+
+

पर्यटनमन्त्री पाण्डेसँग भुटान र कम्बोडियाका मन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १४:३१

९ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भुटान र कम्बोडियाका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

उनले भारत गुजरातका मुख्यमन्त्रीहरूसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा छलफल गरेका छन् ।

भारतको गुजरातमा जारी आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले छलफल गरेका छन् ।

मन्त्री पाण्डेले गुजरातका मुख्यमन्त्री भुपेन्द्र पट्टेल, भुटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेससँग भेट वार्ता गरेका हुन् ।

मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो । नेपाल–भारतबीच सदियौं पुरानो धार्मिक, सास्कृतिक एवम् ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो ।

भेटमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका हुन् ।

भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीलाई इन्धन लगायत विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरे ।

उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराए ।

कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटमा मन्त्री पाण्डेले भगवान बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरूलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरे ।

मन्त्री पाण्डेले कम्बोडियामा ९० प्रतिशतभन्दा बढी बौद्ध धर्मावलम्बीहरू रहेको उल्लेख गर्दै बुद्ध जन्मिएको देश नेपाल र बुद्ध धर्म फस्टाएका देश कम्बोडियाबीच सम्पर्क तथा सम्बन्ध थप विस्तार गर्नु पर्ने कुरामा जोड दिए ।

भुटानका गृहमन्त्री छिरिङसँग भुटानको थिम्पुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरे । भेटका क्रममा भुटानी गृहमन्त्रीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानले स्तुपा निर्माण गर्न चाहेको र त्यसका लागि आवश्यक सहयोगका लागि आग्रह गरे ।

मन्त्री पाण्डेसँग भारतको डा. बाबासायब अम्डेकर खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमी उपाध्यायले शनिबार भेट गरे ।

भेटमा भाषा र संस्कृतिको जगेर्ना गर्न नेपाल र विश्वविद्यालयबीच कसरी सहयोगको आदानप्रदान हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

सोही भेटमा उपकुलपति उपाध्यायले नेपालको नेपाल भाषा, नेवा संस्कृति र पाली भाषाको बारेमा चासो राखेका थिए ।

शुक्रबारदेखि सुरु सम्मेलनमा १८ देशका मन्त्री तथा विज्ञहरू गरी करीब तीनसय जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?