+
+

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु

रासस रासस
२०८१ भदौ ७ गते १९:५७

७ भदौ, बेनी । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । म्याग्दीमा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थान लिएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको छ । जिल्लामा कूल एक हजार सात सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ ।

हिउँदे आलु अधिकांश जिल्लामै खपत हुने भए पनि बर्खे आलु भने अधिकांश जिल्ला बाहिर निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

म्याग्दीको जनसङ्ख्या अनुसार, सरदर वार्षिक तीन हजार तीन सय मेट्रिकटन आलु जिल्लामा खपत हुने र अरु सबै आलु जिल्ला बाहिर निर्यात हुने उनको भनाइ छ । जिल्लाबाट निर्यात हुने कृषिउपजमा आलु प्रमुख स्थानमा आएको छ ।

जिल्लाबाट धेरै परिमाणमा निर्यात हुने कृषिउपजमा आलु र सुन्तलाले ठूलो हिस्सा ओगटेको छ । जिल्लाको लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले बर्खे आलुमा जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको कृषक बताउँछन् ।

जिल्लाको छवटै स्थानीय तहमा आलुखेती हुने गर्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा उत्पादन भएको आलु धेरैजसो पोखराका बजारमा पुग्ने गर्छ ।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको र पछिल्लो समय पोखराका बजारसम्म आलु पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका– ८ का कृषक खमबहादुर पुनले बताए ।

‘कुनै समय आलु बिक्री नभएर कुहिएर जान्थ्यो, आज गाडीबाट गाउँमै आलु खोज्न आउनेहरु पनि छन, बेनी, कुस्मा र पोखरा कृषक आफैँले ढुवानी गरेर बिक्री गर्न पनि लैजाने गर्छौं, उत्पादन भएको आलुको बिक्री नहुने चिन्ता छैन’, उनले भने ।

आलुखेतीबाट जिल्लाका किसानले नगद आम्दानीसमेत गर्दै आएका छन् । आलु अहिले नगदे खेतीका रुपमा विस्तार हुन थालेको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट एक वर्षमा कूल ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन गरिएको हो ।

गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलुखेतीलाई प्राथमिकतामा राखेर आलुखेतीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत एक हजार छ सय ८३ दशमलव ९३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत करिब एक सय हेक्टर क्षेत्रफलको जमिनमा आलुखेती विस्तार गरिएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको पहाडी भेगमा हिउँदे र माथिल्लो उच्च पहाडी क्षेत्रमा बर्खे आलुखेती हुँदै आएको छ ।

स्थानीयले परम्परागत रुपमा निर्वाहमुखी रुपमा गर्दै आएको आलुखेतीमा स्थानीय र प्रदेश सरकारमार्फत बीउ, मेसिन उपकरण तथा रोगकिरा व्यवस्थापनमा अनुदान र उपचार सेवा पाउन थालेपछि कृषकले आलुखेतीलाई व्यावसायिक बनाउन थालेका छन् ।

अहिले बर्खे आलु बिक्री भइरहेको छ भने आलुको प्रतिकिलो बजार मूल्य ६० देखि ९० रुपैयाँसम्म रहेको छ । जिल्लामा आलुखेतीमा रहेको सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले यस वर्ष खायन आलुखेतीका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरेको छ । कृषि ज्ञानकेन्द्र कार्यालयले सञ्चालन गर्ने कार्यक्रममध्ये यो सबैभन्दा ठूलो बजेट हो ।

यस कार्यक्रमलाई समूह, सहकारीमार्फत जिल्लालाई आलुमा आत्मनिर्भर बनाउनेगरी परिचालन र कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?