+

मेरुदण्ड बाङ्गो हुने कारण के हो ? (भिडियो)

२०८१ भदौ  ९ गते १६:०२ २०८१ भदौ ९ गते १६:०२
मेरुदण्ड बाङ्गो हुने कारण के हो ? (भिडियो)

मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ ।

मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको भागमा १२ वटा हड्डी हुन्छ, कम्मरको भागमा पाँचवटा हड्डी हुन्छ भने तल्लो बस्ने भागमा पाँचवटा हड्डी जोडिएर एउटै ढिक्काका रुपमा रहेको हुन्छ ।

यो समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ । यो जन्मजात पनि हुनसक्छ । जन्मजात बाहेक नसासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाइन्छ । जसलाई इडियोप्याथिक एडोलेसेन्ट स्कोलियोसिस भनिन्छ । इडियोप्याथिक भन्नाले अहिलेसम्म ठेट कारण पत्ता लागि नसकेको भन्ने बुझिन्छ भने १० वर्ष पूरा भएका बालबालिकालाई एडोलोसेन्ट समूहमा राखिन्छ । र, स्कोलियोसिस भनेको मेरुदण्ड बाङ्गो हुने समस्या हो ।

पोलियो भएको छ, दिमागमा अक्सिजनको मात्रा कम भएर एकातिरको भाग कमजोर हुने र अर्कोतिरको भाग कडा हुने अवस्थालाई ‘प्यारालाइटिक स्कोलियोसिस’ भनिन्छ । साथै कतिपय बाङ्गोपन विभिन्न सिन्ड्रोमसँग जोडिएर पनि आएको हुन्छ ।

यसको अनुपात छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा देखिन्छ । एक जना छोरा बराबर सात जना छोरीमा यस्तो समस्या देखिन्छ ।

मेरुदण्ड बाङ्गो भएको कसरी  थाहा पाउने ?

यस्तो समस्या बाबुआमा, आफन्तजन अथवा स्कुलमा शिक्षक तथा साथीहरूले अनुमान लगाउन सक्छन् । लुगा लगाउँदा लुगा नमिलेको जस्तो देखिने, एउटा कुममाथि अर्को तल देखिने, एकातिरको ढाडको भाग माथि उठेको देखिने, छाती तथा पेटको भागमा एकातिर खाल्डो परेको जस्तो देखिने लगायत यसका लक्षणहरू पर्छन् । स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाडमाथि अर्कोतिर तल गएको देखिन्छ ।

यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ । यदि मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सोको विकासलाई असर पुर्‍याउँछ । एउटा चरणमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।

यसको उपचार कसरी गरिन्छ ?

समयमा पत्ता लाग्यो भने यसको उपचार गर्न पनि सहज हुन्छ । एक्स–रे गरेपछि ढाड कसरी बाङ्गिएको छ भन्ने कुरा पत्ता लाग्छ । त्यसपछि उपचार कति डिग्री बाङ्गो भएको छ त्यसमा भर पर्छ । ढाड कति डिग्री बाङ्गो छ भनेर एक्स–रे गरेर हेरिन्छ । ढाड बाङ्गो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन । ढाडको बङ्ग्याई २५ डिग्रीभन्दा कम छ भने त्यस्तो केसलाई निगरानीमा राखिन्छ । यस्तो केसलाई ६–६ महिनाको फलोअपमा राखिन्छ । जबसम्म बच्चाको बढ्ने क्रम रोकिंदैन, त्यतिबेलासम्म फलोअपमा राख्नुपर्छ । छोरीहरूमा १३–१४ वर्ष र छोराहरूमा १६–१७ वर्षसम्म फलोअप गर्नुपर्छ ।

यदि ढाड बाङ्गो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामीले पेटी लगाउन सुझाव दिन्छौं । जसलाई स्पाइनल ब्रेस भनिन्छ । स्पाइनल ब्रेसले थप बाङ्गोपन हुनबाट रोक्छ । यदि बाङ्गोपन ५० डिग्रीभन्दा बढ्न गयो भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु जरुरी हुन्छ ।

समयमा उपचार गरिएन भने के कस्तो जटिलता निम्तिन सक्छ

समयमै शल्यक्रिया गरिएन भने प्रत्येक वर्ष एक-एक डिग्रीको हिसाबले बढ्दै जान्छ । उदाहरणका लागि यदि बच्चाको उमेर १५ वर्षको छ । उसको ढाड ५० डिग्रीले बाङ्गिएको छ भने ३० वर्षको पुग्दा १५ डिग्री बढेर ६५ डिग्री पुग्छ ।

बाङ्गोपनलाई अझै बढ्नबाट रोक्न जरुरी छ । यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको काम गर्ने क्षमतालाई असर गर्ने गर्छ ।

यो समस्याले बच्चाको मानसिक स्वास्थ्यमा पनि असर पर्छ । स्कुल जाँदा अन्य साथीको ढाड सिधा छ, लुगा लगाएको पनि चट्ट मिलेको छ । तर उसको ढाड बाङ्गो छ, लुगा लगाएको पनि नमिलेको हुँदा उनीहरू निराश हुन सक्छन् ।

हिजोआज स्कुल ब्याग एकदमै धेरै भारी हुन्छ त्यही कारणले पो बच्चामा मेरुदण्ड बाङ्गो हुने समस्या निम्तियो कि भन्ने प्रश्न पनि धेरै अभिभावकको हुन्छ । तर स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित धेरै देशमा यो समस्या देखिएको छ ।

भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

डा. विनोद बिजुक्छे मेरुदण्ड स्वास्थ्य
डा. विनोद बिजुक्छे
लेखक
डा. विनोद बिजुक्छे
अर्थोपेडिक तथा स्पाइन सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३८९ अध्ययन : एमबीबीएस, एमएस (अर्थोपेडिक्स), एओ फेलोसिप (स्पाइन सर्जरी) हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको निर्देशक तथा अर्थोपेडिक्स विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय