+
+
पीडाबाट प्रेरणा :

एसिड आक्रमणपछि जेनी : ‘साँचो सुन्दरता त मनभित्रबाट आउँछ’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ भदौ ६ गते ७:२९

६ भदौ, काठमाडौं । त्यो साँझ ! कार्यालयबाट कोठामा पुगेर आरामले सास फेर्न पनि पाएकी थिइनन्, जेनी खड्काले । मोबाइलमा घण्टी बज्यो । उठाउने जाँगर थिएन, उनले वास्ता गरिनन् । तर, फोनको घण्टी निरन्तरजसो बजिरह्यो ।

केही समय बित्न नपाउँदै अचानक ‘ड्वाङ्ग’ आवाज सहित ढोका उघ्रियो । ढोकामा उभिएको व्यक्ति देख्दा उनको मुटुको चाल तीव्र भयो । त्यहाँ उनका श्रीमान् थिए, जोसँग उनी छुट्टिएर बस्न थालेकी थिइन् ।

कालोपुलस्थित त्यो डेरामा श्रीमान्सँग उनको भनाभन भयो । विवाद बढ्दै गएपछि उनीहरू दुवै कालोपुल करिडोर सडकतर्फ लागे । मदिराले लट्ठ श्रीमान्ले उनलाई चेतावनी दिंदै सोधे, ‘तँ फर्किएर आउँछेस् कि नाइँ ?’

जेनी उनको आनीबानी र व्यवहारदेखि हारिसकेकी थिइन् । उनले सोझै अस्वीकार गर्दै भनिन्, ‘अहँ, जान्नँ !’

श्रीमान्को हातमा बोत्तल थियो । बोत्तल देखाउँदै उनले सोधे, ‘यो के हो थाहा छ ?’ जेनीले ठानिन्, त्यो मदिराको बोत्तल हो । किनभने श्रीमान् अक्सर मदिरा पिइरहेका हुन्थे ।

उनी यसो एकातिर फर्किएकी थिइन्, हठात् उनको घाँटी चिसो तरल पदार्थले भिज्यो । त्यो एसिड थियो । र, त्यसका वाछिटा हात र शरीरका अरू भागमा पर्‍यो । यो अप्रत्यासित प्रहारले उनमा सन्नाटा छायो । केही सोच्नै सकिनन्, ‘मलाई यो के भयो ?’

जसै असह्य जलन महसुस भयो, उनी आत्तिइन् । चिच्याइन् । जोड जोडले रोइन् ।

श्रीमान् त्यहाँबाट भागे । सडकमा चहलपहल चलिरहेको थियो । पीडाले  भत्भती पोल्न थालिसकेको थियो । तर हारगुहार सुनिदिने कोही भएन ।

भाग्यवश, एक महिला स्कुटरमा त्यही बाटो हुँदै गइरहेकी थिइन् । उनले जेनीलाई ट्याक्सीमा राखेर तत्काल ओम अस्पताल पुर्‍याइन्। त्यतिबेला उनी बेहोश जस्तै भइसकेकी थिइन् । प्राथमिक उपचारपछि थप उपचारका लागि त्यसै रात कीर्तिपुर अस्पतालमा रेफर गरियो ।

२०७६ जेठ १ मा काठमाडौंको बीच सडकमा भएको त्यो घटनाले जेनीको जीवनमा अप्रत्यासित मोड लियो ।

मर्न बरु गाह्रो हुन्न

श्रीमान्द्वारा भएको एसिड आक्रमणले उनको शरीर र मनमा गहिरो घाउ बनायो । दुई महिनाको लामो अस्पताल बसाइले उनलाई शारीरिक र मानसिक रूपमा विक्षिप्त बनिन् । करिब उनको २५ प्रतिशत शरीरको भाग जलेको थियो । त्योभन्दा पनि ठूलो पीडा उनको मनमा रोपिएको थियो– समाजलाई कसरी सामना गर्ने ?

जेनीको मनमा विभिन्न प्रश्नहरू उठ्थे । ‘जलेको पीडा एकातिर थियो । तर शरीरमा भएको दागले ठूलो पीडा थपिदिएको थियो’ विगतका ती दिनलाई सम्झिंदै जेनी भन्छिन्, ‘अस्पतालबाट निस्किएपछि समाजलाई कसरी फेस गर्ने भन्ने मनमा डर थियो ।’

उनी सोच्थिन्, ‘आगलागी, करेन्ट वा तातोपानीले आफैं पोलेको थिएन । मलाई त श्रीमान्बाटै एसिड छ्यापिएको थियो ।’

यो कुराले उनलाई रातभर निद्रा लाग्दैनथ्यो । अस्पतालमा श्रीमान्–श्रीमतीकै झगडाबाट निम्त्याएको हो भन्दै हल्ला फैलिन थाल्यो । यस्तो अवस्थामा समाजलाई सामना गर्न नसक्ने डर झनै बढ्यो । जेनीको मनमा आत्महत्याको विचारसम्म आयो । ‘बरु मर्न पाए नै हुन्थ्यो’, उनी सोच्थिन् ।

केही समयपछि जिल्ला अदालतले श्रीमान्लाई ३ वर्ष जेल सजाय सुनायो । अहिले उनीहरूको सम्बन्धविच्छेद भइसकेको छ । शरीरको घाउ नपुरिए पनि मनको घाउ विस्तारै पुरिंदैछ । तिनै जेनी आज जलनमा परेका बिरामीलाई साहस र आत्मविश्वास बढाउन तल्लीन छिन् ।

पीडामा परोपकार

कीर्तिपुर अस्पतालको जलन वार्डको एक कुनामा २४ वर्षीया रेणु परियार पीडामा छट्पटाइरहेकी थिइन् । देब्रे हातमा सेतो कपडाले ब्यान्डेज गरिएको छ । अनुहारको आधाभन्दा बढी भाग जलेको छ । जलन वार्डमा प्रवेश गर्छिन्- जेनी खड्का ।

ड्युटीमा रहेका नर्सलाई सोध्छिन्, ‘आज कुनै नयाँ बिरामी हुनुहुन्छ ।’

नर्सले बिरामीको फाइल देखाउँछन् । उनी सरासर ती बिरामी भएतिर लाग्छिन् । परियार सकी–नसकी उठ्ने प्रयास गर्छिन् ।

जेनीले मन्द मुस्कानमा सोध्छिन्, ‘खाना खानुभयो ।’

जलेको पीडाले केही खान नसकेको भन्दै बिहान थोरै सुप आएको बताउँछिन् ।

यसो भन्दै गर्दा परियारको नजर जेनीको घाँटीमा पर्छ । उनी सोध्छिन्, ‘तपाईंको घाँटीमा के भएको हो ?’

जेनीले सहज उत्तर दिन्छिन्, ‘मलाई पनि एसिडले पोलेको हो । अहिले म यही अस्पतालमा काम गर्छु ।’

रेणु छारेरोगको बिरामी थिइन् । २८ असारमा ग्याँस बालेर अण्डा पकाइरहेका बेला एक्कासी बेहोश हुँदा रेणुको अनुहार कराहीमा घोप्टिएको थियो । त्यतिबेलै तरकारी राख्ने प्लास्टिकको डाली झरेर त्यसमा ग्याँस सल्किएको र बायाँ हात जलेको थियो ।

जेनीले केही बेर उनलाई काउन्सिलिङ गर्दै गर्दा परियारका आँखाभरी आँशु भरिए ।

‘हजुरले केही सहयोग गर्न सक्नुहुन्छ ? यहाँसम्म पनि चन्दा मागेर आएकी हुँ’ परियारले मलिनस्वरमा भनिन्, ‘अब कसरी उपचार गर्ने थाहा छैन !’

त्यतिबेला उनका श्रीमान् औषधि लिन फार्मेसीतिर गएका थिए । बेडको छेउमा टुलमा रेणुकी आमा बसेकी थिइन् । जेनीले नआत्तिन, आर्थिक स्रोत जुटाउने आश्वासन दिंदै अर्को बिरामीलाई उसैगरी काउन्सिलिङ गर्न थाल्छिन् ।

उनले आफ्नो अनुभव सुनाउँदै अरू पीडितहरूलाई साहस बटुल्ने मद्दत पुर्‍याउँछिन् ।

०००

काठमाडौंको एक कुनामा रहेको कीर्तिपुर अस्पतालमा दैनिक जसो शरीर जलेका बिरामी आइपुग्छन् । अस्पताल आउने धेरैजसो बिरामीको मनमा एउटै प्रश्न हुन्छ– ‘अब म बाहिरी दुनियाँमा कसरी निस्किने ? मानिसहरूले मलाई के भन्लान् ?’

बिरामीको उपचारका लागि आर्थिक स्रोत जुटाउनदेखि बिरामीलाई आत्मविश्वास बढाउन संलग्न छिन्, जेनी । उनी बिरामीसँग खुला हृदयले कुराकानी गर्छिन् । सुरुमा बिरामीलाई बुझाउँछिन् कि शरीरमा बसेको दागले जीवनमा कुनै महत्व राख्दैन । कतिपय बिरामी यो सुनेर मुस्कुराउन खोज्छन् । जेनी आफैं पनि जलनबाट पीडित भएको घटना सुनाउँदै भन्छिन्, ‘म पनि तपाईं जस्तै हुँ । अहिले यसरी हिंडिरहेको छु ।’

यो सुनेर धेरै बिरामीहरू प्रेरित हुन्छन् । तर कतिपय बिरामीलाई बुझाउन धेरै समय लाग्छ । जेनीले उनीहरूको कुरा धैर्यपूर्वक सुन्छिन् र आत्मविश्वास बढाउने प्रयास गर्छिन् । जलनका बिरामी तीन–चार महिनासम्म राखेर उपचार गर्नुपर्ने हुन्छ । विशेषगरी महिलाहरूमा शरीरमा दाग बस्ने कुराले धेरै असर पार्छ । परिवारका सदस्यहरूले पनि चिन्ता व्यक्त गर्दा थप बिरामीमा तनाव बढ्छ । शरीरमा दाग देख्ने बानी नभएकाले मानिसहरू जिज्ञासु स्वभावले प्रश्न तेर्साइहाल्छन् ।

जसको परिणामस्वरूप, धेरै जलेका पीडितहरू घरबाट बाहिर निस्किन र काम गर्न हिच्किचाउँछन् । घर फर्केपछि धेरैजसो बिरामीहरू जलेको दाग लुकाउन चाहन्छन् । त्यसकारण उनीहरू कपडाले शरीर ढाकेर हिंड्छन् ।

यस्तो अवस्थामा जेनी बिरामीहरूलाई सल्लाह दिन्छिन्, ‘सबैभन्दा पहिले आफूले आफूलाई स्वीकार गर्नुपर्छ । त्यसपछि मात्र समाजले तपाईंलाई स्वीकार्छ । जति दाग लुकाउँछौ, त्यति नै लुकाउन मन लाग्छ र झन् पछि आफूलाई गाह्रो हुन्छ ।’

तर जेनी यस्तो व्यवहारको सामना गर्न सिकाउँछिन् । उनी आफ्नो अनुभव बाँड्दै बिरामीलाई सुनाउँछिन्– ‘जब मानिसहरूले हामीलाई देखेर तर्सिएको जस्तो व्यवहार देखाउँछन्, उनीहरूलाई हाँस्दै जवाफ दिनुपर्छ । मान्छेले मान्छेलाई देखेर डराउनुपर्ने के छ र !’

जेनीको मुस्कानले धेरै बिरामीहरूलाई प्रेरणा दिएको छ । अभिभावकहरू जलन परेका आफ्ना बच्चाहरूलाई जेनीको काम गर्ने तरिका र व्यवहार  देखेर साहस बटुल्न उदाहरण दिन्छन् ।

उनीहरूले आफ्ना सन्तानलाई ढाडस दिंदै भन्छन्– ‘हेर त, उहाँको अनुहार कति धेरै जलेको छ । तर पनि हाँस्दै हिंड्नुभएको छ । तिमी किन निराश हुन्छौ !’

अहिले जेनीले आफ्नो पीडालाई शक्तिमा बदलिरहेकी र अरूलाई पनि सहज रूपमा बाँच्न सिकाइरहेकी छिन् ।

फ्ल्यासब्याक : घुम्टो हटाऊँ, हिंसाको गहिराइ देखाऊँ

एसिड आक्रमणमा परेपछि जेनीको जिन्दगी पाँच महिना अन्धकार नै भयो ।

दुई महिनाको अस्पताल बसाइले उपचार त सफल भयो तर घर जाने बेलामा अस्पतालको बिल लाखौंको आयो । उनी आत्तिइन् । मध्यम परिवारका लागि त्यो रकम सानो थिएन ।

आफैंदेखि वैराग लाग्थ्यो । मस्तिष्कले १३ दिन पैसाकै कारणले अस्पतालमा बस्नुपर्दा आफैंलाई सिध्याउने योजना बनाइरहेको थियो । ‘जिन्दगीभरिको नमेटिने दाग लिएर बस्नुभन्दा मर्नु ठीक नलागेको पनि होइन’, जेनीले विगत सम्झिंदै भनिन् ।

अस्पतालको रुम नम्बर २४ मा जेनी जीवनसँग लडिरहँदा एसिड आक्रमणमा परेकी संगीता मगर भेट्न पुगेकी थिइन् । उनको मुहारमा मन्द मुस्कान थियो । ‘हेलो दिदी’ संगीताले मुस्कुराउँदै भनेकी थिइन् ।

यो क्षणले जेनीको सोचाइमा ठूलो परिवर्तन ल्यायो । उनी सोच्न थालिन्, ‘संगीताको मुहार दाग भएर पनि यति हाँसेर बोलिरहेकी छिन् । खुला रूपमा हिंडेकी छिन् भने म किन सक्दिनँ ? यो भेटले जेनीको मनमा नयाँ आशा र साहस जगायो ।

संगीतालाई भेटेपछि जेनीले आफ्नो जीवनलाई नयाँ दिशा दिने निर्णय गरिन् । तर अस्पतालबाट घर फर्किंदा केही गाह्रो भयो । कोठामा एक्लै बस्थिन् । बाहिर हिंडडुल गर्न पनि डर लाग्थ्यो ।

त्यो घटनाले उनको मनमा गहिरो घाउ बनाएको थियो । ‘आफैंदेखि वैराग लाग्थ्यो । अरूको वचनले मन कुँडिन्थ्यो’ उनी भन्छिन्, ‘त्यस घटनाले मन बेला–बेलामा झस्किन्थ्यो ।’ तर विस्तारै, परिवार र साथीहरूको सहयोगले उनी फेरि उठ्न थालिन् । अनि आफैंसँग प्रण गरिन्, अब यसरी बस्दिनँ । पहिला आफूले आफैंलाई बदल्छु । आफू जस्तै मानिसहरूको हितको लागि काम गर्छु ।  विस्तारै अँध्यारो कोठाबाट बाहिर निस्कने हिम्मत आयो । ‘सबैको साथ पाएर विस्तारै रिकभर हुन थालें’, उनी सम्झिन्छिन् ।

जेनीको संघर्ष यहीं अन्त्य भएन ।  काम खोज्दा उनले थप चुनौतीको सामना गर्नुपर्‍यो । पहिले उनले डेढ वर्ष गैर–सरकारी संस्था (एनजीओ) मा काम गरिन्, त्यसपछि कुमारी बैंकमा । तर त्यहाँ पनि उनलाई आफ्नो दाग लुकाउनुपर्ने बाध्यता थियो ।

गर्मीको समयमा धेरै कठिन हुन्थ्यो । ‘गर्मी महिनामा पसिनाले शरीर भिजिरहेको हुन्थ्यो । तर पनि स्काफ लगाउने गर्थें’, उनी भन्छिन् । यो अनुभवले उनलाई झनै कठिन परिस्थितिमा पुर्‍यायो। उनले दृढ संकल्प गरिन् ‘अरूले जेसुकै भनुन्, वास्ता गर्दिनँ । अब स्काफ खोलेर हिंड्छु ।’

बैंकको जागिर छोडेपछि जेनी फेरि बेरोजगार भइन् । तर उनको दृढता र साहसले उनलाई अगाडि बढ्न प्रेरित गर्‍यो । उनले कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईलाई आफ्नो परिस्थिति बताइन् । डा. राईले उनलाई अस्पतालमा काम गर्ने अवसर दिए ।

०००

आज, जेनी कीर्तिपुर अस्पतालमा काउन्सिलरको रूपमा काम गर्छिन् । ‘काम गर्दा सन्तुष्टि छ’, जेनी मुस्कुराउँदै भन्छिन् । बिरामी उनलाई देखेर खुसी हुन्छन् । उनको व्यक्तिगत अनुभवले उनलाई एक परामर्शदाता बनाएको छ । ‘पढेर भन्दा परेर बुझिन्छ’ भने जस्तै उनी भन्छिन्, ‘मलाई थाहा छ जलनको पीडा !’

अस्पतालमा अनुहार जलेको एक बिरामी जेनीलाई देखेर आशा जागेको बताउँछिन् । ‘जब म अस्पताल आइपुगेकी थिएँ । एकदमै  डराएकी थिएँ’ एक युवती भन्छिन्, ‘उहाँ यसरी मुस्कुराउन र जीवन जिउन सक्नुभएको छ भने म पनि सक्छु भन्ने आशा जाग्यो ।’

‘हामीले शारीरिक सुन्दरताको परिभाषा बदल्नुपर्छ’ जेनी जोड दिंदै भन्छिन्, ‘साँचो सुन्दरता त मनभित्रबाट आउँछ ।’

जेनीको कामले बिरामीलाई समाजमा खुलेर हिंड्नमा केही हदसम्म साहस थपेको छ । अस्पतालका चिकित्सक पनि जेनीको उपस्थितिले बिरामीहरूको मनोबल उच्च राख्न मद्दत पुगेको बताउँछन् । यसले उपचार प्रक्रियालाई सहज बनाएको छ ।

‘जेनी हाम्रो टीमको एक सदस्य हुन्’ डा. शंकरमान राई भन्छन्, ‘उनको अनुभव र सहानुभूतिले बिरामीको मनस्थितिलाई बदल्ने प्रयास गरेको छ ।’

उनको यात्रा सजिलो थिएन । उनले पनि समाजको नकारात्मक प्रतिक्रिया, आफ्नै डर र अनिश्चितताको सामना गर्नुप¥यो । तर हरेक चुनौतीले उनलाई अझ बलियो बनायो ।

जेनीको काम केवल मनोवैज्ञानिक सहयोगमा सीमित छैन । उनी बिरामीहरूको आर्थिक समस्या समाधान गर्न पनि सक्रिय छिन् । ‘अस्पतालले डिस्चार्ज गरेको १३ दिन भइसक्दा पनि म पैसाकै कारणले अस्पतालमा बस्नुपरेको थियो’ उनी सम्झिन्छिन्, ‘अहिले आगोले जलेर आएका बिरामीको आर्थिक समस्या भए म समाधान गर्नेतर्फ लाग्छु । विभिन्न दातृ निकायबाट सहयोग गरिराख्नुहुन्छ ।’

एक समय यस्तो पनि आयो जब उनले आत्महत्याको सोच समेत गरेकी थिइन् । तर त्यो अनुभवले उनलाई झनै बलियो बनायो । ‘त्यो अवस्थासम्म कसैलाई पुग्न नदिने अठोट राखेकी छु’, उनी दृढतापूर्वक भन्छिन् ।

आज, जेनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । जेनीको महत्वाकांक्षा यहीं रोकिएको छैन । उनी तीन वर्ष अगाडि मिस नेपाल प्रतियोगितामा समेत सहभागी भइन् र टप आठमा पुगिन् । अब उनको लक्ष्य छ नेपालको हरेक जिल्लामा पुगेर जलनको रोकथामका लागि काम गर्ने । ‘मकवानपुरमा रोकथामका लागि जनचेतना दिंदा पछिल्लो वर्षमा जलनका घटना ह्वात्तै घटेको देखियो’, उनी उत्साहपूर्वक बताउँछिन् ।

जेनीको दैनिकी व्यस्त छ । बिहान १० बजे कीर्तिपुर अस्पताल पुगेर उनी सबै बिरामीलाई भेट्छिन्, उनीहरूको खानपिन र आर्थिक अवस्थाबारे सोधपुछ गर्छिन् । उनको यो व्यवहारले बिरामीहरूलाई आफू एक्लो नभएको महसुस गराउँछ ।

उनको हाँसोले जलनका पीडितहरूलाई नयाँ जीवनको आश्वासन दिन्छ । उनी नयाँ बिरामीहरूसँग गफ गर्छिन्,  उनीहरूको दुःख सुन्छिन्, र आफ्नो अनुभव बाँड्छिन् ।

तर जेनीको काम केवल व्यक्तिगत परामर्शमा सीमित छैन । उनी समाजको दृष्टिकोण बदल्न चाहन्छिन् ।

फोटो–भिडियो : चन्द्र आले 

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?