+
+

आँबुखैरेनी बस दुर्घटनाका मृतकका शवको परीक्षण सुरु, १२ बजे सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते ८:१८

८ भदौं, चितवन । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ ।

बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने बताए ।

एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । ‘दुर्घटनामा परेर मृत्यु भएको हो, खासै धेरै समय पनि लाग्दैन, चोटपटक नदेखिएकाहरुको पेट खोलेर हेर्ने हो, टाउको खोल्नु पर्दैन,’ डा. पौडेलले भने, ‘शंकास्पद मृत्यु नभएकोले धेरै समय लिंदैन, प्रक्रिया पुर्‍याउन मात्रै खोजिएको हो ।’

अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ ।

दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव पोखरा लैजाने कि भरतपुर ल्याउने भन्ने कुराको मतभेद हुँदा शव ल्याउन ढिला भएको थियो ।

दूरीका हिसावले पोखराभन्दा नजिक रहेको भरतपुर अस्पतालमा नै पोष्टमार्टम सजिलै हुने देखिएपछि भरतपुर अस्पताल ल्याइएको अस्पतालका मेसु डा. पौडेलले बताए ।

शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?