+
+

जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न बस्नेतको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:०२

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।

भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग गरेका हुन् । ‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । ती बस्तीहरु स्थानान्तरण हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण भइरहेको छ,’ पूर्वमन्त्री बस्नेतले भने ।

उनका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ र मनसुनसम्म आइपुग्दा त्यो संख्या अझै बढेको अनुमान छ । ‘त्यसकारण तत्काल जोखिमयुक्त बस्तीहरु पहिचान गरी त्यसको स्थानान्तरणको व्यवस्था गर्न भूगर्भविदहरु तत्काल प्रभावित क्षेत्रमा पठाउनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।

सरकारले राहतका निम्ति अस्थायी आवास बनाउनका लागि केही रकम उपलब्ध गराए पनि तिनै अस्थायी अवासहरु पहिरोका कारणले फेरि क्षतिग्रस्त भएका छन् । अहिलेको कार्यविधिले त्यस्ता पीडितहरुलाई दोहोरो सुविधा नदिने भने पनि पहिरोको कारणले क्षतिग्रस्त भएका अस्थायी आवास व्यवस्थापनका लागि थप राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए ।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी संरचना, विद्यालय र निजी आवास निर्माण गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि सम्बन्धित मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई डेडिकेटेड रुपमा जाजरकोटमा स्थापना गर्न पनि माग गरे ।

‘अहिलेकै गतिमा नियमित प्रक्रियाबाट यी कुनै पनि कामहरु यथासमयमा सम्भव हुने कुराको कल्पना गर्न पनि सकिँदैन,’ बस्नेतले भने, ‘त्यसकारण निजी आवासहरु व्यवस्थापन गर्नको लागि प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई डेडिकेटेड रुपमा जाजरकोट जिल्लामा स्थापना गरियोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?