+
+

महोत्तरीमा नवविवाहिता युवतीको शंकास्पद मृत्यु

दाइजोका कारण हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ८:३५

६ भदौ, जनकपुरधाम । महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् ।

माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।

मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो । जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।

विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरी रिनालाई पतिसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ ।

बुबा नवलका अनुसार घटना भएको एकदिन अघि रक्षाबन्धनमा छोरी माइत आएकी थिइन् । निराश देखिएकी छोरी रिनाले आफूलाई थप दाइजोको लागि कुटपिट गर्ने गरेको बताएपछि भोलिपल्ट मंगलबार आफैं गएको बुबा नवलको भनाइ छ ।

‘दिउँसो म आफैं छोरीलाई लिएर पुगेको थिएँ । समाजका भद्रभलादमीको रोहबरमा कुनै प्रकारको कुटपिट तथा यातना नदिन घरपरिवारलाई सम्झाएर फर्केको थिएँ । फर्किने बेला छोरीले मलाई छाडेर नजानुस्, फेरि कुटपिट गर्छन् भनेर रोक्न खोजेकी थइन् । मैले त्यसो गर्दैन सम्झाइबुझाइ गरेको छु भनेर फर्के,’ बुबा नवलले भने, ‘रातिमै मृत्यु भयो भनेर ज्वाइँले फोन गरे । छरछिमेकसित बुझ्दा अबेर रातिसम्म घरमा झैझग्डा भएको थाहा पायौं । दिउँसो ठीकठाक छोरी राति बिरामीको बहाना बनाएर सुनियोजित हत्या गरेका छन् ।’

बुबा नवलका अनुसार त्यसअघि पनि छोरी रिनालाई यातना दिँदा गाउँसमाजमा छलफल भई परिवारजनलाई सम्झाइबुझाइ गरिएको थियो ।

छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ ।

ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।

जाहेरी परेको डिएसपी जयसवारले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?