+
+

बेनीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

रासस रासस
२०८१ भदौ ९ गते ८:२६

९ भदौ, म्याग्दी । शनिबार रातिको वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् ।

बाढीबाट विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । यस्तै, एउटा गाडी बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ-बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् ।

बेनी नगरपालिका-९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी-जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।

राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका डीएसपी नेपालले बताए ।

बेनी नगरपालिका-८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।

बागलुङ-बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी-दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?