+
+

काठमाडौंमा पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १८:५५

७ भदौ, काठमाडौं । पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ ।

पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के–के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के–के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने उनको भनाइ छ ।

कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए ।

सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको उनको भनाइ छ ।

पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।

‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।
सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतले आ-आफ्नो सुझाव दिने कार्यक्रम रहेको छ ।

यसैगरी महानगरपालिका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?