+

पुरुषलाई पनि मेनोपज हुनसक्छ ?

२०८१ भदौ  ५ गते १६:४० २०८१ भदौ ५ गते १६:४०
पुरुषलाई पनि मेनोपज हुनसक्छ ?

धेरैलाई लाग्न सक्छ, मेनोपज महिलाको मात्र समस्या हो । महिलामात्र यो समस्याबाट गुज्रिन्छिन् ।
तर, पक्कै होइन, महिलामा जस्तै पुरुषमा पनि उमेर ढल्किएसँगै मेनोपजको अवस्थाबाट गुज्रिन्छन । जसलाई ‘एन्ड्रोपोज’ पनि भनिन्छ ।

तर, यो महिलामा हुने मेनोपज भन्दा केही फरक छ । के फरक छ, त ?

महिलामा ५० काटे पछि मेनोपज सुरु हुन्छ । यो अवस्थामा महिलामा हर्मोनल परिवर्तन हुने, योनी सुख्खा हुने, रजस्वला बन्द भई सन्तान जन्माउने क्षमता नहुने हुन्छ ।

तर, पुरुषमा हुने रजोनिवृति मेनोपोजमा हर्मोन त कमी हुन्छ । तर, सन्तान उत्पादनमा ह्रास आउने सम्भावना हुँदैन ।

४० वर्षको उमेरपछि पुरुषको वीर्य कमजोर हुनसक्ने सम्भावना भएपनि बुढ्यौली उमेरसम्म सन्तान जन्माउन सक्ने हुन्छन् । तर  मेनोपजका कारण उनीहरुको यौन जीवनमा समस्या आउन सक्छ । यस्तो समस्याको समयमै पहिचान भए उपचारपछि ठीक हुन्छ ।

तर नेपाली समाजमा यौन समस्याबारे खुलेर चर्चा हुँदैन । जसकारण समस्याको उपचार नगराउँदा यसको समाधान हुन पाउँदैन ।

मेनोपज कुन उमेरमा हुन्छ, जोखिम कारक तत्व के के हुन् ?

३० वर्षको उमेरपछि पुरुषमा टेस्टोस्टेरोन हर्मोन बिस्तारै कम हुन थाल्छ । सामान्यतया प्रत्येक वर्ष एक प्रतिशतले टेस्टोस्टेरोन हर्मोन घट्छ । ४५ वर्षको उमेरमा पुग्दा टेस्टोस्टेरोनको कमीले लक्षण देखिन थाल्छ । मेनोपज ५० देखि ६० वर्षको उमेरमा बढी देखिएको पाइन्छ । तर कसैको यो उमेर भन्दा चाँडै अर्थात् ३० वर्षको उमेरदेखि नै सुरु हुन पनि सक्छ । जुन व्यक्तिअनुसार फरक-फरक हुनसक्छ ।

तसर्थ, यस समयमा पुरुषहरूलाई मनोवैज्ञानिक ज्ञान होइन, मेनोपज नियन्त्रण गर्न विशेषज्ञहरूको सुझाव र परिवारको साथ चाहिन्छ ।

उमेर बाहेक अन्य कार

खराब जीवनशैली, अत्याधिक तनाव, मदिरा तथा धुम्रपान सेवन, डिप्रेसनको औषधि प्रयोग, मोटोपन भएमा पनि पुरुष रजोनिवृत्तिको जोखिम कारकको रुपमा लिइन्छ । यी तत्वले पनि टेस्टोस्टेरोन हर्मोनको स्तरलाई घटाइदिन्छन् ।

यौन क्षमतामा प्रभाव

मध्यम उमेर र पाको उमेरमा टेस्टोस्टेरोन उत्पादन र प्लाज्माको घनत्व घट्छ । टेस्टोस्टेरोनको घनत्वले पुरुषको यौन कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ, जुन करिब १० मिलिमिटरको हुन्छ । यद्यपि यो मानिसमा केही फरक हुनसक्छ । पुरुषको टेस्टोस्टेरोन स्तर ४० वर्षको उमेरपछि प्रत्येक वर्ष औसत १ प्रतिशतले घट्छ ।

यो अनुपात कम आउने बित्तिकै उनीहरुको यौन क्षमतामा प्रभाव आउँछ ।

मेनोपज कसरी थाहा पाउने ?

यौन रुचि नहुनु, यौन रुचि हुँदाहुँदै पनि यौन उत्तेजना नहुनु, सानो कुरामा पनि चिडचिडाहट हुनु, झनक्क रिसाउनु, निद्रामा समस्या, थकान, मांसपेशी गल्नु, स्मरण शक्ति पहिलाको जति बलियो नहुनु, शरीर तातेको जस्तो भएर पसिना आउनु,  कुनै कुरामा एकाग्रता नहुनु जस्ता लक्षण एकसाथ देखिन्छन् भने यो मेनोपजको कारण हुनसक्छ ।

कहिलेकाहीं टेस्टोस्टेरोन हर्मोनको उत्पादन कम भए पनि कुनै विशेष लक्षण नदेखाउन सक्छ । कतिपय केसमा माथि उल्लेखित लक्षण अन्य औषधिको साइड-इफेक्ट वा अन्य रोग हुनसक्छ । त्यसैले समस्याको गहिराइसम्म पुग्न परीक्षण नै मुख्य बाटो हो ।

पहिचान तथा उपचार

यी समस्या पाको उमेरले आउँछ । केही समयपछि आफैं हराउँछ भनेर चुप लागेर बस्नु हुँदैन । त्यसका लागि हर्मोन विशेषज्ञको परामर्श लिनु आवश्यक हु्न्छ । चिकित्सकले लक्षणलाई मध्यनजर गरी यसको पहिचानका लागि टेस्टोस्टेरोन हर्मोनको परीक्षण गर्न सक्छन् । सो हर्मोनको परीक्षण गर्दा न्यून देखिएमा मेनोपज भएको बुझिन्छ ।

यसको उपचारमा हर्मोनल रिप्लेसमेन्ट थेरापी गरिन्छ । जसमा शरीरमा आवश्यक हर्मोन बढाउने औषधि  दिइन्छ । कतिपय अवस्थामा भने हर्मोन बढाउने सुई पनि दिनुपर्ने हुन्छ ।

हर्मोनल थेरापीमा औषधि तीन महिनाको हुन्छ भने सुई दिने हो तीन तीन साता दिइन्छ । नेपालको सन्दर्भमा औषधि भन्दा बढी सुई लगाउने अभ्यास छ ।

यस्तो थेरापीले हर्मोन सन्तुलन गराई लक्षण कम गरी सामान्य अवस्थामा आउन मद्दत गर्छ । हर्मोनल थेरापीलाई प्रभावकारी बनाउन तौल सन्तुलनमा राख्ने, मदिरा र धुम्रपान गर्ने बानी त्याग्नुपर्छ ।

रोकथाम

एक निश्चित उमेरमा हुने यस्ता शारीरिक परिवर्तनलाई छेक्न सकिंदैन । तर समयमै दैनिकीलाई ध्यान दिएमा यो समस्यालाई कम गर्ने वा ढिला आउन सक्छ ।

त्यसका लागि स्वस्थ खानेकुरा खाने, मदिरा तथा धुम्रपान नगर्ने, तनाव नलिने वा तनावपूर्ण वातावरणमा नबस्ने, समयमा सुत्ने र शारीरिक व्यायाम गर्ने जस्ता बानीले धेरै हदसम्म हर्मोनल सन्तुलनमा राख्न मद्दत गर्छ । यी बानीले समग्र स्वास्थ्यमा फाइदा गर्छ ।

डा. रुपक भारी मेनोपज
डा. रुपक भारी
लेखक
डा. रुपक भारी
हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ

डा. भारी ललितपुरको कुपण्डोलको आरुष लाइफ स्टाइल अस्पतालका सञ्चालक समेत हुन् । उनको नेपाल मेडिकल दर्ता नम्बर ५१८१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?