+
+

साताको सेयर बजार : यी हुन् मूल्य धेरै बढेका र घटेका १८ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १५:५२

७ भदौ, काठमाडौं । गत साता ३०००.८१ अंकमा रहेर बन्द भएको सेयर बजारमा यो साता २६ अंकको करेक्सन देखियो । जम्मा तीन दिन मात्रै कारोबार भएको यो साता २९७४ अंकमा रहेर बन्द भयो । कारोबार भइहरहँदा तीनै दिन उच्च उतारचढाव देखिए पनि बजार गत साताको तुलनामा यो साता न्यून अन्तर रहन पुग्यो ।

सेयर बजारले ठूलै करेक्सन लिन सक्ने एउटा पक्षको अनुमान र ३१९८ अंकको पुरानो रेकर्ड तोड्न सक्ने अर्को पक्षको अनुमान यो साता पूरा भएन । अघिल्ला धेरै साता उच्च दरमा बढेको बजार यो साता केही सन्तुलित देखिएको छ । प्राविधिक भाषामा यो साता ३ हजार अंक प्रतिरोधक बन्यो । कारोबारका क्रममा तीनै दिन पटक पटक ३ हजार अंकलाई बजारले छोए पनि कारोबार बन्द हुँदा ३ हजारमाथि अडिन सकेन ।

साताको पहिलो दिन आइतबार नै बजार ३ हजारबाट ३४.४७ अंक घट्यो र २९६६ मा झ¥यो । सोमबार र मंगलबार सार्वजनिक विदाका कारण कारोबार भएन । बुधबार २.११ र बिहीबार ६.०१ अंक बढेपछि यो साता बजारको ‘करेक्सन’ पनि साँघुरो बन्यो । अन्तिम दिन बिहीबार मध्यान्हपछि बजारमा एकाएक उत्साह देखिँदा १२ ः ४५ बजे नेप्से ३०१८ अंकसम्म पुगे पनि टिक्न सकेन । अन्ततः यो साता ३ हजार अंक नै बजारमा प्रतिरोधक बन्यो ।

यसको अर्थ बजारमा खरिद पक्ष केही कमजोर देखियो भने बिक्री गर्नेहरु पनि आत्तिएनन्, जसको प्रभावले परिसूचकमा पनि ठूलो उतारचढाव देखिएन । अर्कोतर्फ कारोबार रकममा पनि कमी आएको छ । गत साताको अन्तिम दिन ३० अर्बनजिक पुगेको कारोबार यो साताको अन्तिम दिन भने १९ अर्बमै खुम्चियो । पहिलो दिन आइतबार २८ अर्ब ८३ करोडको कारोबार भए पनि सोमबार १८ अर्ब ९० करोड र मंगलबार १९ अर्ब १६ करोडमा सीमित भयो ।

यो साता बजारको पूँजीकरण पनि घटेको छ । गत साता हाल बजारको पूँजीकरण ४७ खर्ब ६५ अर्ब रहेकोमा यो साता ४७ खर्ब २४ अर्बमा झ¥यो । यसको अर्थ यो साता लगानीकर्ताको सम्पत्ति मूल्य ४१ अर्ब घटेको छ ।

फाइनान्स र विकास बैंकमा उच्च वृद्धि
यो साता फाइनान्स र विकास बैंक समूहमा उच्च वृद्धि देखियो । गत साता पनि सबैभन्दा धेरै १५ प्रतिशत बढेको फाइनान्स यो साता पनि सबैभन्दा धेरै बढ्यो । यद्यपि वृद्धिदर भने ३.३० प्रतिशतमा साँघुरिएको छ।

फाइनान्स समूहको सूचक हाल ३९७५ अंकमा कायम भएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण कमजोर देखिए पनि न्युन पुँजीका कारण यो क्षेत्रको सूचकमा उच्च वृद्धि देखिएको हो ।

फाइनान्समा अन्य क्षेत्रको तुलनामा जोखिम पनि बढेको छ । बजारमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये करिब आधाले यो वर्ष लाभांश दिने क्षमता छैन । लाभांश दिन सक्ने क्षमता भएकाहरुको पनि दोहोरो अंक दरमा दिने क्षमता छैन ।

फाइनान्सपछि यो साता विकास बैंकमा उच्च वृद्धि देखियो । सो समूहको सूचक २.९ प्रतिशत बढ्यो । अन्तिम दिन बिहीबार एकैदिन ४.५२ प्रतिशतले बढ्दा यो समूह पोजेटिभ रहन गएको हो । विकास बैंक समूहको सूचक ३ वर्षयताकै उच्च ५९३० विन्दुमा पुगेको छ । बजारमा कुल १६ वटा विकास बैंक सूचीकृत छन् ।

साल्ट ट्रेडिङले घटायो व्यापार समूह
यो साता व्यापार समूहको सूचकमा सबैभन्दा धेरै ४.८८ प्रतिशतको गिरावट आएको छ । यो समूहमा यति ठूलो गिरावट आउनुको मुख्य कारण साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य घट्नु हो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् – साल्ट ट्रेडिङ र विशाल बजार कम्पनी ।

पुँजीकरणका आधारमा साल्ट ट्रेडिङ कम्पनी विशाल बजारको तुलनामा धेरै ठूलो छ । जसले गर्दा समूहलाई बढी प्रभाव पार्दछ । गत साता ६ हजार ८९९ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यो साता ५.२ प्रतिशत घटेर ६५४० रुपैयाँमा झर्‍यो ।

कम्पनीको मूल्य घट्नुको मुख्य कारण भने नाफा घट्नु हो । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो । बिक्री लागतसँगै कर्मचारीको बोनस, ब्याज खर्च बढ्नुले कम्पनीको नाफामा असर पारेको देखिन्छ ।

उच्च कारोबार
यो साता पनि सेयर बजारमा समूहत रुपमा उच्च कारोबार हुनेमा हाइड्रोपावर समूह अगाडि रह्यो । तीनै दिन हाइड्रोपावर समूहको कारोबार रकम ५–५ अर्बभन्दा माथि रह्यो । कुल कारोबारमा हाइड्रोपावर समूहको मात्रै औसत ३५ प्रतिशत हिस्सा हुने गरेको छ ।

त्यस्तै यो साता उच्च रकमको कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, कुमारी बैंक, सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप पावर, शिवम् सिमेन्ट, निफ्रा र एचआईडीसीएल क्रमशः अगाडि रहे । यो साता ३ दिन कारोबार हुँदा यी सबै कम्पनीको कारोबार रकम १–१ अर्बभन्दा माथि रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?