+
+

जीवन बाँच्न प्रेरित गर्ने नाटक ‘नुग्ःद्य’ शुक्रबारदेखि मण्डलामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १४:१६

काठमाडौं । अप्ठ्यारोमा पनि जीवन बाँच्न प्रेरित गर्ने कथावस्तुमा आधारित नाटक ‘नुग्ःद्य’ शुक्रबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । भदौ १८ सम्म नाटक मञ्चन हुने मण्डलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विजय तामाङ ब्लोनको यो डेब्यु नाटकले समकालीन विश्व र युवापुस्ताले भोगिरहेको मानसिक स्वास्थ्यबारेको मुद्दा उठाउँछ । निर्देशकले एक नृत्यकारको जीवनयात्रा मार्फत अवसादसँग कसरी लड्न सकिन्छ भन्ने बारेमा कथा भन्न खोजेका छन् ।

एक डान्सर जो नृत्यको विश्व प्रतिस्पर्धा जितेर दमले थलिएकी रोगी आमाको उपचार गर्न पैसा जुटाउने सपना देख्छ । तर रिहर्सलकै क्रममा ऊ घाइते हुन्छ र उसको यात्रा त्यहीं रोकिन्छ । कम्मरमुनि उसको शरीर चल्दैन ।

विश्व प्रतियोगिता जित्ने सपना देखेको उक्त डान्सरको जीवन ह्विल चेयरमै खुम्चिन्छ । अवसाद (डिप्रेसन)बाट ऊ ग्रसित हुन थाल्छ । यसबीच उसको संघर्ष आफ्नै सोचसँग हुन्छ । उसले जीवनको अर्को पाटो हेर्न थाल्छ । आफूलाई माया गर्ने बुवा, प्रेमिका र बहिनीलाई सम्झन थाल्छ ।

माया र सकारात्मकताले उसमा जीवन बाँच्ने इच्छा पलाउन थाल्छ । निर्देशक ब्लोनले यो नाटकबाट आफूले आशा र प्रेरणा जगाउन खोजेको बताए ।

‘हामीले अहिलेको डिप्रेसनको यो महामारीमाझ सकारात्मक सन्देश दिन खोजेका छौं’ ब्लोनले भने, ‘भइसकेको कुराबाट चिन्तित हुनु भएन । अहिले पनि माया दिनेहरु छन् । विगतको कुराबाट मुक्त हुनुपर्‍यो । आफूलाई विश्वास गर्नुपर्‍यो । मनलाई जितेर अघि बढ्नुपर्‍यो ।’

तामाङ समुदायको पात्र र परिवेशमा आधारित यो नाटकमा फिल्म जस्तै कोरियोग्राफी गरिएको एक्सन सिक्वेन्स पनि देखाइने भएको छ । नाटकमा लेखक समेत रहेका नुवाङ लामा शीर्ष भूमिकामा छन् । स्मृति श्रेष्ठ, युवाहाङ राई, रविना केसी सहित २३ जना कलाकार पनि छन् ।

नाटकको परिकल्पना र निर्देशन ब्लोनकै छ । यो नाटक यसअघि मण्डलामै आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?