सिंहले भने ।

गत साउन २६ गतेसम्म आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि उनका बाबु हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । छोरा हराएको खबर पाएपछि हंसबहादुर पनि नेपालगञ्ज पुगेका थिए । नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि उनीहरुले निवेदन दिएका छन् ।

नेपालगञ्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको बुबा हंसबहादुरले बताए ।

‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय रुपैयाँ पुगेपछि पछि तिरौंला भनेर फर्कियौं’, उनले भने ।

हंसबहादुरले छोराको खोजीका लागि प्रहरीलाई आग्रह गरेका छन् । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताइन् ।

‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौं’, उनले भने, ‘दुवैले यहाँ बस्दा खाएको १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?