+
+

बढ्न सकेन निजी क्षेत्रमा उत्साह, साउनमा घट्यो वैदेशिक व्यापार

चालु आवको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाखको वस्तु आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ७ गते २०:१६

७ भदौ, काठमाडौं । पछिल्लो दुई आर्थिक वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा पनि कायम देखिएको छ । आयातमाा निर्भर नेपाली अर्थतन्त्रमा आवको पहिलो महिनामा आयात र निर्यात अघिल्लो वर्षको तुलनामा घटेको छ ।

ठूला दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदे सहमति सहित असार अन्तिममा बलियो सरकार गठन भएको थियो । जसबाट निजी क्षेत्र र व्यवसायीको मनोबल बढेको र अर्थतन्त्रमा सुधार देखिएको दाबी प्रधानमन्त्री र अर्थमन्त्रीले गर्दै आइरहेका छन् । तर, भन्सार विभागले प्रकाशित गरेको  साउनको वैदेशिक व्यापारको तथ्यांकले भने आयात र निर्यात दुवैमा संकुचन भएको देखाएको छ ।

चालु आवको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाखको वस्तु आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को यसै महिनामा १ खर्ब २९ अर्ब २३ करोड ९० लाख रुपैयाँको वस्तु आयात भएकोमा चालु आवको साउनमा ०.६७ प्रतिशतले कमी आएको हो ।

यस्तै गत आवको साउनमा १३ अर्ब ५२ करोड ८७ लाखको वस्तु निर्यात भएकोमा चालु आवमा ९.६३ प्रतिशतले घटेको हो । आयात र निर्यात दुवैमा संकुचन आउँदा कुल वैदेशिक व्यापार घटेको छ ।  तर, आयातको तुलनामा निर्यातको गिरावट उच्च हुँदा व्यापार घाटामा भने सामान्य वृद्धि भएको छ ।

व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब १५ करोड १० लाख पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनमा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख व्यापार घाटा थियो । कुल वैदेशियक व्यापार भने १.५२ प्रतिशतले कमी आई १ खर्ब ४० अर्ब ६० करोडमा झरेको छ । गत आवको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख थियो ।

निर्यातमा करिब १० प्रतिशतले गिरावट हुँदा आयात-निर्यात अनुपात पनि ९.५५ प्रतिशतबाट १०.५ प्रतिशत पुगेको छ । यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.७८ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा आउँदा आयातको हिस्सा ९०.५२ प्रतिशतबाट पनि वृद्धि भई ९१.३० प्रतिशत पुगेको छ ।

आयात र निर्यात दुवैमा संकुचन भएपनि  साउनमा भन्सार राजस्व भने बढेको छ । गत आर्थिक वर्षको साउनमा ३२ अर्ब ३३ करोड ७३ लाखभन्सार राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको  साउनमा ३४ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा राजस्वमा ६.५९ प्रतिशतले सुधार भएको हो ।

पेट्रोलको बढ्दा घट्यो डिजेलको आयात  

साउनमा २१ अर्ब ६६ करोड ९० पेट्रोलियम पदार्थ (इन्धन) आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थको आयात चालु आवमा घटेको छ ।

साउनमा ६ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको डिजेल ५ अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र ४ अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्याँस आयात भएको हो । चालु आवमा पेट्रोलको आयात बढे पनि डिजेलको आयात भने घटेको छ ।

पेट्रोलियम पदार्थपछि मेसिनरी र त्यसका पार्टपुर्जा १० अर्बको आयात भएको छ । त्यस्तै विद्युतीय उपकरण र तयसको पार्टपुर्जा ९ अर्ब ६४ करोडको आयात भएको हो । फलाम र त्यसबाट बनेका र स्टिलको आयात ९ अर्ब ६३ करोड, गाडीको आयात ६ अर्ब ४९ करोड र कृषिका लागि मलखादको आयात ६ अर्ब १८ करोडको भएका भन्सार विभागले जनाएको छ ।

निर्यात तर्फ कार्पेट र अन्य टेक्सटाइलहरू १ अर्ब १८ करोडको निर्यात भएको छ । फलाम र स्टिलजन्य उत्पादन १ अर्ब १० करोडको निर्यात हुँदा चिया-कफी लगायतका उत्पादन ९४ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?