+
+

प्रचण्डलाई प्रश्न– ओल्लो घर-पल्लो घर चहारेर कति दिन पार्टी चलाउनुहुन्छ ?

पार्टी अध्यक्षको निवासमा केन्द्रीय सदस्यको पहुँच नभएको तर्फ संकेत गर्दै उनले भने, ‘अध्यक्षको घरको पर्खाल र सचिवालयले म सामान्य मान्छेलाई भित्र छिर्न दिँदैन, यो सिन्डिकेट भत्काउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १६:१३

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश तहका नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।

बुधबारदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय बैठकमा नुवाकोटकी राधिका तामाङले माओवादीमा कोसेली बोकेर नेता भेट्न जानेको मात्रै स्थान रहेको टिप्पणी गरिन् ।

लेखक समेत रहेका नेता नवीन जिरेलले माओवादी आन्दोलनमा सहभागीहरूलाई नै यो पार्टी प्रिय ठानेर माया गरेर बस्न नसकेको टिप्पणी गरे । ‘धेरै माओवादीहरुले यो पार्टीलाई आफ्नो प्रिय पार्टी भनेर माया गरेर बस्न सकेका छैनन्, धेरैले छोडेर गए’ उनले भने, ‘नजिक भएकाहरुले नै पटकपटक अवसर पाएका छन् ।’

नेता जिरेलले आफू केन्द्रीय सदस्य रहे पनि पार्टी अध्यक्षले नै नचिन्ने अवस्था रहेको बताए । ‘म केन्द्रीय सदस्य, मलाई न अध्यक्षले चिन्नुहुन्छ न पदाधिकारीले,’ उनले भने, ‘आफ्नै कमिटीको सदस्य चिन्न नसक्ने यत्रो जम्बो कमिटी के काम ?’

पार्टी अध्यक्षको निवासमा केन्द्रीय सदस्यको पहुँच नभएको तर्फ संकेत गर्दै उनले भने, ‘अध्यक्षको घरको पर्खाल र सचिवालयले म सामान्य मान्छेलाई भित्र छिर्न दिँदैन, यो सिन्डिकेट भत्काउनुपर्छ ।’

अर्की नेतृ लक्ष्मी गुरुङले प्रश्न गरिन्, ‘ओल्लो घर र पल्लो घर चहारेर कति दिन पार्टी चलाउनु हुन्छ कमरेड ?’ उनले पार्टी बनाउन मिहिनेत गर्नेभन्दा गठबन्धन बदलेर सत्तामा टिकिराख्न खोज्ने नेतृत्वको कार्यशैलीको आलोचना गरिन् ।

प्रतिनिधिसभा सदस्य रहेका माधव सापकोटाले पार्टीभित्र चलिरहेको अन्तरसंघर्ष गलत भएको बताए । ‘वर्गसंघर्षको बेलामा अन्तरसंघर्ष गर्नु बेठीक हो,’ उनले भने ।

पूर्वविद्यार्थी नेतृ समेत रहेकी कञ्चन खनालले पार्टी नेतृत्वले अहिले नेता–कार्यकर्तालाई जबरजस्ती अन्तरसंघर्षमा तान्ने र घचेट्ने काम गरिरहेको र त्यो गलत रहेको बताइन् । संसदमा माओवादी सांसदहरूको निष्क्रियता र कमजोर प्रदर्शनतर्फ लक्षित गर्दै उनले भनिन्, ‘हाम्रा २/३ जना सांसद मात्र संसदमा बोल्ने हो ? अरुको काम छैन ?’

अर्का नेता ईश्वरी भट्टराईले यस्ता बैठकमा बोल्नुको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘जिभ्रो फड्कारेर चर्को स्वरले बोल्न मन छ तर यहाँ बोलेर केही हुन्न,’ उनले भने ।

प्रगतिशील लेखक तथा संस्कृतिकर्मी समेत रहेका नेता ईश्वरचन्द्र ज्ञवालीले पार्टी कमिटी माथि ठूला, तल साना रहेको र यो उल्टो अवस्था उल्ट्याउन आग्रह गरे । उनले गुनासो गरे, ‘गुटबन्दीले हाम्रो पार्टी छियाछिया छ । सधैं यसरी कसरी चल्छ ?’

नेता इन्द्र गोतामेले पार्टीमा विचलन रहेको र दलालहरूले पार्टी चलाइरहेको जिकिर गरे । ‘वास्तविक माओवादीहरू माओवादी पार्टी बाहिर छन्’ उनले भने, ‘ईजी मनीले हामीलाई भ्रष्ट बनाएको छ ।’

परामर्श बैठकमा ८२ जना नेताले आफ्नो धारणा राखेका छन् । यो समाचार तयार पार्दासम्म पार्टीका उपमहासचिव जनार्दन शर्माले जवाफ दिइरहेका छन् ।

– फोटो : प्रचण्डको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?