+
+

हुलाकी सडकले मनिकापुर बस्ती डुबानमा, पानी सुक्ने प्रतीक्षामा सडकमै बास

‘मनिकापुर यसरी कहिल्यै डुबेको थिएन । यसपालि हुलाकी सडकका कारण पानी निकास नभएपछि डुबेको हो ।’

जनक विष्ट जनक विष्ट
२०८१ भदौ ७ गते ७:३२

७ भदौ, धनगढी । कैलालीको कैलारी गाउँपालिका–३ को सुर्मी नालाका माहालु डगौरा बुधबार राति गहिरो निन्द्रामा थिए । बाहिर झमझम पानी परिरहेकाले मौसम पनि शीतल थियो, त्यसैले पनि होला डगौरा अरु दिनभन्दा चाँडो निदाइसकेका थिए ।

तर डगौराले राति करीब १२ बजेपछि मात्र घरभित्र बाढी पसेको कुरा थाहा पाए । हतारहतारमा उठेर घर भित्रको सके जतिको अन्नपात बाहिर निकाले । कति त भिजिसकेको थियो ।

सडकमा राखिएको ट्याक्टरमा अन्नपात निकालेर त्रिपालले छोपेर राखेपछि थोरै भए पनि जोगिएको छ । सुर्मी नालाबाट आएको बाढीका कारण घरको आधा भाग जति भत्किएको छ । तर डगौरा दम्पती भने कतिबेला घरभित्रको पानी सुक्ला र ओभानो लागौँला भन्ने प्रतिक्षामा सडकमै छन् ।

बिहीबार दिउँसो छोरीले आफ्नो घरबाट ल्याइदिएको भात सडकमै खाइरहेको अवस्थामा भेटिएका डगौराले बाढीका कारण बिचल्लीमा परेको सुनाए । ‘साँझदेखि पानी त परिरहेको थियो तर राति १२ बजेतिर बाढी बस्तीमा पस्यो । घरमा भएको अन्नपात सबै बगायो । बुढाबुढी दुवै जना लागेर थोरथोरै धान जोगायौँ,’ डगौराले भने, ‘अहिले सडकमै बसिरहेका छौँ । छोरीले आफ्नो घरबाट खाना पठाइदिइरहेकी छिन् र खान पाइरहेका छौं ।’ डगौराले अहिलेसम्म कुनै पनि निकायले राहत तथा अन्य सहयोग सामग्री नदिएको गुनासो समेत गरे ।

सुर्मी नाला टोलकै बेझु चौधरीको घर पनि बाढीका कारण भत्किएको छ । बुधबार राति आएकै बाढीले चौधरीको घर भत्काउँदा अन्नपात, लुगाफाटोसहित अन्य सरसामान त्यसैमा च्यापिएका छन् । तर चौधरीले केही सामान भने राति नै छेउमै रहेको अर्को टहरोमा सारिसकेका थिए ।

दुई वटा घर भएकाले उनी बाढीले घरबासविहीन त भएका छैनन् तर खानेकुरा र लुगाफाटो भने खासै बाँकी रहेन । ‘सुत्नै लागेका थियौँ राति साढे ११ बजेतिर बाढी एक्कासी बस्तीमा पसेको थाहा पाएपछि सरसामान सार्ने कोसिस गरेका थियौँ,’ चौधरीले भने, ‘तर क्षणभरमै बाढीले त्यो घर भत्काइदिएपछि गहुँ, लाही (तोरी), मसुरो, लसुन, छोराको साइकल, मोटरसाइकल सार्नै पाइएन । सबै बाढीले भत्काएको घरभित्र रह्यो ।’

बस्तीमा पसेको बाढीले घर भत्किएर क्षति हुँदा समेत स्थानीय जनप्रतिनिधि तथा प्रदेश सभा सदस्य कोही पनि भेट्न पुगेका छैनन् । वडाध्यक्ष भने भेट्न आएर राहत दिने आश्वासन दिएर फर्किए । छेउको घरभित्र पनि बाढी पसेकाले अहिले बस्न मिल्ने अवस्था छैन । त्यसैले उनी पनि सडक छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

कैलारी गाउँपालिका–५ मनिकापुरका बलिराम चौधरीको घर र काठ मिल पनि डुबानमा परेको छ । घरको पानी सुकिसकेका कारण फर्किएका चौधरीको छेउकै काठ मिलमा भने डुबान यथावत छ ।

चौधरीका भनाइमा मोनिकापुरमा मात्र ७० परिवारको घर डुबेका छन् । हुलाकी सडकखण्डका कारण पानी निकास नभएकाले यो वर्ष गाउँ नै डुबेको उनी बताउँछन् । त्यसैले सरकारले डु्बानको समस्याको दीर्घकालीन निराकरण गर्नुपर्ने चौधरीको सुझाव छ ।

‘मोनिकापुर यसरी कहिल्यै डुबेको थिएन । यसपालि हुलाकी सडकका कारण पानी निकास नभएपछि डुबेको हो,’ चौधरीले भने, ‘त्यसैले सरकारले राहतका नाममा एक बोतल पानी र चिउरा होइन । यो समस्याको दीर्घकालीन निकास दिनुपर्छ । हुलाकी सडकको ठाउँ–ठाउँमा कल्भर्ट हाल्नुपर्छ ।’

कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीको निष्कर्ष पनि हुलाकी सडकका कारण पानीको बहाव थुनिएपछि बस्ती नै डुबानमा परेको भन्ने छ । चौधरीले पानीको उचित निकासको व्यवस्थासहित सडक निर्माण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइने समेत बताए ।

उनका अनुसार मंगलबारदेखि परेको अविरल वर्षाका कारण पालिकाभर साढे चार सय घर डुबानमा परेका छन् । उनीहरुमध्ये धेरैजसो परिवार बाढीले विस्थापित भएर वडा कार्यालय, सामुदायिक भवन र आफन्तको घरमा ओत लागेका छन् ।

सबै वडाध्यक्षहरुलाई वडा नछाड्न निर्देशन दिइएको बताउने अध्यक्ष चौधरीले प्रत्येक वडामा सुरक्षित घर पहिचान गरेर प्रभावितको व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

‘हामीले अहोरात्र खटिएर बाढीले प्रभावित भएकाहरुको सकुशल उद्धार गरेका छौँ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘वडाध्यक्षहरुले स्थानीय स्तरमा उहाँहरुलाई तत्काल आवश्यक पर्ने राहत दिइरहनु भएको छ । थप राहतका लागि स्रोत जुटाइरहेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मंगलबार रातिदेखिको वर्षाका कारण कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?