+
+

प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते १९:११

७ भदौ, काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेको छ ।

दुई वटा उजुरी इमेलबाट र ७ वटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर परेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र ९ वटा उजुरी परेको गिरीले जानकारी दिएका हुन् ।

उजुरीहरुमा केही व्यक्तिगत र केही सामुहिक रहेको बताइएको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।

राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका उजुरी परेका छन् ।

यसअघि पनि समावेशिताको प्रश्न उठाएर समितिमा उजुरीहरु परेका थिए । गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरुको नाम सिफारिस गरेको थियो । तर, पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको थियो ।

अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन ।

समितिले प्राप्त १७ जना प्रस्तवित राजदूत उपर उजुरी आह्वान गरेको हो ।

प्रस्तावित राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।

यस्तै इजलायलका लागि धनप्रसाद पण्डित, मलेलियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिमाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल र कतारका लागि रामेशचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

अब प्राप्त उजुरी एकीकृत गरेर खोलिने, उजुरीकर्तालाई उजुरीको कारण र आधार प्रस्तुत गर्न दिएर प्रस्तावित राजदूतको सुनुवाइको कार्य अगाडि बढ्ने समिति सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?