+
+

‘मोबाइलमा छोराछोरी के गरिरहेका छन् अभिभावकले विचार गर्नुपर्छ’

छोराछोरीले फोन चलाएकोमा चिन्ता गरेर मात्रै पुग्दैन । त्यसभित्र उसले के हेर्छ, कोसँग कुरा गर्छ र कस्तो कुरा गर्छ भनेर अभिभावकहरू सचेत हुनुपर्छ । किनकि अहिले साइबर अपराधमा नाबालक र नाबालिकाहरू बढी संलग्न देखिन्छन् ।

अनिल रघुवंशी, अध्यक्ष, चाइल्ड सेफ नेट अनिल रघुवंशी, अध्यक्ष, चाइल्ड सेफ नेट
२०८१ भदौ ७ गते १८:०५

अहिलेका किशोर–किशोरीहरू प्रविधिमा अन्य उमेर समूहका व्यक्तिहरूभन्दा अगाडि छन् । उनीहरू स्वभावले पनि जिज्ञासु हुन्छन् र नयाँ कुराहरू सिक्न खोजिरहेका हुन्छन् । अहिलेको पुस्ता प्रविधिमा एकदमै स्मार्ट छ । तर, उनीहरू प्रविधिको प्रयोग गर्दा के गरिरहेका छन् र त्यसले अरूलाई के असर गरिरहेको छ भन्ने मामिलामा गम्भीर देखिंदैनन् ।

कसैले रमाइलो र उत्सुकताका कारण कसैको आईडी ह्याक गरेको भनेका छन् । कसैले जिज्ञासाका कारण आर्टिफिसियल इन्टलिजेन्स (एआई) को प्रयोग गरेर कसैको फोटो, भिडियो बिगारेर पोष्ट गरेको बताएका छन् ।

तत्काललाई उनीहरूले यो कामलाई बहादुरीको रूपमा लिए पनि त्यसले अरूलाई असर पार्न सक्छ र त्यसले आफूलाई प्रहरी हिरासतसम्म पुर्‍याउन सक्छ भन्नेमा सचेत भएको देखिंदैन । यस्तो गतिविधिमा संलग्नमध्ये थुप्रै व्यक्ति कानुनी दायरामा पुगेका छैनन् ।

प्रहरीकहाँ रिपोर्ट हुने दर पनि एकदम न्यून छ । त्यसैले किशोर–किशोरीहरू मैले त्यसो गर्दा के हुन्छ र भनेर पनि अपराधमा संलग्न भइरहेका छन् । एक पटक गरेको गतिविधिमा उन्मुक्ति पाउँदा उनीहरू डिजिटल संसारमा थप अपराध गर्न प्रोत्साहित भइरहेका छन् । कतिपय घटनामा ‘मैले फेक आइडीबाट गरिरहेको छु, कसले चिन्छ, कसले थाहा पाउँछ’ भन्ने हिसाबले सामान्य रूपमा लिएको पनि पाइन्छ ।

अनलाइनमा के के गर्नुहुन्छ, के के गर्नुहुँदैन भन्ने विषयमा उनीहरूलाई शिक्षा भएको देखिंदैन । अहिलेका किशोर–किशोरीमा एकदम धेरै नकारात्मकपन र देखासिखी बढी छ । साथीहरूले गरिरहेको छ भने म पनि गरौं न भन्ने भएकाले नेपालमा मात्रै होइन, अन्य मुलुकमा पनि साइबर अपराधमा नाबालक र नाबालिकाहरू बढी संलग्न देखिन्छन् ।

यस विषयमा ‘चाइल्ड सेफ नेट’ मार्फत हामीले रिसर्च पनि गरेका छौं । अनलाइनमा किशोरकिशोरी कसरी जोखिममा पर्छन् ? अनलाइनमा कसरी प्रेममा पर्ने किशोरकिशोरी हिंसाको शिकार भइरहेका छन् ? भन्नेबारे विस्तृतमा खोजी गर्ने कोसिस गरेका छौं । यसमा रोचक के फेला पर्‍यो भने किशोरी मात्रै होइन, किशोर पनि यसबाट पीडित छन् ।

तर, प्रहरीको तथ्यांक हेर्ने हो भने ठिक विपरीत पाउनुहुन्छ । कारण, किशोरहरू हिंसामा परेका छन् भने एकदमै न्यून मात्र रिपोर्ट हुने रहेछ । प्रायः प्रहरीकहाँ किशोरीहरूको उजुरी पुग्छ । तर, हामीले गरेको अध्ययनका क्रममा किशोरहरू पनि पीडित भएको फेला पर्‍यो, कतिले वास्ता नगरी छाडिदिएको पाइयो भने कतिले उजुरी गरे पनि के हुन्छ र भनेर छाडेको पाइयो ।

यस्तो विषयमा किशोरीहरू जुन हदसम्म संवेदनशील छन्, किशोरहरूमा त्यस्तो देखिएन । अर्थात्, विभिन्न कारणले किशोरहरू पीडित भएको कुरा प्रहरीसम्म पुग्दो रहेनछ । अनलाइनमा हुने घनिष्ठ सम्बन्धभित्रको हिंसाबारे अध्ययन गर्दा अर्को कुरा के थाहा भयो भने अधिकांश पूर्व सम्बन्धमा रहेका पार्टनरबाट हिंसामा पर्ने गरेको देखिएको छ । पहिले सम्बन्धमा भएकाले बदला लिन यस्ता गतिविधि गर्ने गरेको देखिएको छ । साथीहरूलाई पठाउने र बदला लिने प्रवृत्ति छ ।

परिवार पनि कस्तो भयो भने छोराछोरीले फोन चलायो भनेर चासो र चिन्ता पनि छ । तर, त्यसभित्र उसले के हेर्छ, कोसँग कुरा गर्छ र कस्तो कुरा गर्छ भन्ने खोजी गरेको पाइँदैन ।

अर्को एउटा गम्भीर कुरा के छ भने कतिपय संगठित रूपमै ‘सेक्सटर्सन’मा संलग्न भएको पनि देखिएको छ । यो भनेको अश्लील तस्वीर, भिडियो देखाएर ब्ल्याकमेल गर्नु हो । यसमा वयस्कहरू नै संगठित रूपमा लागेका घटना पनि छन् । तर, कम उमेर समूहका व्यक्तिहरू पनि यसमा संलग्न देखिएका छन् ।

कतिपयलाई किशोरकिशोरीलाई यस्तो विषयमा रिपोर्ट गर्नुपर्छ भन्ने पनि थाहा भएको देखिंदैन । किनभने, धेरै जस्तो घटनामा आफू पहिले सम्बन्धमा भएका व्यक्ति नै पीडक भएका हुन्छन् । धेरैले डरका कारण पनि नभनेको पाइन्छ । यस्तो अपराध गर्नलाई धेरै पढेको पनि हुनु परेन । जसले पनि गर्न सक्ने भयो । त्यसैले यसमा जुनसुकै स्थान र जतिसुकै अध्ययन गरेका वा नपढेका पनि जोडिएका छन् ।

मूलतः इन्टरनेट प्रयोगको सम्बन्धमा सिर्जना भएको असुरक्षा किशोरकिशोरीमा शिक्षा र चेतनाको कमी भएकाले हो । त्यसो भएकाले उनीहरूले आफू कसरी सुरक्षित हुने भन्ने जानेनन् । कलिलैमा प्रेम सम्बन्धमा हुँदा उनीहरूले एकअर्कामा पासवर्ड पनि आदानप्रदान गर्ने भए ।

परिवार पनि कस्तो भयो भने छोराछोरीले फोन चलायो भनेर चासो र चिन्ता पनि छ । तर, त्यसभित्र उसले के हेर्छ, कोसँग कुरा गर्छ र कस्तो कुरा गर्छ भन्ने खोजी गरेको पाइँदैन । अंग्रेजीमा कन्ट्याक (कोसँग सम्पर्क गर्छ), कन्टेन्ट (के हेर्छ, कस्तो साइटमा हेर्छ) र कन्डक्ट (कस्तो कुरा गर्छ ? आफ्नो फोटो, पासवर्डहरू कोसँग शेयर गर्छ ? कस्तो कुरा गर्छ ?) यी विषयमा अभिभावकहरू आफैं सचेत हुनुपर्छ ।

अभिभावकले गर्नुपर्ने प्यारेन्टिङबारे पनि हामीले छुट्टै रिसर्च गरेका छौं । त्यसको उद्देश्य हरेक किशोरकिशोरीले भौतिक हिंसाबाट सुरक्षित हुन पाउने अधिकार जस्तै भर्चुअल हिंसाबाट पनि सुरक्षित हुने अधिकार राख्छ भन्ने बुझाउनु थियो ।

अभिभावकको सही मार्गदर्शनले किशोरकिशोरी अनलाइन यौन हिंसाबाट बच्न सक्छन् भन्ने अध्ययनको निष्कर्ष थियो । त्यसैले सबैभन्दा पहिले अभिभावकले पनि अनलाइन सुरक्षाबारे बुझ्नुपर्छ भन्ने हाम्रो अध्ययनको निष्कर्ष थियो ।

(अनलाइनमा बालबालिकाको सुरक्षाबारे काम गर्ने संस्था ‘चाइल्ड सेफ नेट’ का अध्यक्ष रघुवंशीसँग गरिएको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?