+
+

नारायणगढ बजार २४सै घण्टा खुल्ला गर्न माग

रासस रासस
२०८१ भदौ ९ गते १४:५८
फाइल फोटो ।

९ भदौ, चितवन । चितवनका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् । शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी संघ चितवनको २८औँ साधारणसभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।

विगतमा नारायणगढको पूल्चोक बजार सधैँ खुला रहेको स्मरण गर्दै होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रविन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गरे ।

होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनको भनाइ थियो । ‘होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्ने थलोजस्तो भएको छ’, उनले भने ।

उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राखे । उद्योग वाणिज्य संघ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रुपमा सबै व्यवसायीलाई फाइदा भएको बताए ।

सुवेदीले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । संघले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनको भनाइ थियो ।

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे । उनले जनशक्ति उत्पादनका लागि एकद्वार प्रणालीबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहहरूले दिने तालिममा होटल व्यवसायी संलग्न भएर तालिम लिने वातावरण हुनुपर्ने र यसलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले भने, ‘तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा तालिम लिएका आधा बाहिर गए पनि आधा जनशक्तिले यहीँ काम गर्ने अवसर पाउँछन् ।’

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षले यहाँका होटल व्यवसायीलाई टेवा पुगेको बताइन् । उनले यहाँको होटल तथा पर्यटन चलायमान बनाउन भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार खुला गरिएको जानकारी दिइन् ।

भ्रमण वर्षकै अवसरमा आगामी कात्तिकमा धार्मिक महोत्सव गर्न लागिएको जानकारीसमेत उनले दिइन् । त्यसैगरी भ्रमण वर्ष समापनमा खाना महोत्सव गरिने उनले बताइन् । नारायणढमा भएको पार्किङलगायतका समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उनले दिइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?