+
+

भारतकी राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ८ गते १४:५८

८ भदौ, काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मर्स्याङ्दी नदी किनारमा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेसँग भेट गरेकी छन् ।

शुक्रबार भारतीय पर्यटक सवार बस बिहान करिव साढे ११ बजे  तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहरा नजिक सडकमा अनियन्त्रित भई मर्स्याङ्दी नदी किनारामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।

घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका अधिकारीहरुसँग भेट गरेकी छन् ।

उनले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन् । ‘दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ’, उनले भनिन्, ‘उद्दारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’

गृहमन्त्री लेखकले नेपालले सम्भव भएसम्म छिटो उद्दार गरेको बताए । ‘हामीसँग कुरा गर्दा उहाँले नेपाल सरकारले अत्यन्त चाँडो रेस्क्यु गरिदिनुभयो । नेपाल सरकार, रेस्क्युमा संलग्न भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले राम्रो काम गरेर केही मान्छेहरु बाँच्नुभयो भनेर उहाँले प्रशंसा नै गर्नुभयो’, उनले भने ।

युवा राज्यमन्त्री खड्सेले बिरामीहरुसँगै उपचारमा संलग्न चिकित्सकहरुसँग पनि कुराकानी गरेकी थिइन् । अब राज्यमन्त्री खड्से चितवन जाने र त्यहाँबाट शुक्रबार दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिएर जाने गृहमन्त्री लेखकले जानकारी दिए ।

परीक्षणपछि शवहरु भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?