+
+

नागढुंगाकै पहिरो हटाउन ७ घण्टा

नागढुंगा चेकपोस्टदेखि केही पर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोका कारण सयौं सर्वसाधारण, पशुचौपाया र विभिन्न सामानहरु दिनभर रोकिए । बुधबार बिहान ११ बजे खसेको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा खुलाउन ७ घण्टा लागेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ ५ गते १९:४३

५ भदौ, काठमाडौं । राजधानी उपत्यका भित्रिने र बाहिरिने प्रमुख नाका नागढुंगा बुधबार दिउँसो ७ घण्टासम्म बन्द भयो । नागढुंगा चेकपोस्टदेखि केही पर काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरोका कारण सयौं सर्वसाधारण, पशुचौपाया र विभिन्न सामानहरु दिनभर रोकिए ।

बुधबार बिहान ११ बजे खसेको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा खुलाउन ७ घण्टा लागेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।

अहिले फिल्डमा प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर हेम थपलियाको कमाण्डमा प्रहरीको टोली परिचालन भएको छ । करिब ३ मिटरसम्म पर पहिरो गएको थियो । पहिरो पन्छाउन ११ बजेबाटै सुरु गरिए पनि निरन्तर खसिरहेकाले धेरै समय लागेको इन्सपेक्टर थपलियाले बताए ।

पहिरो पन्छाउन नागढुंगा सुरुङ आयोजना, चन्द्रागिरि नगरपालिका र सडक विभागबाट जेसीबी मगाएर काम गरिएको थियो । अहिले नगरपालिका र सडक विभागको जेसीबी फिर्ता पठाइएको छ । सुरुङ आयोजनाका दुई जेसीबीले काम गरिरहेका छन् ।

बाटो अवरूद्ध भएपछि दुईतर्फी नै सवारी साधन रोकिएका थिए । अहिले एकतर्फ बाटो खुलेकाले पालैपाले सवारी पास गराइएको उनले बताए ।

७ घण्टासम्म सडकमै

बिहानै ११ बजेदेखि पहिरो गएकाले ७ घण्टासम्म यात्रु सडकमै अलपत्र परेका छन् । निरन्तर ठूलो पहिरो गएकाले प्रहरीले अगाडिको चेक पोस्टहरुलाई समेत यसबारेको सूचना सर्कुलेसन गरेको थियो ।

गाडी एकै पटक छाड्दा लामो जाम हुने भएकाले ठाउँ ठाउँमा रोक्न लगाइएको छ । इन्सपेक्टर थपलियाले खाजा नास्ता खाने होटलहरु नजिक तथा पहिरो जान नसक्ने ठाउँ ठाउँमा गाडीहरुलाई ब्लक गरिएकाले एकै पटक लामो जाम भने हुन नपाएको बताए ।

‘पहिरो हटाउन तत्काल सम्भव नदेखिने भएपछि राजमार्गका ट्राफिक तथा प्रहरीलाई खबर गरेर गाडी ब्लक गर्न हामीले भनेका थियौं । त्यसकारण लामो जाम हुन पाएको छैन । नत्र भने लामो जाम हुनेथियो । बिहानै खबर सर्कुलेसन भएकाले नजिकका ठाउँहरुबाट राजधानी प्रवेश गर्ने गाडीहरुलाई समेत सूचना नआई नहिंड्ने भनेका थियौं’, इन्सपेक्टर थपलियाले अनलाइनखबरसँग भने ।

तर ११ बजे आसपास नै नागढुंगा प्रवेश गर्न लागेका गाडी भने ७ घण्टासम्म सडक जाममै परेका थिए । पहिरो आसपास रहेका साना गाडीलाई भने इलाका प्रहरी कार्यालय खानीखोलाको समन्वयमा धार्केबाट सीतालाइला निस्कने सडकबाट पठाइएको उनले बताए ।

यता काठमाडौंबाट छुट्ने गाडीलाई भने छुट्ने ठाउँमै रोकिएको प्रहरीले जनाएको छ । जसकारण अहिले काठमाडौंबाट बाहिरिने भन्दा पनि काठमाडौं भित्रने गाडी अत्यधिक रहेको प्रहरीले जनाएको छ ।

पहिरो अझै बग्ने क्रम जारी छ

पहिरो निरन्तर खसेकाले तत्कालै पहिरो पन्छाउन जेसीबी समेत पठाउने अवस्था थिएन । पहिरोको अवस्था हेरेर जेसीबीले काम गर्दै अहिले एकतर्फ बाटो खुले पनि पहिरो भने झर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

‘अहिले पनि पहिरो झर्ने क्रम जारी छ । जुनसुकै बेला बाटो अवरुद्ध हुनसक्छ । त्यसकारण अत्यावश्यक काम विना यात्रा नगर्न अनुरोध गरेका छौं’, इन्सपेक्टर थपलियाले भने ।

पहिरो निरन्तर जाने सम्भावना रहेकाले रातिको अवस्थालाई समेत मध्यनजर गरेर सुरक्षा मिलाइएको उनले बताए । पहिरो पन्छाउन नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो ।

तस्वीरहरू: रोसन दानी क्षेत्री

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?