+

एएफसी वुमन्स च्याम्पियन्स लिगको अन्तिम चरणमा पुग्ने एपीएफको लक्ष्य

२०८१ भदौ  ९ गते ११:०१ २०८१ भदौ ९ गते ११:०१
एएफसी वुमन्स च्याम्पियन्स लिगको अन्तिम चरणमा पुग्ने एपीएफको लक्ष्य

७ भदौ, काठमाडौं । नेपालको एपीएफ क्लबले पहिलो पटक हुन लागेको एएफसी वुमन्स च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । एसिया फुटबल महासंघ (एएफसी) ले पहिलो पटक एएफसी वुमन्स च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो ।

पहिलो संस्करण यस प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालबाट एपीएफ क्ललबे प्रतिस्पर्धा गर्दैछ । जुन नेपाली क्लबका लागि इतिहास हो । नेपालमा महिला लिग च्याम्पियनको रुपमा एपीएफले यस प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

घरेलु फुटबल कमजोर भइरहेको अवस्थामा पछिल्लो समय महिला फुटबलले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको छ । अहिले एपीएफले महादेशीयस्तरको क्लब प्रतियोगिता खेल्नु नेपाली फुटबलकै लागि उपलब्धी हो ।

पहिलो पटक हुन लागेको महादेशीयस्तरको प्रतियोगिता खेल्ने एपीएफ टोली निकै उत्साहित छ । क्लब प्रतियोगिता भएपनि देशकै प्रतिनिधित्व हुनेछ । ‘जुनियर, सिनियर खेलाडीहरु छन् । हामी एकदम उत्साहित छौँ’, एपीएफकी कप्तान अनिता बस्नेतले मलेसिया जानुअघि अनलाइनखबरसँग भनिन् ।

यस्तै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पनि पहिलो पटक खेल्न लागेको ठूलो उत्साह रहेको बताए । ‘मलाई जिम्मा दिनुभयो । पहिला पुरुष टिममा काम गरेको । महिला पनि नेसनल टिममा काम गरेको भएर अहिले त्यही टिमलाई एपीएफमा सेट बनाएको छु । पुलिस आर्मीबाट पनि २-२ जना खेलाडी थपेका छौँ’, उनले अनलाइनखबरसँग भने, ‘पहिलो पटक वुमन्स च्याम्पियन्स लिग खेल्न लागेकोले खेलाडीहरु पनि उत्साहित छन् । म पनि उत्साहित छु ।’

प्रतियोगिताको लागि अनिता बस्नेतको कप्तानीमा रहेको एपीएफ टोली बिहीबार मलेसिया प्रस्थान गरिसकेको छ । एपीएफले आइतबार (आज) उज्वेकिस्तानको नासाफसँग खेल्नेछ । यस्तै समूहको दोस्रो खेलमा एपीएफले मलेसियन टोली साबाहसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

नासाफ र साबाहबीच अर्को साता शनिबार खेल हुनेछ । प्रारम्भिक चरणमा १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली अन्तिम चरणमा छनोट हुनेछ ।

च्याम्पियन्स लिगको अन्तिम चरण अक्टोबर ६ देखि १२ सम्म हुनेछ । जसमा शीर्ष १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ टिम र तयारी

राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापोसहित अधिकांश खेलाडी एपीएफ टिममा रहेकोले अहिले छिमको तयारी राम्रो भएको प्रशिक्षक र कप्तानको भनाइ छ । कप्तान अनिताले टिमको तयारी राम्रो भएको बताइन् ।

एपीएफमा राष्ट्रिय टिमकै अधिकांश सदस्यहरु रहेकोले पनि राष्ट्रिय टिमको तयारीले गर्दा यस पटक लामो समयमको तयारी भएको अनिताको भनाइ छ ।  ‘हाम्रो निरन्तर खेलिराको र राष्ट्रिय टिममा पनि सँगै खेलिराको भएर टिम राम्रो बनेको छ । हरेक पोजिसनमा खेलाडी थप गरेका छौँ’, उनले भनिन् ।

एपीएफमा हाल राष्ट्रिय टिमका १३ खेलाडी छन् । यस्तै पूर्वकप्तान अनु लामा पनि टिममा छन् भने यसै प्रतियोगिताको लागि भनेर एपीएफले अन्य टोलीबाट चार खेलाडी थप समेत गरेको छ ।

राष्ट्रिय टिमको पहिलो रोजाइमै खेल्ने एन्जिलासहित डिफेण्डर गीता राना, हिरा भुजेल, मिडफिल्डर सरु लिम्बु, रेनुका नगरकोटी, प्रीति राई, फरवार्ड सविता राना मगर, रश्मी कुमारी घिसिङजस्ता खेलाडी एपीएफकै हुन् ।

त्यसमा च्याम्पियन्स लिगकै लागि भनेर एपीएफले त्रिभुवन आर्मी क्लबबाट मिडफिल्डर दिपा शाही र फरवार्ड अमिसा कार्की तथा नेपाल पुलिस क्लबबाट गोलकिपर उषा नाथ र डिफेण्डर अमृता जैशीलाई अनुबन्ध गरेको छ । उषा बाहेक बाकी खेलाडी राष्ट्रिय टिममा समेत पहिलो रोजाइमै खेल्ने खेलाडी हुन् ।

चार खेलाडी थप गर्दा टिम राम्रो बनेको प्रशिक्षक तामाङले बताउँछन् । ‘नयाँ खेलाडी नभएको भएर एक अर्कालाई चिन्छन् । दुई विभागको प्लेअर आउँदा राम्रो हुन्छ’, उनी भन्छन्, ‘मैले सबेको नाम खेल्ने तरिका चिनेको छु मुख्य कुरा भनेको मेरो फिलोसोफी के हो बुझेको छ । स्टाइल अफ प्ले पनि बुझेको छ ।’

यस्तै प्रीति राई पनि टिममा समावेश भएपछि कम्बिनेसन अझ राम्रो बनेको तामाङले बताए । ‘उ आउनेबित्तिकै यता सबै चेन्ज भयो । अहिले प्रीतिको क्वालिटी राम्रो छ । उ भएपछि अट्यकिङमा राम्रो छ गोल हान्ला नहान्ला ठिक छ । मैले अनिता र रश्मीलाई प्रयोग गरिराछु अनु लामा अनुभवी छ’, उनले भने ।

यसअघि प्रीति साउदीमा लिग खेल्न जाने भनेपनि अन्तिम समयम गइनन् । उनले एपीएफबाट खेल्ने भएपछि टिम पनि उत्साहित छ ।

बर्खाका कारण तयारी राम्रोसँग गर्न नपाएको तामाङले बताए । ‘हामीले जुलाई १४ बाट प्रशिक्षण सुरु गरेको छ । तर पिडा भन्ने कि क भन्ने पानी धेरै पर्‍यो । यू२० र चर्च ब्वाइजको ट्रेनिङले गर्दा एन्फा कम्प्लेक्स माग गरेपनि पाएनौँ । यहीँ गर्दा हिलो भयो । पहिला ठिकै थियो पछि समस्या भयो ।  चिप्लिने बल कन्ट्रोल नहुने जस्ता समस्या भयो’,’ तामाङले भने ।

उनले अगाडि भने, ’जुन तरिकाले जान खोजेको त्यो गर्न दिएन । अट्याक गर्दा पनि लग्यो लग्यो अनि रोकिन्छ जुन पेसमा जान पर्ने भएन । हिलोले चुनौती भयो ।’

 लक्ष्य अन्तिम चरण

एपीएफ रहेको समूह सी मा तीन टोली मात्र छ । एपीएफले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणमा पुग्ने लक्ष्य बनाएको छ । ‘हाम्रो लक्ष्य अन्तिम चरणमा पुग्ने नै हो । सकिन्छ सकिन्न त्यो आफ्नो ठाउँमा छ’, प्रशिक्षक तामाङले भने ।

प्रशिक्षक तामाङले नासाफसँग पहिलो खेलमा अंक लिन सके सजिलो हुने बताए । ‘हामीले नासाफसँग खेल्दा एउटा राम्रो योजना बनाएर ३ वा १  नम्बर लिन सक्यो भने सहज हुन्छ । त्यहाँ जित्न सक्यो भने राम्रो हुन्छ । सजिलो हुन्छ’, उनले भने ।

प्रशिक्षक तामाङले टिमको स्ट्राइकङमा भने केही समस्या रहेको बताए । उनले नेपाली फुटबलकी गोल मेसिन साम्बा नहुँदा समस्या भएको बताए । त्यसको विकल्पमा फरवार्डमा अनिता केसी र रश्मी घिसिङलाई तयार पारिरहेको बताए ।

कप्तान अनिताले पनि यो राम्रो अवसर रहअकोले अन्तिम चरणमा पुग्ने लक्ष्य नै रहेको बताए । ‘यसलाई मैले राम्रो अवसरको रुपमा लिएको छ । ‘हाम्रो टार्गेट त अन्तिम चरणमा पुग्ने नै हो’, उनले भनिन्, ‘दुई खेल खेल्छौँ विपक्षी जति बलियो भएपनि डोमिनेट गरेर खेल्नेर् र अन्तिम चरणमा पुग्ने हो । मलेसियन भन्दा उज्वेक टिम अली बलियो छ। त्यही अनुसार कोचले रणनीति बनाउने हो । हामी त्यही अनुसार म्याच खेल्नेछौँ ।’

नेपालले आगामी अक्टोबरमा साफ महिला च्याम्पियनसिप घरेलु मैदानमा खेल्दैछ । त्यसका लागि यो प्रतियोगिता राम्रो तयारी हुने प्रशिक्षक तामाङले बताए । ‘यो प्रतियोगिताले धेरै अर्थ राख्छ । मैले खेलाडीलाई पनि त्यही कुरा गरिराछु । हामी अहिले क्लब प्रतियोगिता खेल्न जान्छौँ तर हाम्रो टार्गेट साफको लागि छ । साफमा जित्नको लागि यहाँ राम्रो खेल्नुपर्‍यो । यहाँ राम्रो खेलेपछि साफमा कन्फिडेन्ट बढ्छ’, उनले भने ।

साम्बा नहुँदा घाटा

नेपाली क्लबले महादेशीयस्तरमा यति ठूलो प्रतियोगिता खेल्दा नेपाली फुटबलकी स्टार र गोलमेसिन सावित्रा भण्डारी साम्बा भने हुने छैनन् । उनी व्यावसायिक फुटबल खेल्न हाल फ्रान्समा छिन् ।

प्रशिक्षक तामाङले साम्बा बेस्ट स्ट्राइकर भएकोले उनी नहुँदा असर त पर्ने बताए । ‘साम्बा नहुँदा असर पर्छ किनभने उ ‘वान अफ दि बेस्ट स्ट्राइकर’ हो । उसँग स्किल र क्वालिटी छ’, तामाङले भने ।

साम्बा गोल गर्ने खेलाडी भएकोले उनी नहुँदा त्यसमा फरक पर्ने बताए । उनले भने,  ‘उसको काम गोल गर्ने हो जसरी पनि गोल गर्छ । उसले वाफमा ९ गोल गर्‍यो । त्यसले गर्दा उ नहुँदा फरक चाही पर्छ ।’

साम्बा नहुँदा अर्को योजना बनाएर अघि बढ्नुपर्ने तामाङले बताए । ‘मसँग साम्बा छैन भने मैल त्यसमा काम गर्नुपर्‍यो । स्ट्राइकरमा काम गर्न पर्‍यो । अट्याकिङ मिडफिल्डर नम्बर नाइन र विंगरले पनि गोल गर्न सक्छ भनेर तयार पार्न पर्‍यो ।’

यस्तै कप्तान अनिताले पनि साम्बा टिममा चाहिने प्लेहर भएकोले मिस हुने बताइन् । अरु जुनियर खेलाडीहरु पनि राम्रो रहेकोले उनको अभाव हुन नदिने बताइन् । ‘साम्बा टिमलाई चाहिने प्लेअर हो । उ नहुँदा अली मिस त हुन्छ । नयाँ बहिनीहरु पनि क्वालिटी छ’, उनले भनिन्, ‘साम्बा जस्तो क्षमता त नहोला । हामी टिम स्प्रिट र टिम वर्क गर्दै साम्बा नभएको महसुस हुन दिँदैनौँ भन्ने लक्ष्य छ ।’

एएफसी वुमन्स च्याम्पियन्स लिग एपीएफ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय