+
+
फोटोकथा :

लोदेनको यात्रा : चौंरी गोठ चहार्दै भूतपोखरी पुग्दा

कमल प्रसाई कमल प्रसाई
२०८१ भदौ ८ गते ८:११

‘म यो देशलाई स्विट्जरल्यान्ड बनाउँछु ।’

जब-जब विकासको कुरा आउँछ, हाम्रा नेताहरु यसै भन्छन् । त्यसो हो भने ठोकुवा गरेरै भन्न सकिन्छ, उनीहरुले लोदेनको भूमि टेकेकै छैनन् ।

लोदेन, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अवस्थित एक मनोहर गन्तव्य । यो लेकाली भूगोल झरना र जलकुण्डहरु यति सुशोभित छ, जहाँ पुगेपछि तपाईंको आँखा अघाउँदैन । लेकाली वनफूलले ढकमक्क भूगोल, पहाडको खोंचबाट झरिरहेको भुवादार झरना, तीव्र वेगमा बगिरहेको कञ्चन खोला, आकाशको प्रतिविम्ब आफूमा समेटेर मस्त सुस्ताइरहेको जलकुण्ड । अनि बेतोडले दौडिरहेका नाउर, आफ्नै सुरमा चरिरहेका चौंरी र भेडाका बथानहरु । ठाउँ-ठाउँमा गोठ, बस्ती ।

यस्तो लाग्छ, कुनै चित्रकारले मिहिनेतसाथ बनाएको मनमोहक ल्याण्डस्केप हो यो ।

लोदेनको प्रवेश गर्दै गर्दा थकाइ मार्ने ठाउँ

मध्य वर्षाको बेला हामी लोदेनको सौन्दर्यमा रमाइरहेका थियौं । समुद्री सतहभन्दा ४ हजार मिटरको यो अग्लाइमा पुगेपछि बेग्लै ताजापन महसुस हुने । प्राकृतिक छटाहरुले आगन्तुकलाई यसरी मोहनी लगाउँछ कि, यो ठाउँ छाडेर जान मन नै लाग्दैन । साँच्चै भन्ने हो भने, मनको उदासी, दुःख, पीडाहरु सबै पखालिने ।

ताप्लेजुङको पश्चिम-उत्तर दिशामा रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन क्षेत्र एक हिमाली क्षेत्रको घाँसे मैदान क्षेत्र हो । स्थानीयहरु भन्दै थिए, यहाँ सयौं पोखरी छन् । यस आसपासमा कति पोखरी छन् ? ठ्याक्क कसैले गन्ती गरेका छैनन् । कुइने पोखरी, लाम पोखरी, सोना पोखरी, हाँस पोखरी, सोदु पोखरी, भूतपोखरीहरु भर्खरै चर्चामा आउन थालेका पोखरी हुन् ।

लोदेनलाई छाडेर अगाडि बढेपछि भेटिन्छ, तोक्पेगोला । त्यहाँ आगन्तुकलाई सोदु पोखरी र भूत पोखरीले स्वागत गर्छ । मिक्वाखोला गाउँपालिकाको मूल जलाधार मिक्वा खोलाको उद्गमसमेत रहेछ यो । सोदु पोखरीमा टपरीमा दियो बालेर एक छेउबाट अर्को छेउसम्म बगायो भने मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ । भूत पोखरीसँग चाहिं स्थानीयहरु डराउने रहेछन् । उहिले लामाहरुलाई पोखरीमा तानेर डुबाएको कथनले गर्दा पनि उनीहरु पोखरी आसपास जान डराउने रहेछ ।

भूत पोखरी, जसलाई झट्ट हेर्दा कुनै जीवको भयानक आँखा जस्तो देखिन्छ

हुन पनि यो ठाउँ जति सुन्दर छ उत्तिनै विकट पनि । त्यहाँसम्म पुग्न कुनै तेलको विज्ञापनमा भनिए झै, मुटु चाहिन्छ मुटु ।भिरालो र साँघुरो बाटो । एकदमै होशियारपूर्वक पाइला चाल्नुपर्ने । हामी लगभग १५ जनाको टोली जोशमा होश नगुमाई लोदेन पुगेका थियौं । भ्लगर सागर लामिछाने, राजीव श्रेष्ठ, इँगिहिपो कोइँच सुनुवार, तोप्ला शेर्पा, दावा छेतेन शेर्पा, राजन क्षेत्री, मकवान सिं लिवाङ, किरण लिवाङ, दावा शेर्पा, राम कार्की, राजीव मावोहाङ र विरेन पाङ्वोहाङसहित नुपु शेर्पा र ओङचुक शेर्पा लगायतका साथीहरु टोलीमा सामेल थिए ।

यात्राको थालनी भने तीन जनाले गरेका थियौं, काठमाडौंबाट । अरु साथी ताप्लेजुङबाट हाम्रो यात्रामा मिसिएका थिए ।

पहिलो दिन काठमाडौंबाट भिमानको बाटो हुँदै धरान निक्लिएर हामी भेडेटारमा बास बस्न पुगेका थियौं । बिहान ९ बजे खाना खाएर तमोर कोरिडोर हुादै पाँचथरको जोरसाल पुग्यौं र ताप्लेजुङको सदारमुकाम फुङ्लिङमा बास बसियो । यहाँसम्म हामीले मोटरसाइकलमा यात्रा गरेका थियौं । अब भने कहिले गाडीमा त कहिले पैदल हिँड्दै हामी फुङफुङे झरना पुग्यौं । त्यहाँ धीत मरुञ्जेल फोटो खिचेर उक्लिएपछि सिम्बुक भेटियो । त्यहाँको होमस्टेमा हामीले न्यानो आतिथ्य ग्रहण गर्‍यौं। त्यसको दोस्रो दिन बिहानै खाना खाएर हामी लोदेनका लागि हिंड्यौं ।

सिम्बोक गाउँ

लोदेनको रोमाञ्चक यात्रासँगै हामी मोडियौं, छ्योथाङगामागा । त्यसरात हाम्रो वासस्थान यही थियो । छ्योथाङ्गादेखि पाँचमङ्ले, पाँचमङ्गलेदेखि तोक्पेगोला पुग्यौं । हामीले यात्रा थालेको पाँचौ दिन भइसकेको थियो र तोक्पोगोलामामा एक दिन विश्राम गर्ने निधो गरियो । त्यहाँ महोत्सव हुँदै थियो । यो लेकाली महोत्सवको रमझममा दिनभर रमाएपछि अर्को दिन हामीले तोक्पेगोला छाडेर फुङेलिङ हुँदै आफ्नो यात्रालाई बिट मार्‍यौं।

विकास पूर्वाधार र पर्यटकिय प्रचार प्रसार नहुँदा यति सुन्दर ठाउँहरु अझेलमा छन् । ती ठाउँहरुले आगन्तुकलाई हरदम आमन्त्रण त गरिरहेका छन् तर आवश्यक गाँस बासको लागि ढुक्क हुन सकिदैन । ठाउँ ठाउँको गोठमा बस्ने, उपलब्ध खानेकुरा पकाएर खाने गर्दै त्यस क्षेत्र चाहर्न सकिन्छ ।

भौगोलिक बनौट र प्राकृतिक छटाहरुले मनोरम यी गन्तव्यहरु पुगेपछि लाग्यो, ‘हामीले हाम्रो देश अझै देखेका रहेनछौं ।’

सोना पोखरीमा थकाइ मार्दै
हेरिरहुँ लाग्ने फुङफुङ्गे झरना
तोक्पेगोलास्थित सोदु पोखरीको सुन्दरता
तोक्पेगोला गाउँ, भूतपोखरी र झरना एउटै फ्रेममा
लोदेनको खोला तर्दै
लोदेनको कुहिने पोखरी र लाम पोखरी
खर्कमा चर्दै याकहरु
तोक्पेगोलाको सेरोफेरो, जहाँ महोत्सव हुँदै थियो
नाउरको बथान
तोक्पेगोलाको भेडी गोठ र चरन क्षेत्र
बनफूलको पृष्टभूमीमा सुस्ताउँदै
तोक्पेगोलाको खर्कमा चरिरहेका याकहरु
लेकका हामी केटाकेटी, लोदेनको खर्कमा बाख्रा चराउँदै
कुहिरोभन्दा मुनी जलकुण्ड
लोदेनको बाटो उक्लदै
लेकको बाटोमा खाद्यन्न ढुवानी गर्ने याकहरु
फुङफुङ्गे झरना
तोक्पेगोलाको ल्याडस्केप
तमोर नदीको किनारै किनार
थकाई मार्दै, भलाकुसारी गर्दै
कुहिरोभित्र ताप्लेजुङ सदारमुकाम फुङ्लिङ बजार
सिन्धुलीको नागबेली बाटो
तोक्पेगोला महोत्सवको तामझाम
फोटोका लागि पोज दिदै सहयात्रीहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?