+

दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुअघि पूर्वाधार सुनिश्चित गर्न माग

२०८१ भदौ  ५ गते २०:४२ २०८१ भदौ ५ गते २०:४२
दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुअघि पूर्वाधार सुनिश्चित गर्न माग

५ भदौ, सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार सुनिश्चित गरेर मात्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधवार प्रतियोगिताबारे वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा नगर्न आग्रह गरेका हुन् । उनले पूर्वाधारका काम समयमै सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै प्रतियोगिताको मिति घोषणा गर्दा उपयुक्त हुने बताए ।

कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १२ हुने भन्दै एक सय दिनको काउन्डाउन नै सुरु गरिएको छ । तर मुख्यमन्त्री कँडेलले भने यति दिन भनेर काउनडाउन नगर्न समेत कर्णाली खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

‘अहिले मिति तोक्ने पछि यो भएन र ऊ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल हुन्छौँ,’ मुख्यमन्त्री कँडेलले भने, ‘हामी प्रतियोगिताका लागि आतुर छौँ । तर, अहिले भइरहेका पूर्वाधार समयमै सम्पन्न हुने सुनिश्चितता भएपछि मात्रै मिति तोकौँ ।’

कर्णाली प्रदेशले भौतिक पूर्वाधारमा उल्लेख्य लगानी गरिसकेको बताउँदै मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो प्रयास रहने बताए ।

यस अघिका राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा संघीय र प्रदेश सरकारबिच जिम्मेवारीको विषयमा कतिपय अन्योल रहेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले यस पटक  त्यसो हुन नदिन पहिले नै प्रतियोगिताको जिम्मेवारी बाँडफाँडमा  समेत प्रस्ट हुनुपर्ने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्री चौधरीले भने कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको भौतिक प्रगतिको काम प्रशंसा योग्य भएको बताए ।

उनले भौतिक पूर्वाधार सुनिश्चित भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने समेत धारणा राखेका थिए । प्रतियोगिताको कामको जिम्मेवारीको सन्दर्भमा मन्त्रालयले केही दिनभित्रै निर्देशिका बनाउने मन्त्री चौधरीले बताए ।

अहिलेसम्म भौतिक निर्माणमा कर्णाली प्रदेश सरकारलाई रकम उपलब्ध गराउन नसकेको बताउँदै मन्त्री चौधरीले आफूले त्यसतर्फ संघीय सरकारको ध्यानाकर्षण गराउने बताए ।

खेलकुद पुर्वाधार दशौँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय