+
+

म नबोल्दा पार्टी एकतावद्ध हुन्छ भने चुप लागौंला : जनार्दन शर्मा 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते १८:०२

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रियो, छलफल गरौं भन्न किन नपाउने भन्दै प्रश्न गरेका छन् ।

बुधबार सुरु भएको नेकपा माओवादी केन्द्रको बागमती प्रदेशस्तरीय परामर्श बैठकमा बिहीबार सम्बोधन गर्दै उपमहासचिव शर्माले आफूले पार्टीभित्र भिन्न मत राखेको नभई आफ्नो धारणा राखेको बताए ।

बागमती प्रदेशभित्रका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरू सहभागी बैठकमा उनले पार्टीका समस्या उठाउने र निर्माणका कुरा लिखित रूपमा राख्दा आफूलाई पार्टी फुटाउन लागेको भन्दै प्रचार गरिएकोमा गुनासो गरे ।

‘मैले पार्टी फुटाउँछु भन्ने लागेकै छ भने म के गरौं ? भगवान गुहारौं कि प्रचण्ड गुहारौं’, उनले भने, ‘म बोल्दै नबोली ठुस्केर बसेर पार्टी एकताबद्ध हुन्छ भने म चुप लागौंला तर, मलाई लाग्छ आफ्नो कुरा जोडदार राखेर मात्रै पार्टी एकताबद्ध हुन्छ ।’

पार्टीका अधिकांश नेताले फरक मत राखेको भन्दै शर्माको चर्को आलोचना गरेका थिए ।  त्यसको प्रतिउत्तरमा उपमहासचिव शर्माले प्रतिप्रश्न गरे, ‘विचार निर्माणमा अध्यक्ष लाग्नुपर्‍यो । अन्य काममा हामी लाग्छौं भन्न किन नपाउनु ?’

प्रचण्डसहितको पार्टी बनाउने भनेको हुँ’

उपमहासचिव शर्माले आफूले प्रचण्डबाहेकको पार्टी बनाउने नभनेको बताए । ‘अध्यक्ष बाहेकको पार्टी बनाउने मैले भनेको होइन’, उनले भने, ‘विचार र सत्ताको नेतृत्व मात्रै अध्यक्षले गर्नु संगठनको हामी गर्छौं भनेको हो ।’

विचार चाहिन्छ भनिरहने तर अध्यक्षले नै विचार निर्माण गर्नुस् भन्दा अन्यथा हल्ला गरिएको भन्दै शर्माले आक्रोश व्यक्त गरे । ‘विचार चाहिन्छ भन्ने अनि अध्यक्षले विचार निर्माण गर्नुस् भन्दा अन्यथा हल्ला किन गरियो ?’, उनले भने, ‘संगठन निर्माणको काम हामी गर्छौं भन्न नपाउने ? पार्टी बिग्रियो, छलफल गरौं भन्न नपाउने ?’

शर्माले पार्टीभित्रको सूचना चुहाएको भन्दै नेता कार्यकर्ताले लगाएको आरोपको पनि खण्डन गरे । उनले प्रश्न गरे, ‘सूचना मैले चुहाएको होइन । सर्कुलर पनि मिडियामा आउँछ । के महासचिवले चुहाएको हो त ?’

जनार्दनपछि बोलेका नेता हरिबोल गजुरेलले पार्टीभित्रको बहसले राम्रै गरेको बताए । उनले उपमहासचिव जनार्दन शर्माले पार्टी पंक्तिलाई अझै प्रष्ट पार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?