+

ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल खेल्ने

२०८१ भदौ  ७ गते ११:२७ २०८१ भदौ ७ गते ११:२७
ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल खेल्ने

७ भदौ, काठमाडौं । ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) खेल्ने भएकी छन् ।

मधेशले शुक्रबार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा लिगका लागि ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीको नाम घोषणा गरेको हो ।

यो सँगै इडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।

ट्युनिसियाकी योस्रालाई मधेश युनाइटेडमा अनुबन्ध गर्न पाउँदा खुशी खुशी लागेको मधेश युनाइटेडले जनाएको छ ।

योस्राको आगमनले मधेश युनाइटेडको ब्लकिङ पोजिसन अझ शसक्त हुने टिमको विश्वास छ ।

‘पहिलो पटक आयोजना हुन लागेको महिला भलिलबको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ’, मधेश युनाइटेडले विज्ञप्तिमा भनेको छ ।

ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्य समेत समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाइ १८४ सेन्टिमिटर छ ।

योस्राले मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।  ‘पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाइटेडबाट खेल्दैछु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु’, उनले भनेकी छन् ।

मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने  बताइन् ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू-२० महिला च्याम्पियनसिप खेले यू-२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

एभरेष्ट महिला भलिबल लिग योस्रा जेरामदिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय