+
+

कोशीमा ५ मन्त्रालय दाबी गर्ने कांग्रेसमा आन्तरिक सहमति, मुख्यमन्त्री भन्छन्- सम्भव छैन 

सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले २-२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय  पाउने गरी ५ मन्त्रालय बाँडफाँटको आन्तरिक सहमति भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते ९:३७

७ भदौ, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने तयारी गरेको हो ।

सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले २-२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय  पाउने गरी ५ मन्त्रालय बाँडफाँटको आन्तरिक सहमति भएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

पार्टीभित्रै आन्तरिक भागबण्डा नमिल्दा हालसम्म कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन । नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक गोपाल तामाङले पनि आन्तरिक छलफलपछि सरकारमा सहभागिताको विषय टुंगो लागेको बताए । ‘औपचारिक जानकारी त छैन, तर पाँच मन्त्रालयको अनौपचारिक जानकारी आएको छ,’ उनले भने, ‘औपचारिक जानकारी आएपछि सरकारमा सहभागी हुन्छौं ।’

कांग्रेसको आन्तरिक भाग मिलाएर अनुसारको व्यवस्थापनका लागि कोशीमा मन्त्रालय विभाजन गर्नुपर्छ । तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार छैनन् । मन्त्रालय विभाजन नगरे कांग्रेसलाई सहमतिभन्दा एउटा बढी मन्त्रालय दिनुपर्ने हुन्छ । किनकी ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।

कांग्रेसको आन्तरिक सहमति अनुसार अघि बढ्नका लागि मुख्यमन्त्री कार्कीसँग भएकै मन्त्रालयबाट कांग्रेसलाई पाँच मन्त्रालय दिने वा मन्त्रालय विभाजन गर्ने दुई विकल्प छन् ।

मुख्यमन्त्री कार्की तत्काललाई यी दुबै सम्भावना नरहेको बताउँछन् । प्रदेशमा अहिलेकै अवस्थामा मन्त्रालय नफुट्ने उनले बताए । कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । कांग्रेसको चाहाना विभाजन गरेर ११ बनाउने छ ।  प्रदेशको आवश्यकता अनुसार विभाजन गर्नुपर्ने कांग्रेस दलका नेता उद्धव थापाले बताए ।

तर मुख्यमन्त्री कार्की कांग्रेसको मागअनुसार सम्भव नभएको बताउँछन् । ‘उहाँहरुलाई पाँच वटा मन्त्रालय दिएर हामी एउटा कममा बस्नु पर्ने अरे ? ९ वटै लिए भयो नि त ! अहिले सम्भव छैन, त्या(विभाजन) गरिँदैन, उहाँहरुको  चाहना होला तर सम्भावना देख्दिन,’ उनले भने, ‘ त्यो गर्दै हुँदैन, अहिले सम्भव छैन ।’

केन्द्रबाट प्रदेशलाई बलियो बनाउने गरी थप अधिकार आएमात्रै कांग्रेसको माग पूरा हुन सक्ने मुख्यमन्त्री कार्कीले बताए । ‘माथिबाट प्रहरी समायोजन र अरु अधिकार थपिएपछि (विभाजन) हुने सम्भावना हुन्छ,’ उनले भने,’ अहिले हुँदैन, त्यो सम्भव छैन ।’

गत १२ साउनमा कांग्रेस एमालेबीच कोशीमा ४–४ मन्त्रालय भागबण्डा गर्ने सहमति थियो । तर नेपाली कांग्रेस भित्र डाक्टर शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय दाबी गरेपछि टुंगो लागेको थिएन । शीर्ष नेताबीच कोशी प्रदेशमा ११ वटा मन्त्रालय बनाउने सहमति भएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रदेशका विषयमा औपचारिक निर्णय आउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?