+

अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

२०८१ भदौ  ६ गते ७:५५ २०८१ भदौ ६ गते ७:५५
अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

प्रसंग १

६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो ।

तीन महिनाअघि उक्त बालकको सोही अस्पतालमा अपेन्डीसाइटिसको शल्यक्रिया गरिएको थियो । सात दिनसम्म अस्पतालमा उपचार गरेर डिस्चार्ज गरिएको थियो । करिब तीन महिनापछि अचानक बालकको स्वास्थ्य अवस्था बिग्रिएपछि सो अस्पताल लगिएकोमा अन्य कारण भएको भनी अर्को अस्पतालमा रिफर गरेका थिए ।

बालकको अर्कै अस्पतालमा उपचारको क्रममा केही घण्टापछि मृत्यु भएको थियो । शल्यक्रिया गर्दा लापरवाही गरेका कारण मृत्यु भएको भन्दै मृतक बालकका आफन्तले अस्पताल परिसरमा तोडफोड र प्रदर्शन गरेका हुन् । (समाचारमा प्रकाशित घटनाका सम्पादित अंश)

प्रसंग २

‘जनताको करबाट तलब खाने अनि समय अन्तै दिने ?’ भन्दै एउटा युट्युबले अस्पतालको भिडियो बनाउँछ । बहिरंग विभागलाई पृष्ठभूमि बनाएर उनले भिडियोमा १२ बजेसम्म पनि चिकित्सक नआएको उक्त भिडियोमा देखाइन्छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भिडियोमा धेरैले चिकित्सकलाई गाली गरेका छन् ।

****

यी दुई फरक प्रसंग हुन् । तर यसको केन्द्रमा एउटै कुरा छ, डाक्टरप्रतिको आक्रोश । मानौं डाक्टर भनेका कुनै मान्छे होइनन् । उनीहरुसँग भावना हुन्न, उनीहरुको परिवार हुन्न, उनीहरुलाई दुख्दैन, उनीहरुलाई बिझाउँदैन । उनीहरुको मन विरक्तिदैन ।

जबकि वास्तविकता फरक छ ।

डाक्टरको काम ‘६ घण्टे ड्युटी’ हुँदैन । हप्ताको ४२ घण्टा काम गरेर उनीहरुले विश्राम वा आराम पाउँदैनन् । घडीको काँटा हेरेर होइन, बिरामीको अवस्था हेरेर उनीहरुले आफूलाई खटाउनुपर्ने हुन्छ । जस्तो, कुनै शल्यक्रिया सुरु गरेपछि ४-५ घण्टादेखि १०-१२ घण्टासम्म पनि लाग्नसक्छ । त्यसबेला ‘मेरो त समय सकियो’ भनेर हिंड्न मिल्दैन ।

कहिले दिनभर काम गरेर राति घर पुगेका हुन्छौं । शरीर थाकेको हुन्छ, भोक लागेको हुन्छ, निद्रा लागेको हुन्छ । आकस्मिक नम्बरबाट फोन आउन सक्छ, ‘यस्तो बिरामी आएको छ तुरुन्त अस्पताल आउनुपर्ने भयो ।’

त्यस क्षण हत्तपत्त अस्पताल जानुपर्ने हुन्छ । रातभर उपचारमा खटिनुपर्ने हुन्छ । न रात भन्न पाइन्छ, न दिन । न अनिंदो भन्न पाइयो, न भोको ।

डा. बालकृष्ण साह

कहिलेकाहीं ओपीडीमा काम गरिरहेका हुन्छौं । अघिल्लो रात शल्यक्रिया गरेको बिरामीको अवस्था खराब भएको खबर आउँछ । यस्तो स्थितिमा ओपीडी छाडेर हिंड्नुपर्छ । यस्ता अनेक जटिलता र बाध्यता हुन्छन् । बाहिरबाट देखेजस्तो हुँदैन, डाक्टरको जिन्दगी ।

तर सबैले यस्तो कुरा बुझ्दैनन् । त्यसमाथि अहिले ‘भाइरल’को जमाना छ । मान्छेलाई के कुराले उत्तेजित बनाउँछ ? मान्छे के कुरामा बढी केन्द्रित हुन्छन् ? के कुरामा बढी गाली गर्छन् ? भाइरल हुनेहरु त्यसैको खोजीमा हुन्छन् । अनि अस्पताल पनि उनीहरुका लागि यस्तै ठाउँ बन्छ, जहाँ ‘भाइरल’ बन्ने निहुँ भेटियोस् ।

कुनै पनि पेशाको प्रकृति वा अवस्थाबारे आधारभूत ज्ञान समेत नभएका तिनीहरु हातमा एउटा क्यामेरा र बुम बोकेर उफ्री-उफ्री भनिरहेका हुन्छन्, ‘खै त १२ बजे पनि डाक्टर आएका छैनन् । जनताको करले तलब खाएको डाकटरले गरिब जनताको स्वास्थ्यसँग खेलबाड गरे ।’

सोझासाझा सर्वसाधारणले यो अवस्था र घटनाको अन्तर्य बुझ्न सक्दैनन् । सामाजिक सञ्जालमा आएको कुरा ‘होला नि त’ भनी आँखा चिम्लेर पत्याइदिन्छन् । अनि मुख छाडेर गाली गर्न थाल्छन् । यसरी गाली गर्छन् कि, डाक्टरको कुनै इमान हुँदैन । उनको कुनै घरपरिवार हुँदैन । उनीहरुलाई जे भनेपनि चुपचाप सहनुपर्छ ।

पछिल्लो केही समयको तथ्यांक हेर्ने हो भने डाक्टरहरुले अस्पताल छाड्ने वा देशै छाड्ने क्रम बढ्दो देखिन्छ । यसको एउटा जड पेशागत असुरक्षा र अपमान नै हो ।

यसै त हाम्रो मुलुकमा डाक्टरको संख्या नै कम छ । जनसंख्याको अनुपातमा डाक्टरहरु एकदमै कम छन् । त्यसैले बिरामीले ठूलो उपचार वा शल्यक्रियाका लागि धेरै समय कुर्नुपर्ने बाध्यता छ । मुख्य सहर बाहिर वा गाउँसम्म डाक्टर पाउनु दुर्लभ हो ।

नेपालमा चिकित्सकको संख्या ४५ हजार ४९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो । जसअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८८३ दन्त चिकित्सक र १० हजार ५८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । तर यी दर्ता भएका सबै चिकित्सकहरु नेपालमा नै सेवा दिइरहेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल चिकित्सकको दरबन्दी सबै तहमा गरेर १ हजार ९१६ रहेको छ । यो दरबन्दी पनि संघीय संरचना अनुसार प्रदेशहरुले लोक सेवा खुलाएपछि बढेको हो । केही वर्षअघिसम्म नेपालमा चिकित्सकको दरबन्दी मुस्किलले एक हजार १०० मात्र थियो ।

यस बाहेक ठूलो संख्यामा डाक्टरहरु नेपालकै मेडिकल कलेजहरु तथा निजी अस्पतालहरुमा कार्यरत छन् भने अर्को ठूलो संख्यामा डाक्टरहरु विदेशिएका छन् । अर्थात् यो जनसंख्यालाई धान्ने संख्यामा नेपालमा डाक्टर छैनन्, भएपनि केन्द्रमा र केही सहरमा छन्, सबैतिर छैनन् ।

यस अवस्थामा पनि तर पनि हामीले विशेषज्ञ डाक्टरलाई भेट्न हप्तौं अगाडि ‘एपोइन्टमेन्ट’ लिनु परेको छैन । हामी कहाँ डाक्टर भेट्न लाइन हुँदैन भन्ने त छैन । लामो लाइन हुन्छ तर सकाइन्छ । एउटा बिरामीले एकै दिनमा ओपीडी (बहिरंग विभाग)मा आएका बिरामीले रिपोर्ट देखाउन सकिएन भने पनि समाचार बन्छ । जबकि युरोप, अमेरिकामा सो रिपोर्ट देखाउन अर्को ‘डेट’ लिनुपर्छ ।

अमेरिका गएर नेपालका डाक्टरले एक दिनमा १००-२०० सय बिरामीलाई ओपीडीमा हेर्छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर यहाँ जति लामो लाइन भएपनि सक्नुपर्छ । हाम्रो बाध्यता छ । अनि ठूलो संख्यामा बिरामी हेर्दा, एउटा बिमारीले कति समय पाउँछन् होला ? २–३ मिनेट हेरेर, कसरी गुणस्तरीय सेवा दिन सक्छ ? कल्पना गर्न सकिन्छ ।

डाक्टरले ओपीडी मात्र हेर्नुपर्ने हुँदैन । भर्ना भएका बिरामीहरुलाई पनि हेर्नुपर्छ, शल्यचिकित्सकहरुले शल्यक्रिया पनि गर्नुपर्छ । भर्ना भएका अनि अप्रेसन गरेका बिरामीहरुको प्रगति मूल्यांकन गर्ने, रिपोर्ट अध्ययन गर्ने काम भइरहेको हुन्छ । शरीर चिया पसल, घरमा भएपनि दिमागमा आफ्नो नाममा भर्ना भएका, आफूले अप्रेसन गरेका बिरामीहरुको अवस्थामा रुमलिईरहेका हुन्छ । यसरी काम गरिरहेका चिकित्सकहरुको उपचार असफल हुँदा पनि समाचार के बन्छ ? ‘डाक्टरको लापरवाहीले मृत्यु’ लापरवाहीको अध्ययन र अनुसन्धान हुनु अगावै मान्छेको ज्यानसँग खेलबाड गर्ने ज्यानमारा डाक्टर बन्न पुग्छ ।

हरेक मृत्युपछि मृत्युको कारण खोज्न अनुसन्धान हुँदैन, सेटलमेन्टको बार्गेनिङ सुरु हुन्छ । मृत्यु स्वाभाविक थियो या कुनै त्रुटि ? अध्ययन गरिंदैन । जुन आवश्यक हो । त्रुटि पत्ता लगाएर सजाय दिने भन्दा पनि सोही त्रुटि फेरि नदोहरिन पनि हो ।

त्रुटि डाक्टरमा मात्रै हुन्छ भन्ने छैन उपचारसँग सम्बधित नर्सले दिन नसकेको केयर, काम नगर्ने औषधि, गलत रिपोर्ट, अस्पताल प्रशासनको अव्यावहारिक दबाब र आवश्यक सामग्रीको व्यवस्थापनमा कमी, समयमा अस्पताल नल्याउने अभिभावक, भौगलिक दूरी, साधनको कमी जस्ता अनेकौं हुनसक्छ र कुनै पनि त्रुटि नभई उपचार नै सम्भव नभएको अवस्था पनि हुनसक्छ । तर अहिले सबैको दोष डाक्टरलाई दिने संस्कार सुरु भएको छ ।

हो, समय परिवर्तित छ । स्वास्थ्य हाम्रो मौलिक अधिकार पनि हो । अब डाक्टर भेट्ने भन्ने बित्तिकै कुन समस्याका लागि कुन विशेषज्ञसँग भन्ने आउँछ । अर्थात् सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुसँग परीक्षण गर्ने चाहना हुन्छ ।

फिजिसियनमा पनि मुटुका (कार्डियोलोजिस्ट), फोक्सोका (पल्मोलोजिस्ट), पेटका (ग्यास्ट्रोलोजिस्ट), हर्मोन तथा मेटाबोलिजम, मधुमेहका (इन्डोक्राइनोलोजिस्ट), मिर्गौलाका (नेफ्रोलोजिस्ट) आदि । सर्जन पनि मिर्गौला तथा मूत्रनली (युरोलोजिस्ट), टाउकोको (न्युरोसर्जन) क्यान्सरका (अनकोसर्जन) आदि सुपर स्पेस्यिलाइज्ड डाक्टरसँग चाहना हुन्छ । सायद यो स्वभाविक नै होला । तर यसका लागि ती डाक्टरहरु नेपालमा टिकाउन समाज र राष्ट्रले अवसर दिएका छन् त ? सोच्नुपर्ने अवस्था आएको छ ।

हाम्रो सन्तुष्टिको आधार के हो ? राम्रो कमाइ होस्, शान्तिले बस्न पाउँ, समाजमा मान प्रतिष्ठा होस् । सायद यिनै हुनुपर्छ । डाक्टरको चाहना यो भन्दा फरक छैन होला । र, यो सबैको आधार नै सुरक्षा हो । आर्थिक सुरक्षा र समाजिक सुरक्षा । यो देशमा डाक्टर कति सुरक्षित छन् ? सबैलाई थाहा भएकै हो । देशभरिकै आकलन गर्ने हो भने शायद नै कुनै दिन होला, जुन दिन कहींकतै डाक्टरमाथि दुर्व्यवहार नहोस् । र, हप्ता दिन नबित्दै डाक्टर कुटिएको समाचार प्रकाशन हुन्छ । बिरामीका आफन्तलाई आफ्नो बिरामीको उपचारमा गल्ती भयो भने कहाँ उजुरी गर्नुपर्छ थाहा छैन ।

डाक्टरलाई कुट्नु नै उपयुक्त हो जस्तो लाग्छ । अनि लापरवाही, गल्ती प्रमाणित पनि हुनु पर्दैन, डाक्टरका लापरवाहीले मृत्यु भनेर प्रकाशित हुन्छ समाचारहरु । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६’ लाई अध्यादेश मार्फत २०७९ वैशाख २५ मा संशोधित गरिएको छ ।

सो ऐनको दफा ३ मा स्वास्थ्य संस्था आगजनी गर्न, तोडफोड वा अन्य हानि-नोक्सानी गर्न, कर्मचारीलाई कुटपिट गर्न, शारीरिक चोट पुर्‍याउन, हातपात गालीगलौच, धम्की वा अभद्र अपमानजनक व्यवहार गर्न, स्पष्ट व्यवस्था गरिएको छ ।

सो ऐनको दफा १५ मा सो कसुर गरेको अवस्थामा मुनासिब क्षतिपूर्तिका साथै एक वर्षदेखि तीन वर्षसम्म जेल, एक लाखदेखि पाँच लाख जरिवाना समेत हुने व्यवस्था छ । र, सबैभन्दा महत्वपूर्ण कुरा ऐनको दफा १३ मा दफा १५ को कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब देखिएमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिने भनिएको छ । अर्थात् तोडफोड वा कुटपिट भएको अवस्थामा अभियुक्त सोझै थुनामा जानुपर्ने व्यवस्था छ । तर कार्यान्वयन कति छ ? सबैले देखेका छन् ।

नेपाल सरकारको ४५ हजारको तलब स्केल, अनि निजी अस्पतालमा भूगोल र कामका आधारमा केही थपघट स्केल रहेको छ । कम्तीमा सात वर्षको कडा अध्ययनपछि भएको डाक्टरले यो तलब अनि त्यसमा पनि कर तिरेर पाएको रकम (दैनिक करिब १२ सय) ले डाक्टरलाई लुटेरा भन्न समाजलाई अप्ठयारो लाग्दैन । तर त्यही समाजले डाक्टरको घरमा ६ घण्टा काम गरेको मजदुरलाई कम्तीमा ७५० र कुनै टेक्निसियन खटाउनु परे दुई हजार पनि दिनुपर्ने सुझाउँछ ।

होलान् मुट्ठीभर डाक्टरले धेरै कमाउने, तर त्यसकै आधारमा सबै डाक्टरले धेरै कमाउँछन् भन्नु र लुटेरा भन्नु कति जायज होला ? निजी अस्पतालमा बिरामीले तिरेका सबै पैसा डाक्टरको होला भनी सोचाइ होला । तर त्यो त होइन ।

न सुरक्षा, न कमाइ, न त समाजिक सम्मान नै । अनि किन नहुन् डाक्टर पलायन ? केही डाक्टर, धेरै नर्स पलायन भइसके । अब पनि सरकार र राष्ट्रले यसप्रति जिम्मेवार नभए भविष्यमा स्वास्थ्य संकट नआउला भन्न सकिंदैन ।

(डा. साह नेपाल चिकित्सक संघ कोशीका महासचिव समेत हुन् ।)

चिकित्सा क्षेत्र डाक्टर
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

घुँडा दुखाइको उपचार के छ ?

घुँडा दुखाइको उपचार के छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

कस्तो व्यक्तिलाई हड्डी क्यान्सर हुने जोखिम हुन्छ ?

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?