+
+

‘पहिरोले इन्द्रावती नदी थुनी पो हाल्छ कि!’

रासस रासस
२०८१ भदौ ६ गते १४:५३
फाइल फोटो ।

६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन् । आइतबारदेखि बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएको छैन ।

तिपेनी बजारका स्थानीय युवराज गिरी सुख्खा पहिरो झर्न नरोकिँदा नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको बताउँछन् । ठूलो पहिरो झरेर इन्द्रावती नदी थुनिए त्यसले ठूलो क्षति पुर्‍याउने जोखिम बढेको उनी बताउँछन् ।

पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछिन् । नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको गेग्रानले नदी नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समूहसहित प्रहरीको विपद् टोली तैनाथ छ । इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ ।

नदीले निरन्तर गेग्रान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ । यदि डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन् । वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न नसकिने लामा बताउँछन् ।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाँजा फाटेका र चिरा परेका भाग पनि एकै पटक नदीमा खस्ने सम्भावना देखिएको स्थानीय गमला गिरीले बताइन् ।  त्यसैले नदी जुनसुकै बेला थुनिनसक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?