+
+

वर्षाको सम्भावना शनिबारसम्मै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ७:०६

६ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।

दुई दिन अघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ ।

बुधबार राति सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोक नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट जलमापन केन्द्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको थियो । कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन् ।

यस्तो छ तीन दिनको पूर्वानुमान

विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज भदौ ६ गते दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

भदौ ७ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

भदौ ८ गते पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?