+
+

विभिन्न समुदाय र संस्कृतिलाई बुझ्ने लोभमा धेरै फिल्म खेले : दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १९:०८

दयाहाङ राई पछिल्लो छिमलका सबभन्दा व्यस्त कलाकार हुन् । २०८० देखियता मात्रै उनका झन्डै एक दर्जन फिल्म रिलिज भएका छन् । धेरै फिल्म खेलेको भनेर उनको आलोचना पनि भएको छ । उनी भने यसलाई धेरै समुदाय र संस्कृतिका कथा बुझ्ने र बुझाउने अवसरका रूपमा लिएको बताउँछन् । अभिनेता राईलाई अनलाइनखबरले गरेका ८ प्रश्न :

गत वर्ष तपाईंका ९ वटा फिल्म रिलिज भए । यति धेरै फिल्म खेल्नुको कारण आर्थिक नै हो कि अरू पनि केही छन् ?

धेरै फिल्म खेल्यो भन्ने कुरालाई अस्वीकार गर्न मिल्दैन । जे-जति कारणले भए पनि एउटै वर्षमा ९ वटा फिल्म आउनु भनेको धेरै नै हो । हेर्ने नै हो भने पछिल्लो १२-१४ महिनामा जम्मा ३०-३५ दिन बाहेक वर्षैभरि मेरो फिल्म हलमा लागे । वैशाख १ गतेदेखि चैत ३० गतेसम्म फिल्म रिलिज भए । तिनैमध्ये चारवटा फिल्म जारी, दयारानी, बिहे पास र नीरफूल चाहिं तीन वर्ष अगाडि खिचिएका थिए । कोभिडले गर्दा फिल्म खप्टिन पुगे । तैपनि, फिल्म रिलिज भएपछि अस्वीकार गर्न त मिल्दैन । तर, योसँगै अर्को महत्वपूर्ण कुरा चाहिं कस्तो कस्तो फिल्म खेलियो त भन्ने होला ।

तपाईंको आफ्नो मूल्यांकनमा यी फिल्म के-कस्ता थिए त ?

तपाईंले गएको वर्षका मेरा केही फिल्म जस्तै, जारी, दयारानी वानीरफूल लाई हेर्नुभयो भने यिनले भिन्न भूगोल र संस्कृतिको कथा बोकेर आएका छन् । यी फिल्मले भिन्न संस्कृति र विश्वास पद्धतिलाई ठूलो दर्शक समूहसम्म पुर्‍याउने काम गरेका छन् भन्ने मलाई लाग्छ । त्यसमा सफल कत्तिको भइयो भन्ने अलग कुरा होला, प्रयत्नचाहिं हामीले गरेको हो । जारी ले पूर्णतः लिम्बू जीवन, संस्कृति र विश्वास पद्धतिको कथा भनेको छ भने दयारानी ले गुरुङ संस्कृति र भूगोलको कुरा ल्याएको छ, नीरफूल ले तामाङको । यो वर्ष आएकामा पनिगाउँ आएको बाटो मा राई र घरज्वाईं मा मगरको कथा छ । म यसपछि कार्साङ भन्ने फिल्म गर्दैछु, त्यसले शेर्पा समुदायको कथा ल्याउँदैछ ।

तपाईंको भनाइको आशय चाहिं नेपाली समाजका विभिन्न संस्कृतिका कथा आएकाले अस्वीकार गर्न सकिनँ भन्ने हो ? त्यस्ता कथामा तपाईंको विकल्प कोही पनि छैन ?

यसमा मैले खेल्नुपथ्र्यो वा अरू कसैले पर्थ्यो भन्ने मेरो कुराभित्र परेन । र, ती भूमिकामा मैले कत्तिको न्याय गर्न सकें, कसरी काम गरें भन्ने पनि बेग्लै पाटो होला । मलाई लोभ लाग्ने चाहिं विभिन्न भूगोल अथवा समुदायको कथा आउँदा, नेपाली सिनेमाकै लागि राम्रो कुरा हो भन्ने लाग्छ । मैले त्यसलाई अस्वीकार गर्न नसकेको चाहिं सत्य हो । कलाकारलाई लोभ लाग्छ नि, अर्को समुदायको कथा बुझौं, अर्को सुमदाय र भूगोलमा जान लोभ लाग्छ नि ! साथै अर्को कुरा, विभिन्न समुदायका मानिसहरूले आ-आफ्नो जीवन र संस्कृतिको कथा भन्ने प्रयास गरिरहँदा, मलाई त्यसको हिस्सा बनाउन खोज्दा म तर्किन पनि मिल्दैन । जारी र कबड्डी को सफलताले पनि उहाँहरूलाई आफ्नो समुदायको कथा भन्न प्रेरित गरेको मैले पाएको छु ।

 तपाईंले त धेरै फिल्म खेल्नुलाई आफ्नो कतव्र्य जसरी पो व्याख्या गर्नुभयो ?

मैले अघि भनें नि, म यसलाई एउटा अवसरका रूपमा लिन्छु । मलाई लाग्छ, हामीले हाम्रो समाजको विविधतालाई बुझ्नु आवश्यक छ । एउटाले अर्को संस्कृतिलाई बुझेन भने मेरो संस्कृति र जीवन पद्धति नै सबभन्दा राम्रो हो, गतिलो हो भन्नेमा सबै जनालाई लाग्न सक्छ । कसैका बारे थाहै नभई, नचिनीकन अरूबारे गलत भनिरहिएको हुनसक्छ । एकअर्कालाई राम्रोसँग चिनियो भने एकअर्काप्रति आदर र सद्भाव पलाउँछ । त्यसले नै सुन्दर समाजको निर्माण गर्छ । त्यसैले कथा, साहित्य र सिनेमामा यसरी धेरै संस्कृतिका जीवन आउन थाले भने एकले अर्कालाई चिन्ने मौका पाइन्छ । कुनै एउटा भूगोलको दर्शकले टाढाको समुदाय र संस्कृतिबारे जान्ने उपाय के-के छन् त ? बुझ्ने मौका कसरी पाइन्छ ? त्यो मौका सिनेमाले दिन सक्छ भन्ने मलाई लाग्छ । पछिल्ला वर्षमा बनेका र मैले खेलेका फिल्महरूले त्यस किसिमका कथा ल्याएका छन् भन्ने मलाई लाग्छ । हामीले कथा पनि के भन्ने त फिल्ममा ? समाजभित्रको विविधताको कुरा सिनेमाको कथा होइन र ? उदाहरणका लागि मेरा दुई फिल्मजारी र घरज्वाईं मा विवाहलाई हेर्ने दृष्टिमा कति फरक छ । यो कुरा अन्य समुदायका मानिसलाई थाहै नभएको हुनसक्छ । फिल्मले त्यसलाई नै आफ्नो कथा बनाउँदा समाजको सुन्दर विविधता सिनेमामा आयो जस्तो लाग्छ ।

राजनीतिक परिवर्तनसँगै समुदायहरूमा आएको आफ्नो कथा भन्नुपर्छ भन्ने चेतना र आर्थिक सबलीकरणले पनि सिनेमामा यस्ता कथाको मात्रा बढाइरहेको त देखिन्छ नै । साथमा, दयाहाङ राईले नेपाली फिल्ममा व्यावसायिक अभिनेताका रूपमा पाएको सफलताले पनि केही प्रेरित गरेको छ जस्तो लाग्छ कि लाग्दैन ?

त्यो हुनसक्छ । फिल्ममा ठूलो आर्थिक लगानी हुने भएकाले लगानी फिर्ता गर्ने चिन्ता पनि हुन्छ । अघि माथि नै मैले भने झैं कबड्डी वाजारी ले पाएको व्यावसायिक सफलताले गर्दा निर्माताहरूले मलाई लिएर फिल्म बनाउँदा लगानी डुब्दैन भन्ने अनुमान गर्नुभएको हुन सक्छ । म नयाँ फिल्मको प्रस्ताव लिएर आउनेहरूलाई मसँग समय छैन, डेढ-दुई वर्ष लाग्छ भन्छु । उहाँहरू ‘हुन्छ, हामी पर्खिन्छौं’ भन्नुहुन्छ । यस्तोमा म कति जनालाई त त्योभन्दा अगाडि गर्ने हो भने मभन्दा राम्रो फलानो-फलानो कलाकार हुनुहुन्छ भनेर पनि भन्छु । तर, उहाँहरू होइन, पर्खिन्छौं भन्नुहुन्छ । बजारमा चलेपछि र एकपटक विश्वास भएपछि मान्छेले त्यसलाई नै खोज्नु स्वाभाविक पनि हुन्छ होला !

तपाईं एक्लैबाट चाहिं यो क्रम कति समयसम्म चल्न सक्ला ?

त्यसका लागि अरू पनि केही गजबका अभिनेताहरू जन्मिनुपर्छ । यसमा मेरो पनि केही जिम्मेवारी होला । धेरै जना हुने हो भने झन् धेरै कथा आउन सक्छन्, झन् राम्रोसँग समाजलाई बुझ्न पाइन्छ । कलाकारका रूपमा मैले यसमा कति योगदान गर्न सक्छु त्योचाहिं अलग पाटो हो ।

लगातार फिल्म खेल्दा तपाईंको अभिनयलाई चाहिं असर परेको छैन ?

यसमा बजारको हिसाबले हेर्दाचाहिं घाटा होला तर व्यक्तिगत रूपमा त मलाई फाइदा छ । त्यो फाइदा के हो भने, मैले जति धेरै फिल्म गर्दै गयो, त्यति धेरै समाज बुझ्ने मौका पाउँछु । म नयाँ समुदाय र उसको दृष्टिकोण बुझ्दै जान्छु । आर्थिक रूपमा पनि मलाई फाइदा नै हुन्छ । तर, फेरि एउटै चिज, एउटै व्यक्ति धेरै भयो भने बजारले त मोनोटोनस फिल गर्छ ।

पात्रको अध्ययन र तयारीका लागि समय पुग्छ त ?

यो समस्या कोही कोही बेला हुने गरेको छ । यो फेरि ठूलो समस्या हो । यसमा पनि फिल्म अनुसार फरक हुँदोरहेछ । जस्तो, घरज्वाईं मा मेरो चरित्र शहरबाट गाउँतिर फर्केको, गाउँ धेरै थाहा नभएको छ । यो म जस्तै छ । यसमा म आफैंजस्तो जिज्ञासु चरित्र बनाउँदा पुग्थ्यो । खालि, मगर विश्वास पद्धतिबारे चाहिं मैले खोज्नुपर्ने थियो । तर, कार्साङ का लागि मैले धेरै समय लिएँ । किनभने, यो चरित्र झाँक्री हो । झाँक्री पनि विभिन्न खाले हुँदारहेछन् । झाँक्री विद्याको स्रोतदेखि प्रकारसम्म फरक छ । यसको अध्ययन गर्न गाह्रो भयो । रिसोर्सहरू भेट्टाउन पनि गाह्रो हुँदोरहेछ । कहिलेकाहीं फेरि कतिपय फिल्ममा निर्देशक नै विषय र स्रोतबारे जानकार नहुने हुन्छ । हामीले सँगै रिसर्च गरिरहेका पनि हुन्छौं । यसैले म आवश्यकता अनुसार कुनै चरित्रको तयारीलाई धेरै र कसैलाई थोरै समय दिने गर्छु । तर, धेरै तयारी गरेको र थोरै गरेकाको परिणाम त फेरि पक्कै पनि फरक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?