+
+

किस्ट अस्पतालमा युवती मृत्युबारे छानबिन गर्न सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १३:५२
सांसद सञ्जय गौतमको फाइल तस्वीर ।

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको अपरेशनपछि मृत्यु भएको बताए ।

२१ साउनमा अस्पताल भर्ना भएकी उनको अपरेशन गर्दा अत्यधिक रक्तश्राब भएपछि रगत दिइएको थियो । त्यसपछि पुनः अपरेशन गरेको उनलाई अस्पतालले २६ साउनमा मृत घोषणा गरेको थियो ।

‘…२६ गते फेरि २० प्वाइन्ट ब्लड मागिन्छ । २६ गते साँझ उनलाई मृत डिक्लियर गरिन्छ । २६ गतेदेखि आजसम्म त्यो बहिनीको लास अस्पतालमा छ । गम्भीर लापरबाही छ । अस्पताल प्रशासनको गम्भीर लापरबाही छ’, उनले भने ।

उक्त घटनामा चिकित्सक र अस्पताल प्रशासनको गम्भीर लापरबाही देखिएको सांसद गौतमले बताए । यो घटनाको विरोधमा उनको परिवार र नेपाल मगर संघले आन्दोलन गरिरहेको तर कुनै सुनुवाइ नभएको गौतमको भनाइ छ ।

‘मैले स्वास्थ्यमन्त्रीज्यूलाई भनेँ, गृहमन्त्रीज्यूलाई पनि यसको जानकारी छ । गृह प्रशासनलाई राम्रो जानकारी छ । दिनदिनै नाराजुलुस भइरहेको छ, धर्ना भइरहेको छ । तर, पीडितलाई न्याय दिने कुरामा कतै पनि अस्पताल प्रशासन जाँदैन’, उनले भने ।

सांसद गौतमले उक्त घटनाको छानबिनका लागि समिति गठन गर्न माग गरे । यस्तो घटनाले समाजमा राम्रो सन्देश नदिने उल्लेख गर्दै उनले थपे, ‘प्राइभेट मेडिकल कलेजहरु, सरकारी अस्पतालहरु सबैमा नागरिकको जिउधनको सुरक्षा हुनुपर्छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तत्काल नै यो घटना कारबाही अगाडि बढाओस् ।’

बर्दियाबाट उपचारका लागि काठमाडौं आएकी महिला गरिब परिवारकी सदस्य रहेको र उनका श्रीमान मोटरसाइकलमा राइड सेयरिङको काम गर्ने गरेको सांसद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?