+

पपकर्न सिन्ड्रोम जसले अहिलेका धेरै युवालाई सताउँदैछ

२०८१ भदौ  ६ गते १७:४९ २०८१ भदौ ६ गते १७:४९
पपकर्न सिन्ड्रोम जसले अहिलेका धेरै युवालाई सताउँदैछ

कुनै कारणवश मिनेट मिनेटमा मोबाइल हेर्ने बानी छ ? कुनै काम गर्दा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ ? वा मोबाइल हेरेपछि काममा चाहेर पनि ध्यान दिन सकिएको छैन ? राति मोबाइल नहेरी निद्रा लाग्दैन ? सामाजिक सञ्जालमा एउटा सामग्री हेर्दाहेर्दै अर्को हेर्न मनलाग्छ ?

यदि यस्तै अनुभव हुन्छ भने पपकर्न सिन्ड्रोम भएको हुनसक्छ ।

के हो पपकर्न सिन्ड्रोम ?

दिमाग अशान्त रहने अवस्थालाई पपकर्न सिन्ड्रोम भनिन्छ । जसरी मकै पकाउँदा चारैतर्फ उफ्रिन्छ, दिमाग पनि त्यही अनुसार उफ्रिने भएकाले यसलाई पपकोर्न सिन्ड्रोम नाम दिएको हो । यो समस्या भएमा दिमाग अस्थिर हुन्छ । जसकारण एकाग्रताको कमी हुन्छ ।

कारण

यो कुनै तनाव वा दिमागमा चोटपटक लागेर होइन । पपकर्न सिन्ड्रोम अत्यधिक सामाजिक सञ्जालमा समय बिताउनुको उपज हो ।  युवा व्यक्तिले कुनै कुरामा ध्यान केन्द्रित हुने क्षमता कम हुँदै जानुको कारण पपकर्न सिन्ड्रोमको सिकार भएको मानिन्छ ।

घर, अफिस, साथीभाइ भेट्दा, सुत्नुअघि र बिहान ओछ्यानमा रहँदा सामाजिक सञ्जाल, टिभी र ल्यापटपबाट मनोरञ्जन लिने बानीका कारण दिमागलाई यसको लत लाग्छ । सामाजिक सञ्जालकै कुरा गर्ने हो भने अधिकांश व्यक्तिले फेसबुकमा आएका सामग्रीहरू स्क्रोल गरेर सकेर इन्स्टाग्राम, ट्वीटर एक्स, युट्युब गरी समय त्यसै बिताइरहेका हुन्छन् ।

मोबाइल चलाउँदा चलाउँदै यति बानी बिग्रिसकेको हुन्छ कि एउटा कुरा मात्र हेरेर चित्त बुझ्दैन वा त्यसमा अडिएर रहनै नसक्ने हुन्छ । मोबाइल स्क्रोल गरिरहने र त्यही हेरेर दंग पर्ने बानीमा अभ्यस्त भएको पाइन्छ ।

सीएनएनमा प्रकाशित एक अध्ययनअनुसार सन् २००४ मा टिभी हेर्दा एकबाट अर्को च्यानल लगाउँदा एक व्यक्तिलाई साढे दुई मिनेट लाग्थ्यो । दुई मिनेटसम्म भए पनि सो व्यक्ति एउटा च्यानलमा अड्किन्थ्यो ।

सन् २०१२ मा यो समय कम भएर सवा मिनेटमा पुग्यो । सन् २०२४ मा मोबाइल वा टिभीको स्क्रिनमा अडिने समय ४७ सेकेन्ड रहेको पाइएको छ । अर्थात्, ४७ सेकेन्डपछि सो व्यक्तिको दिमाग दोस्रो विषयवस्तु हेर्ने वा सुन्ने माग गर्छ । व्यक्तिमा एक मिनेट पनि कुनै कुराको लागि धैर्य छैन ।

यसको प्रभाव दैनिकीमा पर्छ । व्यक्तिको बौद्धिक विकास हुन सक्दैन । प्रगतिको लागि सिर्जनशील बनौं भन्ने विचार आउने समय सबै यही डिजिटल प्लेटफर्मको लतले खाइदिन्छ । दिमागलाई शान्त राखेर मात्र कुनै कुरामा मन लगाएर ध्यान दिन सकिन्छ । तर पपकर्न सिन्ड्रोम भएमा दिमाग अशान्त हुन्छ । दिमागमा अनेकौं कुरा चलिरहेको हुन्छ ।

उदाहरणका लागि विद्यार्थीको पढाइमा ध्यान नजाने, कार्यालयमा काम गर्नेहरूको काममा मन नलाग्ने, नयाँ योजना बनाउन नसक्ने, दिएको काम पूरा गर्न कठिन हुने जस्ता समस्या भोगिरहेको हुनसक्छ ।

त्यति मात्र होइन, अहिलेको युवापुस्तामा यही सिन्ड्रोम कारणले एक्लै बस्न मन पराउने, सामाजिक दूरी बढ्ने, परिवारमै पनि सञ्चार कम हुने र आफ्नै दुनियाँमा हराइरहने समस्या देखिएको छ ।

कसरी ?

सामाजिक सञ्जालमा व्यस्त हुनुको एक मात्र कारण हो, यो संसार हेर्दा रमाइलो छ । समय बितेको पत्तै हुँदैन । जब व्यक्ति रमाउँछ, खुसी हुन्छ र आनन्दित अनुभव हुन्छ । तब डोपामाइन हर्मोन उत्पादन हुन्छ । यो हर्मोन दिमाग खुसी हुँदा निस्कन्छ ।

डोपामाइन निश्चित मात्रासम्म उत्पादन हुनु राम्रो हो । तर आवश्यकभन्दा बढी निस्कनु घातक हुनसक्छ । यसको उत्पादन बढिरह्यो भने दैनिकी चलिरहेको चक्र पहिलाको हिसाबले चल्दैन । योसँगै अन्य हर्मोन पनि सक्रिय हुन्छन् । जसले निद्रा, काम, गुणस्तरीय समय सबैमा परिवर्तन ल्याउँछ । दिमागमा यसकै लत बस्छ ।

कुन उमेर समूह जोखिममा ?

यो सिन्ड्रोमको जोखिम स्कुले बालबालिकादेखि वयस्कलाई देखिन्छ । यो उमेर समूह बढी सक्रिय हुने र मोबाइलको लतले गर्दा कुनै कुरामा धैर्य र एकाग्रता नहुने देखिन्छ ।

वृद्ध उमेरमा भने यो समस्याले कुनै फरक नपार्ने देखिन्छ । यो अवस्थासम्म पुग्दा निद्रा नलाग्ने, कुनै योजना बनाउने, द्रुत गतिमा काम गर्ने कम हुन्छ ।

मानसिक रोगको जोखिम

यही बानीमा अभ्यस्त हुँदै जाँदा उनीहरूमा डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोग हुनसक्छ । पछिल्लो समय भएका अध्ययनले सामान्य व्यक्तिको तुलनामा पाँच गुणा बढी उनीहरूमा यो समस्या हुनसक्ने जोखिम देखाउँछ ।

किनकि यसरी २४ घण्टै सामाजिक सञ्जालमा समय बिताउने हो भने उनीहरूको जीवनमा कुनै उपलब्धि हातमा हुँदैन । बाहिर निस्किन र कसैसँग बोल्न पर्दा समेत उनीहरूमा एन्जाइटी हुनसक्छ । अरुको प्रगति र आफ्नो हातमा लाग्यो शून्य हुँदा केही गर्न सक्छु भन्ने आत्मबल पनि हुँदैन ।

कसरी पत्ता लगाउने ?

यो समस्याको पहिचान लक्षण हेरेर गरिन्छ । यो सिन्ड्रोम भएकाहरुको इलेक्ट्रोएन्सेफलोग्राम (ईइजी)  गरेर हेर्दा दिमागको क्रियाकलापमा परिवर्तन आएको देख्न सकिन्छ । जसमा सामान्य व्यक्तिको भन्दा यो सिन्ड्रोम भएकाहरुको दिमागको चाल तीव्र रूपमा चलेको देख्न सकिन्छ ।

त्यसो भए के गर्न सकिन्छ ?

यो सिन्ड्रोमको कुनै उपचार छैन । तर यसलाई व्यवस्थापन गरी नियन्त्रण गर्न सकिन्छ ।

– दैनिक कुन समयमा के गर्ने भनेर तालिका बनाउने, जसमा मोबाइल चलाउने समय पनि छुट्याउने ।

– मोबाइल वा कम्प्युटरमै आवश्यक सामग्री हेर्न समय लाग्छ भने आधा घण्टाको ब्रेक लिन सकिन्छ ।

– फुर्सदको समयमा घुम्न वा कुनै अन्य कार्यमा ध्यान दिने ।

– पढ्ने विद्यार्थीहरुले मोबाइलको साटो ठूलो स्क्रिन भएको ट्याब, ल्यापटप प्रयोग गर्ने । यसले आँखालाई बढी प्रभावित हुन दिंदैन । र, हेर्दा एकोहोरो आँखाले नहेरी बेलाबखतमा झिमझिम गर्ने गर्नुपर्छ ।

– बच्चाले बोल्न सुरु गरेदेखि मोबाइल हेर्न दिइन्छ । उसलाई बिस्तारै खान, सुताउन समेत मोबाइलको लत लाग्छ । उनीहरूलाई सकेसम्म मोबाइलबारे नचिनाउने ।

– एन्जाइटी र डिप्रेसनको लक्षण देखिए मनोपरामर्श लिने ।

डा. राजीव झा पपकोर्न सिन्ड्रोम
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?