+
+

बढ्याे दूध खपत, घट्याे पाउडर दूध उत्पादन

चितवन मिल्क मात्रै होइन, अन्य दूध प्रशोधन गर्ने उद्योगले पनि पाउडर उत्पादन कम गरिरहेका छन् । दुग्ध विकास संस्थान (डीडीसी) कै प्लान्टहरूमा पाउडर दूध उत्पादन कम हुन थालेको छ । डीडीसीको हेटौंडा र विराटनगर प्लान्टले सातामा एक–दुई दिन मात्रै पाउडर दूध उत्पादन गरिरहेको छ । 

अमृत चिमरिया अमृत चिमरिया
२०८१ भदौ ७ गते १४:२७

७ भदौ, काठमाडौं । चितवन ठिमुराको ‘चितवन मिल्क उद्योग’ बन्द छ । चार महिनादेखि दूध अभाव भएको भन्दै उद्योगले प्रशोधनको काम रोकिरहेको छ ।

चितवन मिल्कका सञ्चालक राजुबाबु श्रेष्ठका अनुसार उद्योगले गत जेठदेखि दूध नपाएपछि उद्योग बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यु (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

‘अहिले सहकारी र निजी फार्महरूले दूध नै ल्याउन सकेका छैनन् । प्रत्येक वर्ष यो सिजनमा उद्योग बन्द हुन्छ । यो पटक पनि भयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जेठदेखि भदौ आधा महिना प्रशोधनका लागि दूध नै आउँदैन ।’

उनले अघिल्लो वर्ष दूध अभाव नभए पनि यो पटक पश्चिम क्षेत्रमा दूध उत्पादनमा कमी आएको बताए ।

‘हुन त सिजन नै यस्तो भएर हो, तर यसपटक उद्योगलाई प्रशोधन गर्न चाहिने दूध नै उपलब्ध भएन,’ उनले भने ।

श्रेष्ठका अनुसार गत वर्ष उत्पादन भएको दुग्धजन्य सामग्रीको स्टक कतिपय अझै बाँकी छ । ‘अहिले स्टक सप्लाइ भइरहेको छ । गत वर्षका केही स्टक अझै छन्,’ उनले भने ।

उद्योगका एक कर्मचारीका अनुसार गत वर्ष उत्पादन भएको दुग्धजन्य पदार्थ दूध बिक्री गर्ने सहकारी र फार्मले नलिँदा दुई महिना भण्डारण गर्न समेत स्थान अभाव भएको थियो ।

चितवन मिल्क उद्योग ।

‘पोहोर सुरुमा दूध परिमाण ह्वात्तै बढ्यो । हामीले पनि किनेर प्रशोधन गरेर बटर र पाउडर दूध बनायौं तर पछि बिक्री भएन । त्यही भएर भण्डारण गर्ने ठाउँसमेत थिएन,’ ती कर्मचारीले भने, ‘अहिले दूध कम भएका बेला उद्योग बन्द गरेर स्टक कटाएपछि उद्योग सञ्चालन गर्ने तयारी छ ।’

२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको १ सय १३ र घ्यु (बटर) किलोको ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।

उत्पादन नहुनु पनि राम्रै हो : डीडीसी

चितवन मिल्क मात्रै होइन, अन्य दूध प्रशोधन गर्ने उद्योगले पनि पाउडर उत्पादन कम गरिरहेका छन् । दुग्ध विकास संस्थान (डीडीसी) कै प्लान्टहरूमा पाउडर दूध उत्पादन कम हुन थालेको छ । डीडीसीको हेटौंडा र विराटनगर प्लान्टले सातामा एक–दुई दिन मात्रै पाउडर दूध उत्पादन गरिरहेको छ ।

तर, दूधको घरेलु खपतले पाउडर दूध र बटर उत्पादन कम हुनु भनेको नेपालका लागि राम्रै रहेको डीडीसीका बजार शाखा अर्थविज्ञ अञ्जन अधिकारी बताउँछन् ।

‘हाम्रो देशमा दूध उत्पादन र खपतको सिजन ठ्याक्कै विपरीत छ । वर्षभरिको दूध उत्पादनको ६० प्रतिशत कात्तिकदेखि फागुनसम्म पाँच महिनामा उत्पादन हुन्छ भने खपत पनि त्यही अनुपातमा चैतदेखि भदौसम्म धेरै हुन्छ,’ अधिकारीले भने, ‘चैतदेखि खपत बढ्दा उत्पादन भने घट्छ ।’

उनका अनुसार चैतदेखि साउन, भदौसम्म गाईभैंसीको दूध पनि कम आउँछ । धेरैजसो गाईभैंसी भदौदेखि ब्याउने हुँदा त्यस्तो हुन्छ । अर्को चाहिँ चैतदेखि जेठसम्म खडेरी सुरु हुन्छ, डाले घाँसको पात झर्ने र पौष्टिक घाँस पनि कमी हुन्छ ।

त्यसैगरी दूध उत्पादनमा कमी आउँदा खपत पनि बढ्छ । ‘गर्मी सुरु हुने बित्तिकै दही, मही, लस्सी, आइसक्रिम जस्ता दुग्धजन्य पदार्थको खपत बढ्छ । असारमा दही खपत बढ्छ भने साउनमा माछामासुको खपत घट्दा दुग्धजन्य पदार्थको खपत बढ्छ । त्यसकारण यो बेला दूध अभाव हुनु स्वाभाविक हो,’ अधिकारीले भने ।

उनले उद्योगहरूले यो बेला भएको पाउडर दूध र बटरको स्टक सप्लाई गर्ने बेला भएकाले नयाँ उत्पादन नगर्ने बताए ।

‘निर्यात गर्न सकेका छैनौं, वर्षको एक सिजन घरेलु प्रयोजनमा दूध  खपत बढ्दा प्रशोधन गर्न नपर्नु समग्रमा राम्रै हुन्छ,’ उनले भने ।

खपत बढ्यो, भुक्तानी आएन : दुग्ध सहकारी संघ

नेपाल दुग्ध उत्पादक सहकारी संघले भने खपतको सिजन भए पनि पहिले अड्केको भुक्तानी अझै नआउँदा किसान समस्यामा रहेको जनाएको छ ।

‘अहिले दूध खपतको सिजन छ, किसानहरूको दूध डेरीबाट उद्योग नभई धेरैजसो घरेलु प्रयोजनमै गइरहेको छ । दूध प्रशोधन गर्न नपर्दा अहिलेको रकम पाए पनि वैशाख अगाडिको रकम अझै पूर्णरूपमा पाएको छैन,’ संघ अध्यक्ष अमरबहादुर कुँवरले भने ।

ठूला डेरी उद्योगले बजारमा आफ्नो उत्पादन बिक्री भइरहेको र प्रशोधन गर्नुपर्ने खर्च पनि नहुँदा यो बेला धमाधम भुक्तानी दिनुपर्ने उनी बताउँछन् ।

‘अहिले दूध खपतको सिजन मात्रै होइन, उद्योगहरूको खर्च पनि कम हुन्छ, यो बेला बक्यौता भुक्तानी गर्न सके, दूधको अर्थतन्त्र एउटा साइकलमा चल्छ,’ उनले भने, ‘देशभरिका किसानलाई सहकारी मार्फत भुक्तानी दिनुपर्ने भदौ पहिलो सातासम्म करिब ५ अर्ब बक्यौता छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?