+
+

अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:५५

५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहत निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफलमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।

‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफोनो गर्नुस्,’ मन्त्री पाण्डेले भने ।

असोजभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमबारे अनिवार्य जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज आउनुअघि नै योजना कार्यान्वयनका लागि के–के गर्छौं ? गर्न सक्ने कार्यक्रम के–के हुन् ? गर्न नसक्ने काम के–के हुन् ? यस सन्दर्भमा अनिवार्य गृहकार्य गर्दै अघि बढ्नू ।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न निर्देशन दिए ।  त्यस्तै उनले नीतिगत सुधारका लागि पनि मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने बताए ।

कर्मचारीले इमान्दारी पूर्वक व्यावसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य नतिजा दिने गरी काम गर्न आग्रह गरे ।

त्यसैगरी कानुन निर्माणमा भइरहेको प्रगतिप्रति इंगित गर्दै मन्त्री पाण्डेले तीन दिनभित्र अन्तर मन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वस्त पारेको बताए ।

मन्त्री पाण्डेले गर्नुपर्ने कामको प्राथमिकीकरण, नीति सूचीकरण, कानुन निर्माण प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ–कहाँ त्रुटि छ, त्यसबारे संवेदनशील भएर अघि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?