+

आँखामा आनो किन आउँछ, बेवास्ता गरे कस्तो समस्या आउँछ ?

२०८१ भदौ  ५ गते १४:१३ २०८१ भदौ ५ गते १४:१३
आँखामा आनो किन आउँछ, बेवास्ता गरे कस्तो समस्या आउँछ ?

आँखामा परेलाको डिल सुन्नियो वा डल्लो देखियो भने धेरैले भन्छन्, ‘झुट बोल्ने बानीले गर्दा आँखामा आनो आयो ।’ कतिले त खिसिट्युरी पनि गर्छन् ।

अस्पताल आउनेहरूले पनि झुट बोलेर आउँछ हो भनेर प्रश्न गर्छन् । तर यो मात्र एक भ्रम हो ।

आँखाको डिलमा आउने डल्लोलाई आनो भनिन्छ । जुन झुट बोलेर नभई ‘स्टेफाइलोकोकस’ ब्याक्टेरियाको सङ्क्रमणले आउँछ । वास्तवमा आँखाको डिलमा विभिन्न प्रकारका आँसुका ग्रन्थीहरु हुन्छन् । ती ग्रन्थीहरु  बाह्य ब्याक्टेरियाले संक्रमण गरेमा डल्लो निस्किन्छ । यो अवस्थालाई आनो भन्ने गरिन्छ ।

आनो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ ।

बाहिरी आनो

आँखाको माथिपट्टि ५० वटा ग्रन्थी हुन्छ भने तलपट्टि २० वटा जति हुन्छन् । ती ग्रन्थीमाथि परेलाको जरा हुन्छ । सो जरामा संक्रमण भएपछि बाहिरबाटै डल्लो आउँछ भने त्यो बाहिरी आनो हो । ब्याक्टेरियल संक्रमणले जराबाट निस्किने ग्रन्थीको प्वाललाई बन्द गरिदिन्छ । जसकारण सानो फोका हुँदै डल्लोको रुप लिन्छ ।

भित्री आनो

आँखाको ढकनीको भित्री भागमा तेल उत्पादन हुने ग्रन्थी हुन्छ । सो ग्रन्थीमा संक्रमण भई अवरोध आएमा त्यसलाई भित्री आनो भनिन्छ । यो आनो आफूले छाम्दा वा अरुले हेर्दा देखिने र अप्ठ्यारो महसुस हुन्छ तर आँखा पाक्ने भने हुँदैन ।

के कस्ता कारणले संक्रमण हुनसक्छ ?

आँखाले देख्ने सतहमा आँखाले देख्न नसकिने कीटाणुहरू हु्नसक्छन् । ती कीटाणुहरूको सम्पर्कमा आउँदा हातले आँखा छुने, माड्ने र मिच्ने गरेमा संक्रमण आँखामा पुग्छ । जसकारण आनो आँउछ ।

त्यस्तै, आँखाको डिलमा फोहोर हुँदा वा आँखामा पहिला नै चायाको पत्र जस्तो पर्ने समस्या हुँदा पनि आँखा पाक्छ । मधुमेह भएका व्यक्तिमा पनि पटक-पटक आनो आउन सक्छ ।

को बढी जोखिममा ?

यो समस्याले सबैभन्दा बढी स्कुल जाने बालबालिका र युवा उमेर समूहलाई सताएको देखिन्छ । किनकि यो उमेर समूहका व्यक्ति वातावरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बढी आवतजावत गर्छन् । फोहोर हात आँखामा पर्ने र संक्रमण हुने सम्भावना बढी हुन्छ ।

यो समस्या कति सामान्य ?

धेरैजसो आनो आउने समस्यालाई सामान्य मान्न सकिन्छ । कतिपय उपचार नै नगरी डल्लोबाट पिप बगेर आफैं ठीक हुन्छ । यस्तोमा घरमै आनो आएको ठाउँमा तातो भात वा अण्डालाई सफा कपडाले बेरेर सेक्ने गरेमा त्यसबाट पिप निस्किएर आफैं निको हुन्छ ।

साथै आँखाको डिलको सरसफाइमा पनि ध्यान दिनुपर्छ । आनोको लागि आँखा नपोल्ने छुटै स्याम्पु पाइन्छ । सो स्याम्पु लगाएर बेलुकी लगाएर आँखाको डिल सफा गरेर सुत्ने हो भने निको हुन्छ ।

तर कतिपय अवस्थामा भने यसले असामान्य रुप लिन्छ । अर्थात् कहिलेकाहीं आनोबाट संक्रमण फैलिने डर हुन्छ । संक्रमण फैलिएर आँखाको वरपरको भाग सुन्निने, आँखा खोल्नै कठिन हुने,  त्यहाँबाट निस्किएको पिपले आँखा वरपर फैलियो भने तुरुन्त एन्टिबायोटिक औषधि चलाउनुपर्छ । नत्र जटिलता बढ्दै जान्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

आँखाको डिल वरपर रातो हुनु, डल्लो आउनु र सो घाउ दुख्ने सुरुवाती लक्षण हो । यो लक्षण हुँदै आँखाको सरसफाइमा ध्यान दिने र तातोले सेकेमा पनि निको नभए वा संक्रमण फैलिएमा डल्लोमा कुनै परिवर्तन आएन भने अस्पताल जानुपर्छ ।

पहिचान तथा उपचार

लक्षण हेरेर पनि यसको अनुमान लगाउन सकिन्छ । सुरुमा आनो सुकाउन एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ । त्यसले पनि नभएको खण्डमा सानो शल्यक्रिया गरी त्यहाँ जमेको पिप निकालिन्छ ।

बाहिरी आनोको शल्यक्रिया गर्दा छालाको भागबाट आँखाको डिल हुँदै चिरेर निकालिन्छ । भित्री आनोमा भने परेलाको भाग फर्काएर भित्रबाट छिरेर शल्यक्रिया हुन्छ ।

जटिलता

यदि कुनै किसिमको हेरचाह नै भएन भने सानो डल्लोबाट सुरु भएको आनो फैलिंदै जान सक्छ । जसले आँखाको पूरै भाग सुनिन्छ  । यस्तोमा आँखा झिम्किन र चलाइरहन कठिन हुनसक्छ । बिस्तारै आँखा हेर्न नसकिने अवस्थामा पुग्छ । यस्तो अवस्थामा पनि उपचार भएन भने आँखाको नसालाई खराब बनाई दृष्टिमा समस्या आउँछ ।

आनो एकपटक आएपछि आँखाको सरसफाइमा ध्यान नदिए पटक-पटक आइरहने सम्भावना हुन्छ । शल्यक्रिया गरिएको अवस्थामा पनि पछि पनि आउने सम्भावना हुन्छ ।

आँखामा आउने सबै डल्लो आनो हुँदैन

हामीमध्ये धेरैलाई आँखाको डिलमा जस्तो डल्लो आए पनि आनो भन्ने लाग्छ । तर केलेजियन भन्ने आँखाको डिलमा आउने डल्लो आनो होइन । यो कुनै कारणवश आँखालाई चिल्लो प्रदान गर्ने ग्रन्थीमा अवरोध वा बन्द हुँदा देखिन्छ । तर आनो जस्तै देखिन्छ । जुन संक्रमण विना आँखामा डल्लो भएर महिनौं बस्छ । यो समस्या भएमा तातोले सेक्ने र आँखाको सरसफाइमा ध्यान दिए हराएर जान सक्छ ।

रोकथामका उपाय

 – बाहिर गएर आएमा वा कुनै काम गरिसकेपछि हात धुने

– पटक-पटक हातले आँखा नमाड्ने, नछुने र नमिच्ने

– आँखाको सरसफाइमा ध्यान दिने

– धुलो, धुवाँ र फोहोरबाट आँखालाई बचाउने

– वृद्धावस्थामा मधुमेहको जाँच गराउने

– आँखालाई असर पर्नेगरी मेकअपका सामान प्रयोग नगर्ने

– कन्ट्याक्ट लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धोएर मात्र लगाउने ।

आँखा आँखामा आनो डा. समता शर्मा
डा. समता शर्मा
लेखक
डा. समता शर्मा
नेत्ररोग विशेषज्ञ

डा. शर्मा हाल भक्तपुर लोकन्थलीस्थित बीपी नेत्र प्रतिष्ठान (चियर्स अस्पताल) र ललितपुरस्थित ग्लोबल आई हस्पिटलमा कार्यरत छिन् । नेत्ररोगमा एमडी र पेडियार्टिक अप्थालमोलोजी तथा अकुप्लास्टिकमा फेलोसिप समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८६७१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय