+
+

‘दिलसरा’ अर्थात् दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथा

प्रकाश रिजाल प्रकाश रिजाल
२०८१ भदौ ९ गते ११:२५

कास्की जिल्ला पोखरा महानगरपालिका–३३ निर्मलपोखरीको चिलाउनेखर्क भन्ने गाउँको मगर समुदायमा २४ सै घण्टा रक्सी खाने श्रीमान् र अत्यन्त मिहिनती श्रीमती भएको परिवार हुन्छ । परिवारमा बाबु, आमा र एक छोरी दिलसरा हुन्छन् ।

दिलसराको दिल नामजस्तै (सरा=दलिन) दलिन जस्तै दह्रो हुन्छ । परिवारमा आम्दानीको स्रोत भनेकोे रक्सी र आमाछोरीले पालेका कुखुरा र बाख्रा बेचेको पैसा बाहेक केही हुँदैन । यही पैसामा परिवारको गुजारा चलिरहेको हुन्छ । त्यो पनि जड्याहा श्रीमानबाट जोगाउन सकेमात्रै !

सबै कुरामा सबै गरिब हुँदैनन् भनेझैँ दिलसराको परिवार धन सम्पत्तिमा गरिब भएपनि दिलसरा भने अध्ययनमा अब्बल हुन्छिन् । घरमा बाबुले सधैँ रक्सी खाने र आमालाई काममा नसघाउने भएका कारण आमाको ‘हातको हथौँडा’ भएर घरको काम र आफ्नो अध्ययन सँगसँगै अगाडि बढाउँछिन् ।

अन्ततः उनी अनपेक्षित रुपमा साविकका कक्षा प्रथम हुने ‘पढ्न जान्ने’ भन्ने गरिएका अन्य ‘जात र लिङ्ग’का विद्यार्थीहरुलाई उछिन्दै कक्षा १२ को परीक्षामा विद्यालय प्रथम हुन्छिन् । तर उनको उच्च शिक्षा अध्ययन भने गरिबीका कारण अन्योलमा नै हुन्छ । यद्यपि उनको पढ्ने हुटहुटी भने मरेको हुँदैन ।

सोही गाउँमा अर्को एउटा परिवार पनि हुन्छ, जसको छोरा कमानसिंह लाहुरे हुन्छ । उक्त परिवारमा कमानसिंहकी आमा उच्च वर्गीय सोचकी हुन्छिन् । उनको माइतीमा भाउजु हुन्नन् । दाइले छोरी लिएर बसेका हुन्छन् । जसको नाम हुन्छ–रिमा ।

कमानसिंह पल्टनबाट छुट्टीमा आउँछ । उसको आमा बाबुले विवाह गर्न प्रस्ताव गर्छन् । आमाले भने आफ्नै भदैनी (दाजुको छोरी रिमा) लाई बच्चामा ‘डोरी बाँधेको’ कारण उसैसँग विवाह गर्न जोड दिन्छिन् । यता कमानसिंह भने दिलसरासँग प्रेममा परिसकेको हुन्छ र अन्ततः एक दिन गाउँमा ‘छेवर’को दिनको राति दिलसरालाई भगाएर घर लैजान्छ ।

बाबुले छोराको निर्णयलाई मान्ने सोचमा हुँदाहुँदै पनि कमानसिंहको आमाको जिद्दी र कथित उच्च घरानियाँ स्वभावका कारण र दिलसरा ‘गरिब र जँड्याहाको छोरी’ भएकोले त्यो विवाहमा मञ्जुर हुँदिनन् बरु, कपटपूर्ण तवरले आफ्नै दाइको छोरी रिमासँगै कमानसिंहको विवाह गराइदिन्छिन् । कमानसिंहले आमासँग झगडा गर्छ तर आमाको ‘शत्रु हाँस्ने’ व्यहोराको धम्कीका अगाडि ऊ निरीह हुन्छ ।

मुखले आमासँग केही नबोले पनि उसको मनमा दिलसराले गहिरो गरी जरा गाडेर बसेकी हुन्छिन्, तर साथमा भने रिमा हुन्छन् । यही भावनात्मकता र वास्तविकताको द्वन्द्वमा कमानसिंहका ३ वटा छुट्टी रिमासँग नरमाई बितेर जान्छन् ।

उता दिलसरा भने न घरको न माइतको हुन्छिन् । उनको भविष्य र जीवनमाथि मडारिएको कालो बादलको उडानसँगै उनी गह्रौँ मन, अनिश्चित भविष्य र रूझेका परेलीलाई साथी लिई नजिकैको सहर पोखरा भासिन्छिन् । बाहिर हेर्दा सहर जति उज्यालो हुन्छ भित्र उत्तिकै कालो पनि हुन्छ । सुरुआतमा दिलसरालाई सहरको उज्यालोले देख्दै देख्दैन । भेट्दै भेट्दैन ।

देख्छन्, भेट्छन् त केवल सहरको उज्यालोभित्र लुकेका कालो मन भएका केही दुष्ट र भोगीहरुले मात्र । यद्यपि ती सबैबाट उनले आफ्नो शरीर र अस्मिता जोगाउँदै अगाडि बढ्छिन् ।

सबै जना सबै ठाउँमा दुर्जन मात्रै पनि कहाँ हुन्छन् र ! कोही कोही त सज्जन पनि हुन्छन् नि ! यस्तै सज्जन हुन्छन् एक जना थोक तरकारी बिक्रेता जसले उनलाई घर घरमा तरकारी बेच्ने जागिर दिन्छन् । दिलसरालई त्यही भएपनि भोकालाई खीर बराबर हुन्छ । एवं रीतले तरकारी बेच्दै हिँड्ने क्रममा एकदिन उनी आफ्नै फुपु (निमा)को घरमा पुग्छिन् र निमालाई पूर्व वृत्तान्त सबै बताएपछि निमाले त्यहीँ बस्ने र पढ्ने व्यवस्था मिलाउँछिन् ।

दिलसराले राम्रोसँग पढ्छिन् । स्नातक तह उत्तीर्ण पश्चात चौथो प्रयासमा गण्डकी प्रदेश लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएर जन्मघर भएको गाउँपालिकामा योजना विकास अधिकृत भएर पदस्थापन हुन्छिन् । उनको स्वागतमा आयोजित समारोहमा कमानसिंह, जो चौथो छुट्टिमा घर आएको हुन्छ, सबैभन्दा खुसी देखिन्छ ।

उता रिमा आफ्नो पति आफूसँग खुसी नभएको देखेर माइत फर्किन्छिन् । अन्ततः कमानसिंह र दिलसरा एक हुन्छन् । यसरी चलचित्रको कथाको सुखद् अन्त्य हुन्छ ।

चलचित्र हर्षाश्रु मिस्रित छ । मध्यान्तर भन्दा अघिल्लो भागमा दर्शकहरुको हाँसोको फोहोराले हल गुञ्जयमान भएको पटक पटक प्रत्यक्ष अनुभूति गरेको स्मृति अद्यापि ताजै छ । त्यो हाँसो मध्यान्तर पश्चात् भने ठीक विपरीत १८० डिग्रीमा मोडिन्छ । दिलसराले सहरमा गरेको संघर्ष र कमानसिंहको मनभित्र बसेकी दिलसराका यादहरु र साथमा रहेकी रिमाबीचको अन्तरद्वन्द्व र उसमा सिर्जित मनोदशाले जो कसैको मन पगालिदिन्छ, भरिदिन्छ र आँखाबाट पोखाइदिन्छ ।

उसो त रिमाको अवस्था पनि उस्तै मनोदशाबाट गुज्रेको हुन्छ तर उनलाई दर्शकले अर्काको ‘भाग खोस्न’ आएको अर्थमा बुझेर होला खासै सहानुभूति पाउँदिनन् । तथापि उनको अभिनयमा कहीँ कतै खोट लगाउने स्थान भने देखिँदैन ।

भाषा शैलीको कोणबाट हेर्दा सबै उमेर समूहका दर्शकहरुको लागि उत्तिकै बोधनीय छ । साधारण शब्द र छोटा छोटा संवादहरु जसले पनि सहजै बुझ्न सक्ने खालका छन् ।

चलचित्रको प्रमोसनल सोहरुमा ‘मगर संस्कृतिमा आधारित महिला प्रधान चलचित्र’ भनिए पनि चलचित्र त्यतिमा मात्रै सीमित छैन । त्यसो हुँदो हो त दिलसराका बाबु र कमानसिहका बाबु दुवै जना पुरुष पात्रलाई खलनायकीय भूमिकामा देख्न पाइन्थ्यो होला ! तर कथा त्यस्तो छैन । ती दुवै बाबुहरु भएर पनि भूमिका र जिम्‍मेवारीमा आकाश पातालको अन्तर जो कोहीले पनि सहजै छुट्याउन सक्छ ।

अर्कोतर्फ ती दुवैका आमाहरुको भूमिका पनि विपरीत ध्रुवीय देखिन्छ । छोरीलाई पढाउन हुन्न, छोरीले पढेर के गर्ने हो भन्ने परम्परागत सामाजिक सोच कुनै एक निश्चित समुदायको नभइ आम नेपाली समुदायको सोच हो भन्न हिच्किचाउन पर्ने अवस्था छैन । अझ मसिनो गरी भन्ने हो भने चलचित्रले वर्गीय असमानता र अहंकारले सबै जातिमा जरो गाडेर बसेको सन्देश पस्केको भन्दा चलचित्र प्रति अन्याय हुँदैन ।

साथै चलचित्रमा महिलाको बाधक भन्ने गरिएको पितृसत्ता र पुरुष मात्र होइनन् स्वयं महिलाहरु पनि हुन्छन् भन्ने सन्देश यो चलचित्रको अर्को महत्वपूर्ण पाटो हो । यो सन्देश कमानसिंहकी आमालाई जीवन्त अभिनयमार्फत अनुभूति गर्न सकिन्छ ।

चलचित्रले अर्को महत्वपूर्ण सन्देश पनि छोड्न सक्षम देखिएको छ–दृढ इच्छाशक्तिको जगमा इमान्दारीका साथ दिइने निरन्तरताले दिलाएको सफलता । मानिसहरुका पूर्ववत् रुपमा रहेका मनस्थिति सफलतासँगै परिवर्तन हुन्छन् भन्ने सन्देश दिलसराको सफलतामा कमानसिंहकी आमा पात्रमार्फत् दर्शाइएको प्रतिक्रिया यसको साक्षी हो ।

पहिला ‘गरिब र जँड्याहा’की छोरी भनी अवहेलना गरी अस्वीकृत गरेकी सोही पात्रलाई निजको सफलता पश्चात् प्रस्तुत नरम प्रतिक्रिया यसको ज्वलन्त उदाहरण हो भने सामाजिक यथार्थ पनि हो ।

चलचित्रका पात्रहरुको प्रस्तुतिलाई कम आँक्ने ठाउँ देखिँदैन । मुख्यतः चलचित्रकी प्रमुख केन्द्रीय र नायकी पात्र दिलसराको भूमिकामा रहेकी सृष्टि राना मगर हरेक दर्शकको मन र मस्तिस्कमा रहन सफल छन् । प्रमुख नायकी पात्रले दर्शकको अधिकतम् सहानुभूति र माया पाउँदा नै उक्त पात्रको अभिनय सफल भएको मानिन्छ; यस कोणबाट हेर्दा दिलसरा पात्रको अभिनय सार्थक भएको मान्दा अन्याय हुँदैन ।

कानको फित्ता फर्कने गरी सिलमुद्री लगाउने पुस्ताका आमाहरु, ढाड कुप्रो परेका बाहरु र अधबैँसे युवा युवतीहरु सुँक्कसुँक्क गरी दिलसराप्रति माया दर्शाएको दृश्य यसको प्रमाण हो । यसै गरी नायकको भूमिकामा रहेका कमानसिंह (कल्याण मगर) आफूलाई दिइएको जिम्मेवारी कत्ति पनि बाँकी नराखी पूरा गरेका छन् ।

ठिक त्यसको उल्टो गरी खलनायकी पात्रले दर्शकको घृणा पाउनु निज पात्रको सफलता मान्ने हो भने कमानसिंहकी आमाको भूमिकालाई पनि दिलसराको भन्दा कम आँक्नु हुँदैन । कथामा मुख्य ट्वीस्ट ल्याउन सफल पात्र नै उनैलाई मान्दा त उनको अभिनय झनै अब्बल साबित हुन आउँदछ । हाँस्य कलाकारको भूमिकामा रहेका खबपुले मध्यान्तरपूर्व पेट मिचिमिची हसाउँछन् ।

चलचित्रको मेरूदण्ड कथा हो । कथाको ओझ र गुरुत्वले चलचित्रको भाग्य र भविष्य अनि सफलता र असफलता निर्धारण हुन्छ । विज्ञ अभिनेताको अभिनयका बावजुद कमजोर कथावस्तुका कारणले असफल भएका चलचित्रको संख्या हाम्रै अगाडि बग्रेल्ती छ ।

चलचित्रमा आउने विभिन्न घुम्ती र रहस्यमयी घटनाहरुले चलचित्रका दर्शकहरुलाई उत्सुकता जगाउँदछ र दर्शकहरुले चलचित्र अवधिभर कत्ति पनि झिँझो नमानी हेर्दछन् । यसरी कथा लेखकीय कोणबाट हेर्दा जुना थापाले चलचित्रलाई अब्बल बनाउन नेपथ्यबाट सबैभन्दा ठूलो भूमिका निर्वाह गरेकी छन् ।

चलचित्रको निर्देशकीय भूमिकामा रहेका अशोक आले मगरले आफ्नो पहिलो प्रयासमा देखाएको परिपक्वता पनि चलचित्र सफल हुनुको एउटा कारण हो भन्न चुकचुकाउनु पर्दैन । उनको दृश्य निर्माण गर्ने सिर्जनात्मकतालाई प्रशंसा गर्दा शब्द खेर गएको ठानेर पछुताउनु पर्ने ठाउँ बन्दैन । उसो त उनको विदेश अध्ययनको परिणाम पनि यो चलचित्रको यो तहको गुणस्तर हुन सक्ला । चलचित्रको अन्य प्राविधिक पक्षहरू पनि अव्यवस्थित मान्न मिल्दैन ।

भाषा शैलीको कोणबाट हेर्दा सबै उमेर समूहका दर्शकहरुको लागि उत्तिकै बोधनीय छ । साधारण शब्द र छोटा छोटा संवादहरु जसले पनि सहजै बुझ्न सक्ने खालका छन् । छोटा भएपनि संवाद चोटिला र हृदयस्पर्शी छन् । समुदाय मगर भनिएपनि यस समुदायले बोल्ने आफ्नै उपभाषिकाहरु छन् ।

नेपाली भाषा प्रयोक्ता उक्त समुदायहरुका विविधता पनि छन् । गण्डकी प्रदेशको उक्त समुदायमा बोलिने नेपाली भाषाको आञ्चलिकता दिलसराको अर्को सुन्दर पक्ष हो । यसका लागि पटकथाकार मिना थापामगर धन्यवादको पात्र बनेकी छन् ।

चलचित्रको शीर्षक पनि पूर्णतः सार्थक छ । ‘दिल’को अर्थ ‘मन’/‘हृदय’/‘मुटु’ र ‘सरा’को अर्थ ‘दलिन’ हुन आउँछ । नायकी पात्र दिलसराले आफ्नो हिम्मत, साहस र हुटहुटीलाई दलिन, जुनले घरको लिउन भन्दा माथिको भार धान्ने ल्याकत राख्दछ, ठिक त्यसै गरी दिलसराले आफ्नो दह्रो दिलको विरासतमा संघर्षको बाटोलाई सफलतामा लगेर टुङ्ग्याउन सफल भएकी छन् । यसर्थ, चलचित्रको शीर्षक सार्थक मान्न सकिन्छ ।

यसमा पनि केही सुधार गर्नुपर्ने पक्षहरु पनि छन् । निर्माण पक्षले निश्चित समुदायको संस्कृतिमा आधारित भनेर पहिलो दिनको सार्वजनिक प्रदर्शनीमा दर्शकको उपस्थितिको जुन अपेक्षा गरेको थियो त्यस कोणबाट हेर्दा चलचित्र निर्माण पक्षले सोचेभन्दा पनि बढी सफल भएको मान्न सकिन्छ ।

दर्शकको उपस्थितिको आँकलन गर्न नसक्नु र आफ्नै सफलताको सम्भाव्यता मिहिन अध्ययन नगर्नु निर्माण र व्यवस्थापकीय पक्षको सुधार गर्नुपर्ने पाटो हो भन्ने पंक्तिकारको बुझाइ रहेको छ । साथै दृश्य छायांकनमा केही पार्श्व दृश्यलाई उचित व्यवस्थापन गर्न सकेको भए सुनमा सुगन्ध नै हुन्थ्यो भन्ने मेरो बुझाइ छ ।

त्यसै गरी, तीन मिनेटको टिकटक भिडियोमा रमाउने गरेको अहिलेको पुस्तालाई तीन घण्टा हलको पर्दामा भएका घटनाहरु यथार्थ हुन् भनेर राख्न सक्नु सफलता भएपनि अवधिको दृष्टिकोणले अलि लामो भएको हो कि भन्ने लागेको चाहिँ हो ! यसो किन भनिएको हो भने मेरो नजरमा चलचित्रका केही दृश्यहरु सूत्राधार मार्फत प्रस्तुत् गर्न, केही दृश्यहरु हटाउन र केही छोट्याउन सकिने स्थानहरु ठाउँ ठाउँमा देखिएका थिए ।

चलचित्रमा विभिन्न रहस्यमयी दृश्यहरु समावेश गरिएका छन् । यसले चलचित्रले दर्शकहरुलाई उत्सुकता थपोस् भन्ने अपेक्षा निर्माण पक्षको रहेको मान्न सकिन्छ । अहिलेकै अवस्थामा पनि नराम्रो भन्न खोजेको चाहिँ होइन । तर, अझै धेरै रहस्यमयी बनाएर उत्कर्षलाई अन्तिममा देखाउने फ्ल्यास ब्याक शैलीको सम्भावना पनि उत्तिकै दह्रो देखिन्थ्यो । त्यतातर्फ निर्माण पक्षको योजना र कार्यान्वयनमा केही रुपमा कमजोरी मान्न सकिन्छ ।

म त्यो समुदायको संस्कृतिसित परिचित होइन र छैन । तथापि विवाहोत्सवमा कुनै पनि समुदायमा भिडभाड हुँदा ‘कुल रिसाउने’ मान्यता हुँदैन कि भन्नेसम्म लागेकै हो । यसको जिम्मा उक्त समुदायका संस्कृतिविद्लाई छोड्दै मलाई लागेको भाव अभिव्यक्त गर्दछु ।

संस्कृतिमा आधारित भनिसकेपछि केही दृश्यहरुमा प्रस्तुत संवादले संस्कृतिमै नरहेको संस्कारलाई ‘संस्कृतिमा छ’ भनेर भनिरहँदा वर्तमानको कनिष्ठ र भावी पुस्तामा कहीँ कतै संस्कृति बुझाइमा फरक वा गलत धारणा बन्ने हो कि भन्ने तर्फ ध्यान दिएको भए संस्कृतिप्रति भएको नगण्य गलत धारणा बसाल्न सक्ने सम्भावनाको निराकरण हुन्थ्यो कि भन्ने बुझाइ मेरो छ ।

भाषा र साहित्य विश्वव्यापी हुन्छन् भनिन्छ । भन्दा निश्चित समुदायको संस्कार र संस्कृतिमा आधारित भनिए पनि अहिलेको विश्वव्यापीकरणले निर्मित बहुसांस्कृतिक, बहुभाषिक समाजमा चलचित्रको विषयवस्तु सबै समुदाय र समग्रमा राष्ट्रलाई नै सुहाउँदो छ । अतः अवसर र समय जुरेमा चलचित्र हेर्दा २ घण्टा ४६ मिनेट सहजै व्यतित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?