+
+

संयोजक र सहसंयोजकको भरमा रास्वपाका जिल्ला समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:४८

६ भदौ, काठमाडौं । पार्टी गठनको दुई वर्षसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लास्तरमा आफ्नो समिति बनाउन सकेको छैन । धेरै जिल्लामा संयोजक र सहसंयोजक तोकिएका छन् भने कतिपय जिल्लामा ती पनि छैनन् ।

रास्वपाको विधानमा जिल्लास्तरमा ‘जिल्ला कार्यसम्पादन समिति’ रहने व्यवस्था छ । यो समितिमा स्थानीय तहका सभापति र अन्य तीन जना हुनेछन् । पदाधिकारीमा सभापति, उपसभापति र सचिव रहने व्यवस्था छ । जिल्ला कार्यसम्पादन समिति भन्दा माथि जिल्ला परिषद्को परिकल्पना गरिएको छ ।

जेठ २०८० मा रास्वपाले डोल्पा, हुम्ला र रुकुम पश्चिमबाहेक ७४ जिल्लामा संगठन विस्तार भइसकेको दाबी गरेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले अहिले कतिपय जिल्लामा संगठन नभएको बताए ।

‘जिल्लालाई हेर्नका लागि प्रदेश समितिमार्फत संयोजक र सहसंयोजक बनाएर समन्वय गरिराखेका छौं’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जिल्ला भेलामार्फत अब छिट्टै जिल्ला समिति गठन गर्दैछौं ।’

कर्णालीका रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेतमा रहेको जिल्ला संगठन रास्वपाले गत वर्ष मंसिरमा भंग गरेको थियो । अब १५ भदौमा हुने कर्णाली भेलापछि प्रदेश र जिल्ला संगठन गठनको प्रक्रिया सुरु हुने संगठन विभागका सचिव श्रेष्ठले जानकारी गराए ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले कर्णाली विशेष अभियान अन्तर्गत १५ भदौमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

कोशीमा खोटाङ र गण्डकीमा मनाङमा संयोजक र सहसंयोजक तोकिएको छैन । खोटाङका संयोजक रवीन्द्र ओझाले राजीनामा दिएका छन् ।

कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापाका अनुसार संयोजक र सहसंयोजक तोकिए पनि तेह्रथुम र धनकुटामा क्रियाशीलता कम छ । इलामको उपनिर्वाचनपछि संयोजक प्रकाश सापकोटाले राजीनामा दिएकामा अर्को संयोजक चयन भएका छैनन् ।

सुदूरपश्चिममा दार्चुला, बाजुरा, डडेलधुराका संयोजकले राजीनामा दिएपछि नयाँ व्यक्ति तोकिएको छ । ‘निर्वाचित भएर आएका संयोजक होइनन् । काम गर्न सकेनन् भने हटाएर नयाँलाई जिम्मेवारी दिएका छौं’, संगठन विभागका सचिव श्रेष्ठले भने ।

रास्वपाले असोजको १ र २ गते पहिलो राष्ट्रिय भेला बोलाएको छ । उक्त भेलाले विधान संशोधन गरेपछि विधानसम्मत अधिवेशन गरेर जिल्लाहरुमा नयाँ नेतृत्व आउने बागमती प्रदेश संयोजक डा. अच्युतम लामिछानेले बताए । ‘बागमतीमा सबै जिल्लामा संयोजक र सहसंयोजक तोकिएको छ । राष्ट्रिय भेला पछि नयाँ साथीहरु आउनुहुन्छ’, उनले भने ।

लुम्बिनीमा दाङ, प्युठान, रुपन्देहीका संयोजक परिवर्तन भएका छन् । प्रदेश संयोजक देवराज पाठकका अनुसार संगठन छोड्ने, विदेशिने, प्रभावकारी काम गर्न नसक्ने लगायतका कारणले संयोजकहरु परिवर्तन गरिएको छ । प्यूठानका पूर्वसंयोजक सुमन सुवेदीले आसन र भाषणमा रास्वपामा रमाएको भन्दै पार्टी परित्याग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?